यसरी सम्भव हुनेछ कोरोना नियन्त्रण


सम्पादकीय / कोरोना भाइरस (कोभिड १९)ले यति आक्रान्त बनायो कि सर्बत्र नागरिक भयभित छन् । विश्वभरका मानिस यसबाट कसरी जोगिने भन्ने चिन्तामा छन् । नियमित दैनिकी र सपनाहरु अस्तव्यस्त बनेका छन् । दुई वर्ष बढी समय हुँदा पनि कोरोना भाइरसको अचुक औषधि उपचार पत्ता लाग्न कठीन भइरहेको छ । पहिलो भेरियन्ट आउँदा त नयाँ अनुभव भएकाले अझ विकराल अवस्था थियो । क्वारेन्टिनहरुको बसाई, परीक्षण, आम मनोविज्ञान कहाली लाग्दो थियो । त्यो अवस्था पार गरे पनि अहिले दोस्रो भेरियन्टको मारमा नेपाल र नेपाली छौ । पहिलोको तुलनामा दोस्रो भेरियन्ट अझ संक्रामक देखियो । यस चरणमा धेरै नेपालीले ज्यान गुमाउन विवश भएका छन् । संक्रमित भएका लाखौ नागरिक पनि भाइरसको भयावहबाट कठीन अवधी पार गरेको अनुभव सुनाइरहेका छन् । नेपालमा कोरोनाबाट १० हजार बढीले ज्यान गुमाउँदा, लाखौ नागरिक संक्रमित हुँदा, लामो समयदेखि नियमित दैनिकी, जनजीवन, अर्थतन्त्र प्रभावित हुँदा यसले निकै कष्टप्रद परिस्थिति सिर्जना गरेको छ ।

सरकारले कोरोना रोकथाम, नियन्त्रणका लागि कोरोना खोप (भ्याक्सिन) त केही महिना यता नागरिकलाई लगाउन थालेको छ । बिभिन्न देशबाट खोपहरु आउने क्रम पनि जारी छ । तर, यो प्रयाप्त हुन सकिरहेको छैन । विदेशबाट प्राप्त भएका खोपहरुको पनि यथोचित व्यवस्थापन गरेर समयमै नागरिकलाई लगाउने कुरामा समस्या र व्यथिति देखिन्छ । सत्ता, शक्ति र पहुँचवालाहरुको आफन्ट र निकट भएकाहरुले धमाधम खोप लगाएको गुनासो चर्चा व्यापक छ । सरकारले आगामी चैत्र सम्ममा बल्ल सबै नागरिकलाई खोप पु¥याउने उद्घोष गरेको छ । त्यतिबेला सम्म देशमा तेस्रो भेरियन्टको संक्रमणले कस्तो अवस्था ल्याउने भन्ने भय र त्रास बिद्यमान छ । विज्ञ, चिकित्सक र स्वास्थ्य मन्त्रालयले समेत आगामी असोजमा संक्रमण दर अझ बढ्ने प्रक्षेपण गरेको छ । दोस्रो भेरियन्टले नै बिचको अवधीमा अस्पतालमा उपचारका लागि बेड अभाव हुने भयावहको अवस्था बन्यो । अब तेस्रो भेरियन्ट आउने सम्भावित जोखिमका बारेमा सरकार मुकदर्शक जस्तो देखिन्छ ।

अहिले नागरिक सचेतनाका लागि नेपाल मास्क अभियान त थालिएको छ । यो अपरिहार्य पनि छ । तर, मास्क लगाउँ भन्ने कुराले मात्रै पुग्दैन । विश्व स्वास्थ्य संगठन र स्वास्थ्य मन्त्रालयले कोरोनाबाट जोगिनका लागि तय गरेको प्रोटोकलको प्रभावकारी कार्यान्वयनमा सरकार र यसका निकायले प्रभावकारी रुपमा काम गर्न सक्नुपर्छ । अहिले कोरोना रोक्न लकडाउन नै अचुक र अनिवार्य अस्त्रको रुपमा प्रयोग गरिरहेको छ । यो सधैं गर्ने भन्ने कुराले रोगबाट बचे पनि अरु समस्या तीब्र बन्ने देखिन्छ । त्यसैले, सरकार मुख्यतः अहिलेको कोरोना संक्रमण र अबका दिनमा आउन सक्ने सम्भावित जोखिमको समयमै विश्लेषण गरेर सोही अनुरुप पूर्ववत सजगता र तयारी गर्नुपर्छ । अहिलेको कोरोना भयावह पटक पटक दोहोरिनुमा नागरिकको चरम बेवास्ता र लापरवाही पनि कारक देखिन्छ । मास्कको अनिवार्य प्रयोग, सेनिटाइजर, सामाजिक दुरी अब नियमित दैनिकी जीवनशैली बन्नु बनाउनु पर्दछ । यसमा नागरिकलाई पनि थप सचेत र जिम्मेवार बनाउन सबैले सबै किसिमको प्रयत्न गर्न आवश्यक छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *