संसद, सभामुख र अमर्यादित दृश्य

सम्पादकीय
संसद देशको माग, आवश्यक अनुसार बिधि निर्माण गर्ने घर हो । संसद जनताको पिर, मर्का, समस्या बिसाउने मात्र होइन, तत् सम्बन्धी समस्या सम्बोधन गर्न राज्य सरकारलाई जिम्मेवार बनाउने स्थल हो । संसद जनताको सार्वभौमसत्ताको प्रयोग गर्ने एक महत्वपूर्ण मर्यादित थलो हो । तर, हाम्रो देशको संसदको गरिमा र मर्यादा गतिहीन संसद र सांसदका अमर्यादित गतिविधिले उदांगो बनाइदिएको छ । राजनीतिक दल, त्यस सम्बद्ध सांसदको भूमिका जनताका दैननिदिनका समस्या जटिलता भन्दा सत्ता स्वार्थका दन्तबझानले एक अर्कोलाई देखाइदिने नियतिबाट संसद ग्रसित देखिन्छ । जसले बिधिलाई होइन, बेथितिलाई नै मलजल गरिरहेको छ ।

अहिले संसदमा रहेका हरेकजसो दलका कुनै न कुनै नेता र सांसद संसदीय मर्यादा मिचेर बिरोधमा नउत्रिएका सायदै छन् । संसदमा गलत कुराको बिरोध गर्नु त जरुर पर्छ र पाइन्छ नै । तर, बिरोध प्रदर्शनको पनि एउटा सीमा हुन्छ । जुन संसदीय मर्यादा निर्धारित छ, त्यस भित्रै रहेर सांसदहरुले भूमिका खेल्नुपर्छ । यसका लागि संसद जति मर्यादित हुन जरुरी छ, त्यो भन्दा कयौ गुणा बढी जिम्मेवार र जवाफदेही सभामुख हुनुपर्दछ । अहिले सभामुख रहेका अग्नी सापकोटाको नियोजित भूमिकाबाट एमालेका १४ सांसदलाई कारबाही नगरिएको आक्रोश एमाले सांसदले पोखिरहेका छन् । तत्कालीन माओवादी छोडेका सांसदलाई पार्टीले कारबाही गर्न साथ सूचना टाँस गरेर कारबाही गर्ने तर एमालेले कारबाही गरेका १४ सांसदलाई पार्टीले कारबाही गर्दा सभामुखले मौनता साँधेर संरक्षण गर्ने काम नियत र बिधि विपरित भएको एमालेको जिकिर छ । एउटै विषय र सवालमा दुई वटा निर्णय कसरी हुन सक्छ ? यही प्रश्न र आक्रोशका कारणबाट पटक पटक संसद बैठक अवरुद्ध भएको छ । संसद बैठकमा एमाले सांसदको बिरोध र आक्रोश यति सम्म छ कि मर्यादा पालकहरु घाइते भएका छन्, यसका बाबजुद पनि सभामुखले पेलेर केही बिधयेक जर्बजस्त पेश र पारित गरिएको छ । आइतबार बोलाइएको संसद वैठक पनि मंगलबार सम्मका लागि स्थगित भएको छ ।

संसद सञ्चालनमा स्वभाविक सत्ता स्वार्थ प्रकट हुन्छ नै । आ–आफ्नो स्वार्थअनुसार चलाउन खोज्ने सत्तापक्ष र प्रतिपक्षको रणनीतिक दाउपेचले संसद् बैठक सदैव टकरावको थलो बन्दै आएकोमा दुई मत छैन । एमाले विभाजनमा सत्तापक्ष र सभामुखले षड्यन्त्र गरेको निष्कर्षसहित प्रमुख विपक्षी दलले संसद्लाई अवरोध र बन्धक बनाउने रणनीति लिएको छ । तर, विपक्षीको अवरोधलाई छिचोल्दै सत्तापक्षले एकतर्फी रूपमा संसद्का कामकारबाही अगाडि बढाएको छ । यस्तो तिक्तताले दुई पटिक विघटित भएर अदालतबाट पुर्नजीवन पाएको संसदले कति काम गर्न सक्ला ? यो सोचनीय विषय बनेको छ । १४ जना सांसदलाई हटाइयोस् भन्ने मुद्दा सर्वाेच्च अदालतमा समेत विचाराधीन छ । यही विषयको बखेडाले संसद अहिले गतिरोधको अवस्थामा छ । सत्ताबाट बाहिरिनु र त्यसमा पनि पार्टी विभाजन भएको पीडाले प्रमुख प्रतिपक्षी एमाले स्वभाविक रन्थनिएको छ, आक्रोशित छ । यस्तो बेलामा सभामुखको भूमिका निश्पक्ष,सन्तुलित र समन्वयकारी हुुन जरुरी छ । तर, यस्तो भूमिकाबाट संसदको गरिमा जोगाउने मुख्य दायित्व भएका सभामुख सापकोटा चुक्नुहुन्न । सरकार र दलहरु पनि उत्तिकै जिम्मेवार हुन आवश्यक छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *