दीगो विकास केवल नारा कि दृढ लक्ष्य ?

सम्पादकीय
नेपालमा वर्षौदेखि परिवर्तन, विकास र समृद्धिको नारा लगाइएको छ, भाषण हजारौ पल्ट सुनिएको छ, सिद्धान्त र घोषणापत्रहरुमा पटक पटक पढिएको छ । चुनावमा यही प्रवृत्तिको होडबाजी चलेको छ । तर, यही यस्तै नारा, भाषण, आश्वासन र घोषणा पत्रबाट सत्ताको आसनमा पुगेका राजनीतिक दल र नेताहरु अन्ततः आफ्ना बाचा, लिखित मौखिक प्रतिवद्धताहरु बिर्सिन्छन् । र आफ्नो तथा सिमित स्वार्थ समूहको जञ्जालमा भूल्छन् । जसले सिंगो नेपाल र नेपालीको हितमा काम गर्न सक्दैनन् । यो आजको समस्या मात्रै होइन, विगत कैयन वर्ष यताको साझा समस्या हो । यो कुनै एक दुई दलमा सिमित छैन, सबै सत्ताको बागडोर सम्हाल्न पुगेका राजनीतिक दलहरुमा यस्तो प्रवृत्ति देखिने गरेको छ ।

राजनीतिक स्थिरता, दीगो विकास, समृद्धिको नारा नयाँ संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना पछि अझ बढी घन्कियो । व्यवहारतः पुरानै परिपाटीमा नेपालको राजनीति, व्यवस्था र अभ्यास देखिएको छ । यसको एक उदाहरण नेपालको दीगो विकास लक्ष्य प्राप्त नहुने अवस्था सिर्जना भइसकेको छ । राष्ट्रिय योजना आयोगले अहिलेकै तौरतरिका र ढाँचाबाट अघि बढेमा मुलुकको दिगो विकास लक्ष्य प्राप्तिमा कठिनाइ हुने जनाउ दिएको छ । दीगो विकास लक्ष्य प्राप्तिमा राजनीतिक नेतृत्वले अहिले अभ्यासमा रहेको काम गर्ने तरिका र ढाँचाबाट अघि बढ्न खोजेमा त्यो सम्भव हुने देखिन्न पनि । किनकि संवेदनशील र जिम्मेवार भएर काम गर्ने राजनीतिक नेतृत्वका लागि आवधिक निर्वाचनमा सफलताका लागि ठूलो अवसर छ । तर पनि मन खोलेर आहा भन्न सक्ने गरी कतै काम भएको या गरेको खबर पाउन मुश्किल छ । संयुक्त राष्ट्रसंघले सन् २०१५ सेप्टेम्बरमा २०१६ देखि २०३० सम्ममा विश्वको रुपान्तरण र विकासका हरेक आयाममा कसैलाई पनि पछाडि नछोड्ने प्रतिबद्धताका साथ दिगो विकासका लक्ष्य घोषणा गरेको थियो । उक्त घोषणमा १७ वटा लक्ष्य, १६९ वटा परिमाणात्मक लक्ष्य र २३२ विश्वव्यापी सूचकांक निर्धारण गरिएका छन् । दिगो विकास लक्ष्यमा सामाजिक, आर्थिक र पर्यावरणीय आयाम छन् ।

देश बनाउने सपना साझा हो । यद्यपि, यसका बाटाहरु भिन्न हुन सक्छन् । तर, दीगो विकासको लक्ष्य प्राप्त गर्ने विषय सबैको साझा लक्ष्य हुनुपर्छ । मुलुकमा सडक पूर्वाधार निर्माणमा राज्यको क्षमता कमजोर छ । राजनीतिक नेतृत्वको दीर्घकालीन सोचको अभाव छ । कर्मचारीमा सुझबुझपूर्ण योजना निर्माण र कार्यान्वयन गर्ने कार्यदक्षतामा समस्या देखिन्छ । निर्माण जिम्मा लिएको ठेकेदारमा समय सीमाभित्र गुणस्तरीय निर्माण गर्ने प्रणाली पनि हामीकहाँ विकसित हुन सकिरहेको छैन । र समयमा काम नगर्दा पनि सत्ता, शक्ति र पैसाको प्रयोग गरेर सरकार र नेताहरुलाई समेत प्रभाव पारिरहेका छन् । यी र यस्ता समस्या र प्रवृत्ति दीगो विकास लक्ष्यको बाधक हो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *