सीमाका नेपाली, भारतीय ज्यादती र सरकार

सम्पादकीय
छिमेकी भन्दा साथ दुःख, सुख, अप्ठ्यारा संकटमा पनि साथ दिने निकटको आफन्त सम्झन्छौ । उसले गर्ने दुष्कर्मको परिकल्पना सायदै गर्छौ । तर, देश नेपाल र निकट छिमेकी देश सम्झने हो भने आम रुपमा भिन्न परिदृश्य आउँछ । यस्तो किन भन्दा भारतले नेपाल माथि वर्षौदेखि छिमेकी भएर पनि हेपाहा प्रवृत्ति देखाइरहेको छ, अपमान गरिरहेको छ, धावा बोलिरहेको छ । भारतले खासगरी नेपाल भारतको सीमा क्षेत्रमा निरन्तर ज्यादती गरिरहेको छ । जसबाट कैयन नेपालीले अकालमै ज्यान गुमाउन बिवश बनिसकेका छन् भने कतिले रगत बगाएका छन्, कति घाइते अंगभंग भएका छन्, कति दैनिक अपमानित भएर यात्रा गरिरहेका छन्, बाँचिरहेका छन् । तर, हाम्रा सरकारहरु यस्तो संवेदनशील र गम्भीर विषयमा आवश्यक कदम लिन हिच्किचाहट गर्छन् । सत्ताको आयुमा भारतले थप हिलामोज ा गर्ने भयमा मौनता साध्छन् । त्यो हिजोदेखि आज सम्म पनि बिद्यमान देखिन्छ ।

यसैसाता एसएसबीले तुइनको डोरी काट्दा महाकालीमा बेपत्ता भएका दार्चुलाका जयसिंह धामी प्रकरण पछिल्लो उदाहरण हो । घटना भएको कैयन दिन बितिसक्दा सम्म प्रहरी घटनास्थल पुगेर मुचुल्का पनि उठाएको छैन । उल्टै प्रत्यक्षदर्शीलाई सदरमुका झिकाएर परिवार र आफन्तलाई समेत भेट्न नदिएर त्रसित बनाइरहेको छ । यसबाट सरकार, यसका निकाय यति गम्भीर घटनामा कति संवेदनशील छन् ? प्रष्ट हुन्छ । त्यसैले पनि सीमामा भारतीय एसएसबीले पटक पटक ज्यादतीका घटना दोहोराइरहेको छ । कञ्चनपुर, कैलाली, सुनसरी, दार्चुला, दाङ, चितवन, पर्सा, मोरङ, झापा, इलाम लगायतका जिल्लाका बासिन्दाले ज्यादती झेलिरहेका छन् । स्थानीय माथि कुटपिट, आफ्नै लालपुर्जा भएको जग्गा जमिनमा खेती गर्न रोक, सडक, कल्भर्ट निर्माण गर्न, बिरुवा लगाउन रोक लगाउने, तारबार भत्काएर भारतीय एसएसबीले ठूलो हुनुको दम्भ अभिव्यक्त गरिरहेको छ । पाँच वर्ष अघि त कञ्चनपुर जिल्लाको पुर्नवास नगरपालिका– ४ का गोविन्द गौतमको गोली हानी हत्या नै गरियो । यस्ता अनगिन्ती घटना छन् ।

सीमा क्षेत्रमा हाल सम्म जे जति घटना भएका छन् । त्यसमा सरकार र सरोकारवाला निकायले आलटाल गरेरै सामसुम पार्ने गरेका छन् । जसले गर्दा सीमा क्षेत्रमा भारतीय ज्यादतीलाई थप प्रश्रय मिलिरहेको छ । देश भन्दा लडिरहेका सीमा क्षेत्रका नेपालीहरु देशकै लागि लड्दा, रगताम्य हुँदा, अंगभंग हुँदा पनि सरकारमा बस्नेलाई किन दुख्दैन ? किन छुँदैन ? कहिले सम्म छिमेकीको अपहेलना, ज्यादती अचानो बनेर सहि रहनु पर्ने ? यो गम्भीर विषय हो । यस्ता विषयमा कुटनीतिक तबरबाट समस्या हल गर्न संयन्त्र पनि पहिलेदेखि बनाइएको छ । तर, यो संयन्त्र भूमिका विहीन देखिन्छ । सरकारले राजनीतिक रुपमै पनि यस्तो गम्भीर र संवेदनशील विषयमा तत्काल यथोचित कदम चाल्नुपर्छ । बिडम्बना भन्नुपर्छ, भारतले के भन्ला ? के गर्ला ? भन्ने पिरलोमा सरकार र मन्त्रीहरु देखिन्छन् । जसका कारण सीमा क्षेत्रका नेपाली नागरिकले उपेक्षा, अपमान र ज्यादती बेहोर्नु नियति जस्तो बनेको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *