फेरि कसरी बढ्यो कोरोना ?

सम्पादकीय
कोरोना विश्व समुदायका लागि टाउँको दुखाईको विषय बनिरहेको छ । पटक पटक नियन्त्रण भएको भनिएका देशमा पनि पुनः संक्रमण फैलिएको छ । देश लकडाउनमा छन् । नेपाल पनि दुई वर्ष यता संक्रमणको प्रत्यक्ष मारमा छ । देशमा फेरिएको व्यवस्था सँगै निश्चित दैनिकी र लयमा बाँचिरहेका नागरिक, व्यापार व्यवसाय गरेका उद्योगी व्यवसायी अस्तव्यस्त अवस्थामा छन् । उनीहरुलाई अहिले कोरोना भाइरस (कोभिड १९) बाट जोगिने चिन्ता मात्र होइन, ऋण धन गरेर सञ्चालन गरेका व्यापार व्यवसाय थला परेको अवस्थामा कसरी व्यवस्थापन गर्ने ? कसरी उठ्ने ? दैनिक रोजीरोटी गरेर जीविका चलाइरहेका नागरिकले लकडाउनमा कसरी गासको जोहो गर्ने ? यस्ता अनेकन समस्या चौतर्फी देखिएका छन् । यो दुई वर्षको हाराहारी हुँदा पनि नियन्त्रणमा छैन, बरु अझ भयावह हुने जोखिम कायमै छ ।

कोरोना भाइरसको तेस्रो भेरियन्टको संक्रमण र चर्चा भइरहेका बेला फेरि संक्रमण दर तीब्र बढ्दो छ । पछिल्लो २४ घन्टामा मात्रै ४ हजार ९ सय ४ जनामा संक्रमण देखिएको छ भने थप ३५ जनाले ज्यान गुमाएका छन् । यो सहित कोरोनाबाट मृत्यु हुनेको संख्या १० हजार १ सय ५० पुगेको छ । यो कुल संक्रमितको १ दशमलब ५ प्रतिशत हो । नेपालमा अहिलेसम्म सात लाख ८७ हजार बढी संक्रमित भएका छन् । पछिल्लो दुई सातायता संक्रमण दर बढेको छ । असार आसपासमा संक्रमण दर बिस्तारै ओरालो लागे पनि केही सातादेखि संक्रमण दर र अस्पताल आउनेको संख्या अधिक देखिन्छ । अस्पतालमा कोभिडका लागि छुट्याइएका बेड समेत भरिभराउ हुन थालेका छन् । बागलुङमै १ हजार बढी संक्रमितबाट २ सय हाराहारीमा पुगेको कोरोना बढेर अहिले ६ सय बढी पुगेको छ ।

दैनिक संक्रमित संख्या पनि बढ्दो क्रममा छ । कोरोना नियन्त्रणका लागि तीन महिना यता लकडाउन निरन्तर छ । पछिल्लो केही साता यता कोरोना रोकथामको निष्कर्ष सहित लकडाउन लुजडाउनमा रुपान्तरित गरिएको थियो । तर, यही खुकुलो लकडाउनकै बिच कोरोना संक्रमण दर बढेको छ । यसरी बढ्नुमा कारण के त ? भाइरस बढी संक्रामक हो ? या सरकारको गैरजिम्मेवारीपना ? कि नागरिकको बेवास्ता र लापरवाही कारक हो ? यसको पहिचान गर्न सके मात्र कोरोना नियन्त्रणमा सफलता मिल्न सक्छ । हुन त कोरोना नेपालको मात्र होइन, विश्वव्यापी समस्या र संकट हो । मानव जीवनमै कठीन संकटको रुपमा भित्रिएको कोरोना नियन्त्रणको अचुक अस्त्र नै लकडाउन हो । यही विकल्प प्रयोग गरिएको पनि छ । यसका साथै मास्क, सेनीटाइजरको अनिवार्य प्रयोग, सामाजिक दुरी, सरसफाईमा ध्यान, आधारभूत स्वास्थ्य सुरक्षा मापदण्डको पालना अपरिहार्य छ । यसमा सरकारले गम्भीरतापूर्वक सबैलाई खोपको व्यवस्थादेखि पूर्ववत स्वास्थ्य सुरक्षा मापदण्डको प्रभावकारी पालना गर्न गराउन यथेष्ट कदम चाल्नुपर्छ । नागरिक पनि यसमा जिम्मेवार बन्न जरुरी छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *