जतिञ्जेल कोरोना, त्यतिञ्जेल लकडाउन ?

सम्पादकीय
कोरोना भाइरस (कोभिड १९) विश्वव्यापी साझा संकट हो । मानव सभ्यताकै कठीन संकटको रुपमा आएको कोरोनाले विश्वभरको जनजीवन अस्तव्यस्त बनाएको छ नै । विगत र वर्तमान मात्रै होइन, भोलिको भविष्य समेत अझै अनिश्चयको भूमरीमा छ । कारण देशका अधिक ठाउँमा अझै पनि लकडाउन छ । कोरोनाको पहिलो लहर सकिदाँ अर्थात् नियन्त्रण उन्मुख हुँदा नेपालमा विस्तारै नियमित दैनिकी र लय तर्फ उन्मुख थियो जनजीवन । तर, केही समयमै दोस्रो लहरको भयावहले देशभर आक्रान्त बनायो । हाल सम्म कोरोना संक्रमणबाट १० हजार बढी नेपाली नागरिकले ज्यान गुमाएका छन् । लाखौ नागरिक संक्रमित बनेका छन् । कोरोना भयावहका कारण करोडौं नागरिक भयभित अवस्थामा छन् । असार अन्तिम सातामा दोस्रो भेरियन्ट पनि नियन्त्रण उन्मुख भन्दै लकडाउनलाई लुज डाउन गर्ने सरकारले नीति लियो । तर, यसपटक पनि अफाव सिद्ध हुने खतरा सर्वत्र बढेको छ ।

महिनौदेखि कोरोना रोकथाम, उपचार र नियन्त्रणका लागि अधिक स्थानमा लकडाउन छ । नागरिकलाई हिँड्डुलमा केही सहज बनाए पनि महिनौदेखि ठप्प प्रायः बनेका व्यापार व्यवसाय कसरी र कहिले अब लयमा फर्कन्छन् ? अनिश्चित बनेको छ । उसो त कोरोना आफैमा अनिश्चय बोेकेर आएको छ । आजको दिन सम्म यसको अचुक औषधि उपचार पत्ता लगाउन विश्वभरका चिकित्सक वैज्ञानिक विफल छन् । भलै केही महिना यता कोभिड बिरुद्धको खोप (भ्याक्सिन) लगाउने काम भइरहेको छ । यो सबै नागरिकको पहुँचमा पुग्न सकिरहेको छैन । खोप लगाउनेमा पनि पहुँचवालाहरुको बिगबिगी भएको खबर चर्चा पनि अहिले व्यापक छ । फन्टलाइनर स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, पत्रकार, कर्मचारी लगायतले खोप पाएका छन् । अझै ठूलो संख्यामा खोपबाट बञ्चित समुदाय छ । यही बेला तेस्रो लहरको संक्रमण र संशय फैलिने विज्ञहरुको विश्लेषण छ । जसबाट बढी बालबालिका प्रभावित हुने आँकलन छ ।

दुई वर्ष यता कोरोना संक्रमणको यस्तो भयावह हुँदा पनि तीन तहका सरकार र यसका निकायको पूर्ववत तयारी, तदारुकता हेर्ने हो भने उदेक लाग्दो अवस्था देखिन्छ । अहिले पनि सरकारले कोरोना रोक्न लकडाउन गर्ने बाहेक अरु विकल्प, तयारी, सचेतनामा प्रभावकारी कदम चाल्न सकिरहेका छैनन् । सरकारले आगामी चैत्र महिना सम्ममा मात्रै सबै नागरिकको पहुँचमा खोप पुग्ने दाबी गरेको छ । त्यतिञ्जेल सम्म के महिनौदेखि गरिँदै आइएको लकडाउन मात्रै गरिरहने ? नागरिकलाई घर भित्रै कैद गरिरहने ? लाखौ, करोडौंको लगानीमा सञ्चालित व्यापार व्यावसाय अस्तव्यस्त बनाएर पलायन हुने अवस्थालाई निरन्तरता दिने ? कि सरकार भएको अनुभूति आम नागरिकलाई, उद्योगी व्यवसायीलाई गराउने ? कोरोना आफैमा कठीन समस्या र संकट त हो । तर, यसलाई नियन्त्रण गर्न सरकारले पूर्ववत सचेतता, तयारी, व्यवस्थापन, निगरानीमा अझै प्रभावकारी कदम नचाल्नु दुर्भाग्य हो । आखिर कहिले सम्म कोरोना नियन्त्रणका लागि लकडाउन मात्र गरिरहने ? यसरी त रोगले होइन, भोकले मर्ने खतरा बढ्ने निश्चित छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *