सर्वोत्कृष्ट कर्मचारी छैनन् कि भेट्दैन सरकार ?

सम्पादकीय
निजामती कर्मचारी यो देशका स्थायी सरकारको रुपमा चिनिन्छन् । यो भूमिकाका हिसाबले हेर्दा देखिन्छ पनि । राजनीतिक दलका सरकार फेरबदल भइरहन्छन् । सत्ता स्वार्थले कति बेला कुन पार्टीको सरकार ढल्छ र कसको बन्छ ? अस्थिरताको चक्रले नेपालको राजनीतिलाई अनिश्चयको भूमरीमा पारिरहेको छ । त्यो पहिलेको प्रजातान्त्रिक व्यवस्थामा त थियो नै, अहिलेको उन्नत व्यवस्था भनिएको संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थामा पनि कायमै छ । उसो त कतिपय सरकारको बागडोर सम्हालेका प्रधानमन्त्री, मन्त्रीहरुले निजामती कर्मचारीको असहयोगका कारण सरकार र आफ्नो कार्यकाल बिफल भएको पटक पटक जिकिर गरिरहेकै छन् ।

राज्यको स्थायी सरकारको रुपमा रहेका निजामती कर्मचारीमा सर्वोत्कृष्ट कार्य सम्पादन गरेको कर्मचारी भने सरकारले भेटाउन मुश्किल पर्ने गरेको छ । सरकारले यो वर्ष पनि सर्वोत्कृष्ट निजामती कर्मचारी भेट्टाउन सकेन । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले ४० जनालाई निजामती पुरस्कार दिने निर्णय गरेको छ । ११ भदौमा मनाइने निजामती कर्मचारी दिवसका दिन सरकारले एक जनालाई सर्वोत्कृष्ट, १० जनालाई उत्कृष्ट र ३० जनालाई निजामती सेवा पुरस्कार गरी ४१ जनालाई पुरस्कार दिने व्यवस्था छ । सर्वोत्कृष्ट निजामती पुरस्कार २ लाख रुपैयाँ, उत्कृष्ट १ लाख र निजामती सेवा पुरस्कार ५० हजार रुपैयाँ राशिको छ । तर यो वर्ष पनि सर्वोत्कृष्ट निजामती सेवा पुरस्कार नदिइने भएको छ । सबैभन्दा राम्रो काम गर्ने कर्मचारीका लागि व्यवस्था गरिएको यो पुरस्कार पछिल्लो पटक २०७३ सालमा तत्कालीन सचिव शान्तराज सुवेदीले पाएका थिए । त्यसयताका पाँच वर्ष यो पुरस्कार दिइएको छैन । पुरस्कारका आवश्यक मापदण्ड, आवेदन, सिफारिस स्वयम् कर्मचारीहरु नै गर्छन् । र पनि किन भेटिदैनन् सर्वोत्कृष्ट कर्मचारी ? यो प्रश्न आजको दिन सम्म अनुत्तरित छ ।

पुरस्कारले असल कर्म र व्यक्ति खोजेर पुरस्कृत गर्न खोज्यो भने त्यसले निसन्देश सत्कर्मका लागि प्रेरित गर्छ नै । सरकारले हरेक वर्ष निजामतीका लागि पुरस्कृत गर्ने व्यवस्था पनि यसर्थ सकारात्मक हो । तर, पाँच वर्षदेखि सर्वोत्कृष्ट कर्मचारी छनोट र पुरस्कृत गर्न नसक्नु बिडम्बना नै मान्नुपर्छ । के देशभरमा एक जना पनि सर्वाेत्कृष्ट काम गर्ने कर्मचारी नै नहोलान् र ? सरकार नै सर्वोत्कृष्ट कर्मचारी छनोट गर्न चाहन्न या निजामती कर्मचारीकै उच्च स्तरका संयन्त्र ? या राज्यको ढुकुटीबाट तलब खाएर पनि जनताको मन जित्ने गरी पृथक हिसाबले कर्म गर्न निजामती कर्मचारी सकिरहेका छैनन् ? अब यसको जवाफ खोज्न जरुर छ । हाम्रो देश त यस्तो अवस्थामा छ कि जुन पद र जिम्मेवारी हो, त्यही पदमा बसेर उसले निर्वाह गर्नै पर्ने काम गर्दा पनि वाहवाही हुन्छ । त्यो एक मात्र उदाहरण नेपाल बिद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमाल घिसिङले गरेको काम र जनसमर्थन हेर्दा पनि काफी हुन्छ । अतः राम्रो काम गर्न प्रेरित गर्ने यस्ता पुरस्कार कि राख्नुहुन्न, व्यवस्था गरे पछि निश्चित मापदण्डका आधारमा पात्र छनोट गरेर पुरस्कृत गरिनुपर्दछ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *