अफगान युद्व, नेपाल र तत्काल उद्वार

सम्पादकीय
अफगानिस्तान लामो समयदेखि युद्वको भूमरीमा छ । त्यही गृहयुद्व यतिबेला उत्कर्षमा छ । तालिबान विद्रोही समूहले चौतर्फी हमला मात्र होइन, राज्य बिरुद्ध चरणवद्ध सफलता समेत हासिल गरिरहेको छ । अफगानिस्तानका प्रमुख सहर नियन्त्रणमा लिँदै हिँडिरहेको तालिबान अहिले राजधानी काबुल प्रवेश गर्ने क्रममा छ । एकदिन अघि मात्र तालिबान समूहले अफगानिस्तानको पूर्वमा रहेको महत्वपूर्ण सहर जलालाबाद विना कुनै संघर्ष नियन्त्रणमा लिएको थियो । यो सहर काबुलबाट मात्र केही घण्टाको दुरीमा छ । अब मुख्य शहर काबुल नियन्त्रणमा लिने तालिबानले उद्घोष गर्दा नेपालीहरु समेत उक्त समूहको नियन्त्रणमा रहेको खबरले चिन्तित र त्रसित तुल्याइरहेको छ ।

नेपाल र नेपालीको यस्तो बाध्यता छ कि आफ्नो र परिवारको जिविका चलाउन विश्वका अधिक देशमा नेपाली नागरिक पुगेका छन् । अफगानिस्तान पनि खतरा हुँदा हुँदै पनि रोजीरोटीका लागि नेपाली त्यहाँ पुगेका छन् । अफगानिस्तानमा अहिले कति नेपाली छन् भन्ने एकिन तथ्यांक छैन । तालिवान समूहले अफगानिस्तानका उत्तर, पश्चिम र दक्षिणका आधाभन्दा बढी प्रान्तमा कब्जा जमाइसकेपछि उत्पन्न त्रासदीबीच दिल्ली स्थित दूतावासले १५ सय बढी नेपाल अहिले अफगानमा रहेको जनाएको छ । त्यहाँ कार्यरत रहेका अधिकांश नेपाली संयुक्त राष्ट्रसंघीय नियोग र विभिन्न मुलुकका दूतावासको सुरक्षाको भित्री घेरामा खटिएका छन् । संयुक्त राष्ट्रसंघ तथा त्यसअन्तर्गतका कार्यालय, युरोपियन युनियनको कार्यालय, बेलायत, जर्मनी, क्यानडा, जापान, नर्वे, अस्ट्रेलियन दूतावासमा नेपाली पूर्व सुरक्षाकर्मी खटिएका छन् । काबुलस्थित अमेरिकी राजदूतावासमा मात्रै पाँच सय ६० जना नेपाली कार्यरत छन् । त्यसमध्ये तीन सय ८० त्यही कार्यरत रहेका र बाँकी एक सय ८० बिदामा काबुलबाहिर छन् । संयुक्त राष्ट्रसंघीय निकाय र युरोपियन युनियनको कार्यालयमा मात्रै कम्तीमा चार सय ७० नेपाली छन् । बेलायत, क्यानडा, जापान, जर्मनी, अस्ट्रेलियाका दूतावासमा कम्तीमा ६०–६० जना नेपाली खटिएका छन् । अस्ट्रेलियाको दूतावासमा कार्यरत नेपाली भने स्वदेश फर्किसकेका छन् । यस बाहेक अरु बिभिन्न माध्यमबाट गएका नेपालीको तथ्यांक सायदै होला ।

अब अफगानिस्तानको मुख्य सहर काबुलमा तालिबान सैनिक समूह प्रवेश गरिरहेका छन् । यसले काबुलमा अब खतराको संकेत छ । काबुल पनि तालिवानको कब्जामा हुने निश्चित देखेर अमेरिका,बेलायत लगायतका देशहरुले आफ्ना देशका नागरिकलाई आफ्नै सैनिक सुरक्षा सहित उद्दार गरेर स्वदेश फर्काइरहेका छन् । तर, नेपालले यसमा गम्भीरता पूर्वक पहल कदमी लिन सकिरहेको छैन । जुनसुकै देशमा पुगेको भए पनि आफ्नो देशका नागरिकहरुको सुरक्षा प्रमुख विषय हो । यसमा नेपाल सरकारले गम्भीरतापूर्वक वार्ता र आवश्यक पहल कदम तत्काल चाल्नुपर्छ । द्वन्दग्रस्त अफगानिस्तानबाट नेपालीहरुलाई सकुशल उद्दार गर्ने विषय र विकल्पमा नेपाल सरकारले कुनै पनि कसर बाँकी राख्नु हुँदैन । अहिले हेर्दा सरकार त्यति गम्भीर नदेखिएको प्रतित हुन्छ । त्यहाँ त्रासमा बाँचिरहेका, जागिर गरिरहेका नागरिकलाई सरकार हुनुको अनुभूति पनि यस्तै बेलामा गराउने हो, यसमा सरकार चुक्नुहुँदैन ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *