सम्पादकीय
कोरोना भाइरस (कोभिड १९)को संक्रमण र भयावहले सिंगो देश ग्रस्त छ । देश मात्रै होइन, विश्व समुदाय आक्रान्त छ । दुई वर्ष यता कोरोनाले आम नागरिकको जीवन लय पूर्णतयाः प्रभावित छ । देशको अर्थतन्त्र, अरु योजना, आयोजना पनि उस्तै बेहाल अवस्थामा छन् । पहिलो लहर सकिएको निष्कर्षका साथ पुरानै दैनिकी र नियमित कर्ममा फर्कन लागेको जनजीवन कोरोनाको दोस्रो लहरसँगै पुनः भयभित बन्यो । पहिलो लहर भन्दा दोस्रो लहरमा अझ बढी नागरिकले सास्ती मात्र पाएनन्, ज्यान समेत गुमाउन बिबश बने । दोस्रो लहरको प्रभावका कारण अहिले पनि अधिक शहरमा लकडाउन छ । अझ यही बेला नेपालमा कोरोना संक्रमणको तेस्रो लहर असोज १५ देखि आउन सक्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रक्षेपण गरेको छ ।
कोरोनाको पहिलो र दोस्रो लहरको मार खेपेका नागरिक अझै पनि नियमित दैनिकीमा फर्कन सकेका छैनन् । लामो लकडाउनले सकसपूर्ण जीवन दैनिकी बिताइरहेका नागरिक रोगबाट बचे पनि भोकको खतरामा छन् । र सरकार पनि लकडाउनलाई लुज डाउनमा रुपान्तरित गरिरहेको छ भने नागरिक पनि जर्बजस्त नियमित दैनिकी,व्यापार व्यावसायमा फर्किन थालेका छन् । यद्यपि, प्रहरी प्रशासनले अझै केही कडाई गर्ने नीति अख्तियार गरिरहेको छ । कोरोना नियन्त्रणको अचुक उपाय र अस्त्र भनेको जतिसक्दो छिटो भ्याक्सिन (खोप) लगाउने नै हो भन्ने कुरामा अब दुई मत छैन । यसमा स्वास्थ्य सुरक्षा मापदण्डको पूर्ण परिपालना पनि अपरिहार्य विषय हो । पछिल्लो समय नेपाल सरकारले कोरोना खोपलाई प्राथमिकताको विषय बनाइरहेको छ पनि । फ्रन्टलाइनरलाई खोप लगाइ सकेपछि अहिले देशव्यापी रुपमा अरु नागरिकलाई पनि खोप अभियान चलिरहेको छ ।
कोरोना खोप नागरिकले पाउनु अहिलेको समयमा ठूलो कुरा हो । अहिले नेपालमा क्रमशः नागरिकको पहुँचमा खोप पुग्न थालेको छ । सरकारको यो प्रयास सकारात्मक मान्नुपर्छ । तर, अहिले कोरोना खोपमा सत्ता, शक्ति, बितरणमा पहुँच भएकाहरुले खोपको दुरुपयोग गरेको व्यापक गुनासो छ । कर्मचारी, जनप्रतिनिधि, पत्रकार लगायतको नाममा गैर कर्मचारी, जनप्रतिनिधि र पत्रकारले पनि यसको फाइदा उठाइरहेको विषय आलोचित छ । यसको केही परिदृश्यमा स्वास्थ्यकर्मीलाई अनावश्यक दबाब दिएर खोप लगाएको देखिन्छ पनि । यो सर्वथा गलत हो । हामीले अरुले दुरुपयोग गर्दा खराब कमजोरी भन्छौ, आलोचना गर्छौ तर आफू र आफ्नालाई लगाउँदा त्यसलाई आफ्नो शक्ति, जित र गर्वको विषय बनाउँछौ । पहिले खोप नै नपाएको समस्या थियो, अहिले पाउन थालेका छौ । नेपाल सरकारले व्यवस्थापन गरेको छ । तर, अहिले स्थानीय सरकार र सरोकारवालाले व्यवस्थित, पारदर्शी हिसाबले खोप बितरण गर्न नसक्नु दुर्भाग्य हो । यसमा स्थनीय सरकार र सरोकारवालाका बिचमा गम्भीर समिक्षा हुन जरुरी छ । आवश्यक परे को कसले केके आधारमा खोप पाए ? सम्पूर्णको विवरण आम नागरिक समक्ष सार्वजनिक गर्न तयार हुनुपर्दछ ।