एमाले विभाजनको पुनरावृत्ति र विडम्बना


सम्पादकीय /मुलुकको सबै भन्दा ठूलो दल बनेको नेकपा एमाले अन्ततः विभाजन भएको छ । एक वर्ष लामो विवाद अन्र्तसंघर्ष चरम उत्कर्षमा पुगे पछि एमाले र जसपाले पुनः फुटको इतिहास दोहोराएको छ । २०५४ सालमा पनि नेकपा एमाले विभाजन भएको थियो । पार्टी भित्र तीब्र असन्तुष्टि जनाउँदै बामदेव गौतमले पार्टी फुटाएर नेकपा माले गठन गरेका थिए । पार्टी भित्र एमाले अध्यक्ष केपी शर्मा ओलीको एकलौटी र स्वेच्छाचारी प्रवृत्ति हाबी भएको र यो सच्चिने अवस्था नरहेको जिकिर गर्दै वरिष्ठ नेता माधवकुमार नेपालले आफ्नो नेतृत्वमा नयाँ दल ‘नेकपा एमाले समाजवादी’ दर्ताका लागि निवेदन दिएका छन् । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार मात्र संसदीय दल वा केन्द्रीय समितिको २० प्रतिशत पु¥याएर दल विभाजन गर्न सकिने गरी राजनीतिक दलसम्बन्धी अध्यादेश प्रमाणीकरण जारी गरे लगत्तै एमाले औपचारिक रुपमा विभाजित भएको हो ।

एमाले विभाजन नेपाल र नेपालीका लागि सरप्राइज खबर थिएन । किनकि लामो समयदेखि एमालेका शीर्ष नेताहरु फुट्न पनि नसक्ने र जुट्न पनि नसक्ने अवस्था बिद्यमान थियो । यही अनुक्रममा नयाँ संघीय शासन व्यवस्थाको पहिलो सत्ता बागडोर सम्हालेको नेकपा एमाले नेतृत्वको सरकार साढे तीन वर्षमै पार्टी नेताहरुकै असहयोगमा ढल्यो । यसबिचमा सरकार जोगाउने रस्साकस्सीमा एमाले अध्यक्ष ओलीले दुई पटक संसद विघटन गरे । आफ्नै पार्टीका नेताहरुले मन्त्रीबाट राजीनामा गरे । विपक्षी दलको नेतृत्वमा सरकार बनाउन मतदान नै गरे । विवादको शिलशिलामा जे जस्ता गतिविधि दुवै तर्फबाट भए, त्यो पार्टी एउटै भएको या एक हुने परिदृश्य थिएन । अन्ततः शीर्ष नेतृत्वको व्यक्तिवादी अंहकार र कुण्ठाले फुटको दुर्दशा दोहोरिने धेरैको आँकलन थियो नै । अहिले अनुमान सत्य सावित भएको छ । यसमा ठूलो सैद्धान्तिक मतभेद देखिन्न । नेताहरु बिचकै टकराव मुख्य कारक देखिन्छ ।

कुनै पनि दल विभाजन हुनु देशका लागि राम्रो कुरा होइन । अहिले सरकारले ल्याएको दल विभाजन सम्बन्धी अध्यादेशसँगै एमाले र जनता समाजवादी विभाजन भएको छ । यसले एमालेजनलाई क्षति र दुखित त तुल्याएको छ । यसबाट तत्कालका लागि सत्तारुढ कांग्रेस, माओवादीलाई लाभ या राहत मिलेको होला । तर, यो देशको अस्थिर राजनीतिको अध्यायको सुरुवात हो । यसबाट नेपालका कुनै पनि दल जोगिन निकै कठिन हुनेछ । पार्टी भित्रको आन्तरिक विवाद र त्यसमा बाह्य रुपमा हुने चलखेलको सिकारले नेपाली राजनीति फेरि उही पुरानो अस्थिर र फोहोरी खेलको दुश्चक्रमा पुगेको छ । यस्तो अवस्था आउनुमा कसको कति भूमिका र को कति जिम्मेवार छ ? यसको गम्भीर समिक्षा, बहस, चिन्तन मनन हुन सकेन भने भोलिका दिनमा विभाजन र अस्थिर राजनीतिको मार नेपाल र नेपाली जनताले भोगिरहनु पर्ने नियति बन्ने निश्चित छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *