दुई अतिवादले बिलयको बाटोमा एमाले

सम्पादकीय
अहिले पनि देशमा बिभिन्न विषयमा अतिवाद हाबी देखिन्छ । देशको राजनीतिमा मात्रै होइन, धर्म, जाति, भाषा, लिंग, क्षेत्र यावत विषयमा अतिवादी सोँच र भ्रम व्याप्त देखिन्छ । जबकि हामी आज विज्ञान प्रविधिको बँदलियो युगमा छौ । अरु क्षेत्र भन्दा अझ बढी राजनीतिमा यस्तो पात्र र प्रवृत्ति हाबी छ । हुन त राजीति र प्रेममा हरेक कुरा जायज हुन्छ भनिन्छ । पछिल्लो राजनीतिक घटनाक्रम र परिदृश्य हेर्दा त्यस्तो देखिन्छ पनि । जुन कुनै राजनीतिक दल र तीनका नेताले सत्ताका लागि जे गर्दा पनि हुन्छ भन्ने उदाहरण छरपष्ट देखिन्छ । चाहे त्यो गण्डकी प्रदेश सरकार जोगाउन गरिएका प्रयत्न होस् या ढलाउन । राजमो सांसद एकाएक अस्पतालको आइसियूमा भेटिने देखि डनको परिचय बोकेका दिपक मनाङे निर्णायक बन्ने परिस्थिति सिर्जना होस् । आफ्नो सत्ता जोगाउन प्रधानमन्त्री केपी ओलीले दुई पटक गरिएको संसद विघटन होस् या आफ्नै सरकार ढाल्न एमालेका नेताहरुले उठाएको कदम होस् ।

सत्तामा हुँदामा धेरै पटक धेरै पार्टी विभाजित भएको इतिहास छ । एमाले पनि अहिले त्यही इतिहास रच्ने अनुक्रममा छ । दुई तिहाइको सरकारबाट सत्ताच्युत भइसकेको छ । संघीय संसदमा सत्तापक्षबाट विपक्ष रोमा पुगिसकेको छ । यसबिचका घटनाक्रमहरु बिभाजनका लागि काफी छन्, भलै संविधानतः अझै एमाले एक छ । सर्वोच्च अदालतको परमादेशमा प्रधानमन्त्री नियुक्त भएका शेरबहादुर देउवाले सरप्राइज विश्वासको मत लिए र त्यसमा सफल भए पनि भए । तर, यस परिघटनामा सत्ताबाट पछारिएको एमाले भित्र अनेक अनौठा अस्वभाविक घटना र गतिविधि देखिए । एमाले वरिष्ठ नेता माधव नेपाल सहित २२ सांसदले समेत कांग्रेस सभापति देउवालाई विश्वासको मत दिए । त्यसमा अझ उदेकलाग्दो विषय त एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारमा मन्त्री समेत रहेका प्रेम आले, सांसद किसान श्रेष्ठहरुले पनि कांग्रेस सभापतिलाई विश्वासको मत व्यक्त गरे ।

पछिल्लो केही महिना यताका भाषण, नेताहरुका गतिविधि नियाल्ने हो भने नेताहरु बिच साँच्चिकै बिधि, पद्धति, विचारको बहस र विवाद भइरहेको छ कि केबल अहम्, कुण्ठा, आग्रह पूर्वाग्रहले ग्रस्त छ । एमाले आफ्नै पार्टीको सरकार ढालेर विपक्षी पार्टीका नेतालाई विश्वासको मत दिएर पनि अझै सिंगो एमाले छ ? या अझै पनि एकताको सम्भावना र विकल्प छ ? दुवै पक्षले निर्मम समिक्षा र आत्मआलोचना गरेर एमाले एकता यदि भइहाल्यो भने पनि त्यो कति दीगो, मजबुत बन्ला ? र भएन भने पनि त्यसले दुवै धारलाई धक्का लाग्नेनै छ । पार्टी नेतृत्वले सरकार सञ्चालनमा देखाएको अहंकार नै समस्या र संकट आएको माधव नेपाल समूह जिकिर गर्छन् । के त्यसको समाधानको अचुक अस्त्र र बाटो यही मात्र थियो ? यसमा लामो विवाद र बहस हुन सक्छ । तर, एमालेले गत निर्वाचनमा हासिल गरेको ऐतिहासिक जित र अभिमतमा गम्भीर खेलवाड गरेको छ । यसको मूल्य त कति महंगो पर्छ ? भोलीका दिनमा देखिने निश्चित छ नै ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *