राम्रो व्यक्ति खोज्ने कि प्रणालीको सुधार ?

सम्पादकीय
देशमा व्यवस्था बदलियो, अवस्था बदलिएन । पात्र बदलिए, प्रवृत्ति बदलिएन । पञ्चायतबाट प्रजातन्त्र आयो, प्रजातन्त्रबाट बहुदल हुँदै लोकतन्त्र, गणतन्त्र, संघीय शासन व्यवस्था आयो । तर, अझै पनि देशमा अपेक्षाकृत सुधार र परिवर्तन आउन सकेको छैन । हिजोका दिनमा समाज र देशमा जे जस्ता खराब पात्र र प्रवृत्तिहरु बिद्यमान थिए, ती आजको दिनमा पनि कुनै न कुनै रुपमा हाबी र अभिव्यक्त भइरहेका छन् । जसले गर्दा आम नागरिकको देश परिवर्तन, सुखी र समृद्धिको सपनामा गम्भीर धक्का लागिरहेको छ । यसले आम रुपमा निराशा पैदा गरेको छ । र सिंगो उन्नत भनिएको व्यवस्था प्रति नै नकारात्मक भाव र धारणाको विकास भइरहेको छ । यो बिडम्बनाको विषय हो ।

देशमा बिद्यमान व्यथितिबारे सबै भुक्तभोगी नै छौ । अहिलेको यावत व्यथितिमा चर्चित या हिरो या स्थापित हुन अद्भुत नयाँ काम गर्नै पर्दैन । एउटा सार्वजनिक निकायको जिम्मेवारपूर्ण भूमिकामा पुगेर त्यो व्यक्तिले आफ्नो जे काम र भूमिका हो, त्यही काम उत्तरदायी र जवाफदेही भएर मात्र पुरा गर्दा पनि वाहवाही हुने अवस्था छ । यसको एक उदाहरण कुलमान घिसिङ हुन् । लामो समयदेखि देश लोडसेडिङको मारमा थियो । यसअघिका बिद्युत प्राधिकरणका कार्यकारी निर्देशकले यसको चुस्त व्यवस्थापन गर्नुपर्ने जिम्मेवारी थियो, सकेनन् या गर्न चाहेनन् । कुलमान आए, उनले आफ्नो पदिय जिम्मेवारी अनुसार भूमिका निर्वाह गरे । लोडसेडिङ मुक्त बनाउन सम्भव बनाए । जसले उनलाई आज पनि आम नागरिक उज्यालोको अवतार मान्छन् । बिडम्बना भन्नुपर्छ कि उनी कार्यकाल सकिएर गए यता बिद्युतको व्यवस्थापनमा फेरि पनि समस्याहरु देखिए । यसले के प्रष्ट हुन्छ भने बिद्युत प्राधिकरणमा प्रणालीगत सुधार भएको रहेनछ, केवल व्यक्तिमा निर्भर सुधार रहेछ । जुन दीगो हुँदैन । प्रणालीगत रुपमै सुधार गर्ने कुरामा कुलमान पनि कतै न कतै चुकेको देखिन्छ ।

अहिले विद्युत् कटौती भइरहने प्रवृत्ति दोहोरिन थालेकाले नयाँ सरकार परिवर्तन सँगै कुलमानको फेरी आगमन आम अपेक्षा देखिन्छ । तर, जलस्रोत क्षेत्रका विज्ञहरू एउटै व्यक्तिमा संस्था सुधारको अपेक्षा गर्नेभन्दा पनि संरचनागत प्रणालीमा सुधार गर्नुपर्नेमा जोड दिन्छन् । कुलमानको विकल्पमा कुरा गर्दा अलोकप्रिय सुनिए पनि यो सवालमा दम छ । अर्को कुरा यो देशमा एक कुलमान मात्रै छन् भन्ने भ्रमबाट मुक्त हुन जरुरी छ । यो निश्चित हो कि यो देशमा एक कुलमान मात्र होइन, आम अपेक्षा अनुसारको सुधार र परिवर्तनका लागि हजारौ कुलमानको आवश्यकता छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *