निर्मला, न्याय र नक्कली हत्यारा

सम्पादकीय
ठीक तीन वर्षअघि अर्थात् १० साउन २०७५ मा कञ्चनपुरको भीमदत्त नगरपालिका–२ की निर्मला पन्तको बलात्कार पछि हत्या भयो । दर्दनाक हत्याको घटनाले पुरै देश तरंगित भयो । तरंगित मात्र भएन, देशभर निर्मलाको न्यायका लागि आन्दोलन भयो । अब बालबालिका, किशोरी समाजमा कति सुरक्षित छन् ? भन्ने सवालले एक किसिमको भय, भयावह सिर्जना ग¥यो । घटनाको तत्काल गम्भीर अनुसन्धान र दोषिको पहिचान गरि सार्वजनिक गर्न चौतर्फी माग गरियो । बिडम्बना भन्नुपर्छ, सरकार र यसका निकायहरुको निरन्तर जवाफ आइरह्यो–‘अनुसन्धान जारी छ ।’ यस्तो जवाफ आजको दिन सम्म उस्तै शैलीमा कायमै छ । जबकि देशमा दुई तिहाइको अभिमत प्राप्त सरकार सत्ताबाट बाहिरिएर कांग्रेस नेतृत्वमा नयाँ सरकार समेत बनिसकेको छ ।

निर्मलाको न्यायका लागि सरकार प्रयासको बिफल रह्यो । र यही कारणले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार तीब्र आलोचित भयो । घटनाको एक महिनामा प्रहरीले निर्मलाको बलात्कारपछि हत्या गरेको भन्दै दिलीप विष्टलाई सार्वजनिक गरेको थियो । मानसिक अवस्थासमेत ठीक नभएका विष्टलाई सार्वजनिक गरेपछि वास्तविक हत्यारा बचाउन नक्कली खडा गरेको भन्दै कञ्चनपुर प्रहरीविरुद्ध आन्दोलन चर्कियो । आन्दोलनले उग्र रुप लिएपछि प्रहरीले चलाएको गोली लागेर भीमदत्त नगरपालिका–१८ का १४ वर्षीय सन्नी खुनाको ज्यान गयो भने एक दर्जन बढी घाइते भए । सोही क्रममा दिलीपको डीएनए नमिलेपछि उनी छुटेका छन् । कञ्चनपुर प्रहरीले अनुसन्धानमा लापरबाही गरेको, प्रमाण नष्ट गरेका जस्ता आरोपमा तत्कालीन प्रमुख प्रहरी उपरीक्षक (एसपी) डिल्लीराज बिष्ट र वडा प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक जगदिशप्रसाद भट्ट बर्खास्त समेत भएका छन् । यसले घटनालाई अझ गम्भीर मोडमा पु¥याइदिएको छ ।

प्रहरीले अनुसन्धानमा जे जस्तो गतिविधि देखियो, सार्वजनिक ग¥यो । त्यसले प्रहरी र सम्बद्ध निकायको भूमिका प्रति ठूलो सशंय पैदा गरेको छ । यति गम्भीर घटनाको अहिलेसम्म दोषीको पहिचान नहुनु दुर्भाग्य हो । अन्तर्राष्ट्रिय समुदायको समेत ध्यान तानेको निर्मला हत्या प्रकरणमा तीन वर्ष सम्म दोषि पहिचान गर्न नसक्नु दक्षिण एसियामै अनुसन्धानमा अब्बल ठानिएको नेपाल प्रहरीको असफलता हो । यद्यपि, कतिपय अनुसन्धानमा वर्षौ लाग्न सक्छ । तर, यो घटनाको प्रकृति र बिभिन्न परिदृश्य हेर्दा यसका पछाडि सामान्य पात्र अवश्य छैनन् । अहिले नयाँ सरकार परिवर्तन भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवा स्वयम् सोही क्षेत्रका छन् । यस हिसाबले पनि निर्मला पन्त हत्या प्रकरणलाई गम्भीरतापूर्वक अनुसन्धान अघि बढाइयोस् । र न्याय जिवित छ भन्ने सन्देश प्रवाह गर्न सके नेपाल प्रहरी मात्रै होइन, सरकारकै हाइहाइ समेत हुनेछ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *