गाइजात्रा खास होस्, सधैं नहोस्

सम्पादकीय
गाइजात्रा भन्ना साथ आम मानिसको दिमागमा खुल्ला स्वतन्त्रता (जसले जे गरे पनि, जे भने पनि हुने), अस्तव्यस्तता भन्ने सम्झन्छन् । तर, नेपालमा परम्परादेखि मनाइदै आइएको ‘गाईजात्रा’ को आफ्नै मिथक, महत्व र विशेषता छ । हरेक वर्षको भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठ दिन मनाइने परम्परागत सांस्कृतिक उत्सव ‘गाईजात्रा’ पछिल्लो दुई वर्ष कोरोना कहरका कारण सामान्य उत्सवमा सिमित छ । एक वर्षभित्र दिवङ्गत आफन्तको सम्झनामा आज गाई वा मानिसलाई गाईका रूपमा सिँगारी आआफ्ना इलाकामा परिक्रमा गराइने र उनीहरूलाई श्रद्धालुद्वारा दूध, फलफूल, रोटी, चिउरा, दहीका साथै अन्न र द्रव्य दान गरिन्छ । यसरी नगर परिक्रमा गर्नाले वर्षभरि मृत्यु भएका व्यक्ति गाईको पुच्छर समाई वैतरणी पार हुन्छन् भन्ने धार्मिक विश्वास छ ।

गाइजात्रासँग धेरै विषय प्रसंग जोडिएको इतिहास छ । राजा प्रताप मल्लले पुत्रशोकले विह्वल आफ्नी रानीलाई दुनियाँले पनि यस्तै शोक बेहोर्नुपर्छ भन्ने देखाउन जनतालाई ‘आआफ्नो मरेका व्यक्तिका नाममा गाईजात्रा निकाली सहर परिक्रमा गराउनू’ भनी आज्ञा दिएकोमा यतिले पनि रानीको मन शान्त हुन नसकेकाले विभिन्न प्रकारका प्रहसन तथा व्यङ्ग्यात्मक कार्यक्रम पनि गराउने आदेश दिए अनुरूप जात्राको प्रचलन चलेको बताइन्छ । देशका विभिन्न शहरमा गाईजात्रा मनाइए पनि काठमाडौँ उपत्यकामा यसको विशेष रौनकता हुन्छ । भाद्र कृष्णाष्टमीका दिनसम्म मनाइने यस पर्वका क्रममा प्रहसन, सामाजिक विकृतिप्रति व्यङ्ग्यात्मक प्रदर्शन, नाचगान तथा मृत व्यक्तिको सम्झनामा ‘रामायण’का करुण रसका गीत पनि गाइन्छन् । व्यवस्थाप्रति व्यङ्ग्य गरेको भन्दै विसं २०१७ पुस १ गतेको ‘शाही कू’ पछि गाईजात्रामा पनि प्रतिबन्ध लागेको थियो । हास्यव्यङ्ग्यले बुझ पचाएर जथाभाबी गर्नेलाई सचेत गराउन समेत भूमिका खेल्छ । गाईजात्राका अवसरमा समाजमा विद्यमान विकृति र विसङ्गति उजागर गर्न सार्वजनिक रूपमा मनोरञ्जनात्मक तथा व्यंग्यात्मक ढङ्गले अहिले टेलिभिजन र भर्चुअल रुपमा मात्र कार्यक्रम गरिएको छ ।

पछिल्ला वर्षमा गाईजात्रालाई हास्यव्यंग्य सँग बढी जोडिए पनि यो पर्व त्यो भन्दा बृहत्तर आयामको हो । दिवंगत आफन्तको नाममा गाईको पूजा गरेर मृत आत्माको शान्तिको कामनादेखि नेवारी समुदायको अरु संस्कारसँग समेत जोडिएको छ । यसर्थ काठमाण्डौंमा नेपाल सरकारले सार्वजनिक विदा समेत दिने गर्दछ । गाइजात्रामा परम्परा मात्रै होइन, विगत र वर्तमानका खराब पात्र र प्रवृत्ति प्रति तीब्र व्यंग्य गरेर गलत प्रवृत्ति निरुत्साहित गर्नमा पनि गाइजात्राको अहम् भूमिका छ । पछिल्लो समय देशमा हरेक दिनजसो ‘गाईजात्रा’ को झल्को दिने गतिविधि देखिन्छ । जसले नागरिकमा निराशा र आक्रोश बढ्दो छ । अतः ‘गाईजात्रा’ खास समयमा मात्र विशेष होस् । तर, देशमा बेथितिमा रमाउने राजनीतिक पार्टी र नेताहरुको हर समय देखिने गाइजात्रा सदाका लागि बन्द होस् ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *