आदर्श सञ्चारः संकट र सञ्चारको सच्चा सारथी बन्नेछौँ

सम्पादकीय
‘आदर्श सञ्चार’ एक पवित्र उद्धेश्यले स्थापित नाम र संस्था हो । यो उद्धेश्य फगत कोर्रा सपनाका लागि थिएन । युवा, जुझारु सानो जमातको सञ्चारको माध्यमबाट समाज बदल्न कोसिस गर्ने ध्येय थियो । र यस्तो प्रयास केवल व्यक्ति प्रधान भएर होइन, संस्थागत प्रयासबाट हुनुपर्छ मान्यता थियो । त्यही पवित्र सोंच र यही मान्यताबाट २०६३ सालमा आदर्श सञ्चार सहकारी संस्था बागलुङमा जन्मियो । आदर्श सञ्चार सहकारी सम्बद्ध टिमको इमान्दार कर्मबाटै धौलागिरी जागरण दैनिक सुरु भयो । जो आजको दिनमा पनि हर दिन हर विहान नयाँ ताजा र खोजमूलक खबर सहित घर घरमा पुग्दछ । यसका साथै आदर्शकै अग्रसर साप्ताहिक समेत २०६८ सालदेखि प्रकाशनमा छ । समय सापेक्ष रुपमा आदर्श सञ्चारले आफ्नो नागरिक प्रतिको दायित्व निर्वाहका लागि श्रव्यदृश्य माध्यम धौलागिरी टेलिभिजनमा पनि आफ्नो साझेदारी कायम गरेको छ ।

समय र प्रविधि अहिले तीब्रतर गतिमा छ । जसले यी दुईको गतिशीलता बोध गर्दैनन्, ती पछि पर्ने मात्रै होइन, पछुताउने पर्ने समेत निश्चित छ । प्रविधिको तिव्र विकासले सिंगो बिश्व एउटा गाउँ ‘ग्लोबल भिलेज’ बनिसक्यो । यो बनाउनुमा डिजिटल माध्यम र पत्रकारिताले अहम् भुमिका खेल्यो । अतः अब खेल्नुपर्ने थप भुमिका, समय र समाजको कोलाजका लागि आदर्श सञ्चार सहकारी संस्थाले नै छापा पत्रिकाका अतिरिक्त नयाँ प्रकाशनको रुपमा २०७६ भाद्र २१ गते आदर्श सञ्चार डट कम (डिजिटल पत्रिका) सुरु गरेको थियो । आज ठिक दुई वर्ष पुरा भएको छ । सयौं अनलाइनको संख्यामा एउटा थपिनु मात्र ठुलो उपलब्धी थिएन, हामी स्वयम् संख्यामा मात्र बिश्वास गर्दैनौ, सञ्चार माध्यमको सबलता, समाचार सामग्रीको गुणस्तर र सामाजिक उत्तरदायित्व सहितको पत्रकारिता हाम्रो मुख्य चासो, सवाल र जिम्मेवारी हो र हुनेछ । जनजीवनका दैनिक समस्या हाम्रा प्राथमिक चासोका विषय हुन् । सामाजिक बेथिति, भ्रष्टाचार, अन्याय, अत्याचार, हिसां, आपराधिक क्रियाकलाप र लोकतन्त्र बिरोधी गतिविधि हाम्रो मुख्य खजाना हो ।

कुनै व्यक्ति बिशेषसँग नभई खराब पात्र, समूह र प्रवृत्तिका बिरुद्धमा हाम्रा कलम र आवाज केन्द्रित छ । सबै राजनीतिक दल, हरेक व्यक्ति र समाजका हरेक पक्षलाई गुण र दोषका आधारमा समर्थन वा आलोचना या सन्तुलित भूमिका आदर्श सञ्चारको इमान्दार कोसिस हो । जुन हिजो पनि थियो, आज पनि छ र भोली पनि हुनेछ । हामी राज्यले अबलम्वन गरेको संघीयतालाई थप सबल बनाउन चाहन्छौ । स्थानीय तहलाई बलियो बनाउन र स्थानीय तहका नागरिकको सेवा, सुविधा र अवसरमा हाम्रो संवेदनशील छौ । अतः स्थानीय तह सम्मै आदर्शका प्रकाशनहरु धौलागिरी जागरण दैनिक, अग्रसर साप्ताहिक र आदर्श सञ्चार डट कमको सहज पहुँच पु¥याउन जिल्लाका सबै पालिकामा संवाददाता राख्ने अन्तिम तयारीमा छौ । आदर्श सञ्चारको कान्छो प्रकाशन आदर्श सञ्चार डट कमको दोस्रो वार्षिकोत्सवका अवसर हामी सिंगो आदशं सञ्चार सही समयमा सही सूचना दिनुको कर्तव्य र दायित्वबाट हर विषम परिस्थितिमा पनि बिचलित नहुने प्रतिवद्धता व्यक्त गर्दछौ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *