बलात्कारः वर्तमान समाजको लज्जा

सम्पादकीय
बलात्कार शव्द आफैमा निर्मम, भययुक्त, सुन्दा मात्रै पनि झस्काउने शव्द हो । यो भोग्नेहरुका लागि कति कहाली लाग्दो, सकसप्रद हुन्छ ? त्यो बलात्कारको सिकार भएकाहरुलाई मात्र अवगत हुने कुरा हो । एकैछिन कल्पना गर्नुस् त, बाटोमा हिँड्दै गरेका तपाइको छोरी, दिदी, बहिनी या चेली कोही यौन पिपासुहरुको अनायसै सिकार बन्न बाध्य हुनु भो । यसको पीडा कति दुःखदायी र भयानक हुन्छ होला ? हामीलाई कल्पना सम्म गर्दा पनि डरलाग्दो, पीडादायक परिदृश्य मनमश्तिष्कमा आउँछ । हुन त यो कुरा पनि बिर्सिनु हुँदैन कि त्यो बलात्कारमा सम्लग्न मानिस पनि हामी जस्तै हो, हाम्रै समुदायको हो । तर, यतिविघ्न निर्दयी, कठोर किन र कसरी हुन सक्छन् होला ? समाजमा निरन्तर भइरहने बलात्कारको पछिको कारण जरुर खोज्न अपरिहार्य छ ।

बलात्कारको घटना कोरोना महामारीको समयमा पनि जारी छ । यसरी देशमा बलात्कारका घटनामा ८२ प्रतिशत त आफ्नै परिवार र छिमेकीबाट हुने गरेको नेपाल प्रहरीको तथ्यांक छ । गत वर्षका दुई हजार पाँच सय ३४ वटा बलात्कारका घटना दर्ता छन् । जसमा दुई हजार आठ सय १५ जना बलात्कार आरोपितमध्ये ८२ दशमलव २० प्रतिशत अर्थात् दुई हजार तीन सय १३ जना बिच हाडनाता सम्बन्ध भएको पाइएको छ । जसमध्ये ९ दशमलव ८८ प्रतिशत अर्थात दुई सय ७८ जनाले हाडनाता करणी गरेको छ । ३० दशमलव ८३ प्रतिशत अर्थात आठ सय ६८ जना छिमेकीबाट बलात्कृत भएको देखिन्छ । जबकि हाम्रो समाजले परिवार, आफन्त, छरछिमेकबाटै आफ्ना छोरी चेली सुरक्षित ठान्छ । अर्को पाटो तर्फ हेर्ने हो भने जबरजस्ती करणीका दुई हजार पाँच सय ५४ जना पीडितमध्ये १० वर्ष मुनि उमेर समूहका ११ प्रतिशत, ११ देखि १८ वर्ष उमेर समूहका ५३, ६० वर्षदेखि माथिका एक दशमलव ४८ प्रतिशत महिला बलात्कृत छन् । कलिला बालिका, बृद्धा आमा बलात्कारले नागरिक हुनुमा लज्जाबोध बनाउँछ । यो भन्दा लज्जा यस्ता पात्रलाई कडा कारबाहीको दायरामा ल्याउन नसक्दा हुने गरेको छ ।

बलात्कार र त्यो पनि परिवार, आफन्त र चिनेजानेकैबाट यस्तो किन हुन्छ ? वर्षौदेखि उठिरहेको प्रश्न हो यो । बलात्कारको घटना भइरहनुमा मदिरा सेवन, आपराधिक मानस्थिति, पुरुष प्रधान समाज, सामाजिक चेतना, सामाजिक मान्यता, आर्थिक अवस्था,सामाजिक सञ्जालको दुरुपयोग, मोबाइल तथा कम्प्युटर तथा इन्टरनेटको दुरुपयोग प्रमुख कारण देखिन्छन् । बलात्कार रोक्न मुख्यतः गाउँ तह सम्म आत्मरक्षा सहित यौन शिक्षामा जोड दिनुपर्छ । बलात्कारमा सम्लग्न हुनेहरुलाई कडा कानुनको व्यवस्था र प्रभावकारी कार्यान्वयन, निष्पक्ष छानविन तथा पीडितलाई न्याय, सहज चुस्त दुरुस्त र संरक्षित महिलामैत्री न्यायको अभ्यास जरुरी छ । यस्तो गम्भीर घटनामा समाजका हरेक नागरिक मुकदर्शक बन्नुहुन्न । बलात्कार हिंसामा परेका बालिका तथा महिलालाई लाञ्छना, अपमान होइन, सहयोग गरौ, आत्मबल दिऔं ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *