संक्रमण घटे पनि बेवास्ता नहोस्

सम्पादकीय
कोरोना भाइरस (कोभिड १९)को संक्रमणले हर क्षेत्र प्रभावित छ । दुई वर्षदेखि कोरोनाबाट आक्रान्त बनेको जनजीवन कहिले नियमित लयमा फर्कने हो ? पहिलो र दोस्रो भेरियन्टले मानिसहरुको नियमित दैनिकी यति सम्म अस्तव्यस्त भएको छ कि पुरानै नियमिततामा फर्किन अब धेरै समय लाग्ने निश्चित छ । व्यक्तिगतदेखि देशको अस्तव्यस्त बनेको अर्थतन्त्रको हालत उस्तै छ । यद्यपि, पछिल्लो केही साता कोरोना भाइरसको संक्रमण दर घट्दो क्रममा देखिएको छ । यसले नागरिकमा केही आशा र उत्साह छाएको छ । भलै तेस्रो भेरियन्टको चर्चा र नयाँ नयाँ प्रकृतिको भाइरस फेला परेको समाचार अफवाहले फेरि पनि नेपाल र नेपालीलाई बेचैनी बनाइरहेको छ ।

पछिल्लो समय संक्रमण दर वास्तविक रुपमै घटेको हो ? या परीक्षण नै कम गरिएको छ ? यो प्रश्न विगत लामो समयदेखि नेपाली समाजमा चल्दै आएको छ । असार मध्यतिर संक्रमण दर कम हुँदै गर्दा पनि यो प्रश्न र संशय विद्यमान थियो । अहिले ठिक सोही प्रश्न र संशय बिद्यमान छ । आइतबार मात्र १६ हजार ५ सय ३९ नमूना परीक्षणमा १४ सय ८६ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घन्टामा १२ हजार ५३२ नमूनाको पीसीआर र ४००७ नमूनाको एन्टिजेन विधिबाट परीक्षण भएको थियो । जसमध्ये पीसीआरबाट ११ सय ४९ र एन्टिजेनबाट ३३७ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक छ । पछिल्लो २४ घन्टामा थप १२ सय ६० जना कोरोनामुक्त भएका छन् । मन्त्रालयका अनुसार कोरोनाबाट थप १६ जनाको मृत्यु भएको छ । आइतबार कोरोनाबाट १३ जनाको मृत्यु भएको थियो । हाल सक्रिय संक्रमितको संख्या २६ हजार ६३० छ । ४७५ जना आइसीयूमा र १३४ जनाको भेन्टिलेटरमा उपचाररत छन् । बागलुङमा पनि पछिल्लो समय कोरोना संक्रमण दरमा उल्लेख्य कमी आएको छ । सोमवारको तथ्यांक अनुसार ७१ जना कोरोना संक्रमित जिल्लामा छन् । जबकि जिल्लामा केही महिना अघि सम्म १ हजार बढी कोरोना संक्रमित थिए ।

कोरोना संक्रमण दर घट्दै जानु सकारात्मक कुरा हो । संक्रमण घटे सँगै जिल्ला प्रशासन कार्यालयले लामो समयदेखि जारी गरेको निषेधाज्ञा हटाएको छ । सोमवारदेखि सबै क्षेत्र खुल्ला गर्ने निर्णय गरेको छ । यो कदम जरुरी पनि थियो । सधैं लकडाउन निषेधाज्ञा मात्र पनि समाधान होइन र हुन सक्दैन । यसको अर्थ अब खुल्यो भनेर मनपरी गतिविधि र लापरवाही कुनै पनि व्यक्ति र समूहबाट हुनुहुन्न । कोरोना संक्रमण घटे पनि जोखिम कायमै छ । कोरोनाको सम्भावित तेस्रो भेरियन्ट समेतलाई ध्यानमा राखेर स्वास्थ्य सुरक्षा मापदण्डको पालनामा सरकारले गम्भीरतापूर्वक ध्यान दिन दिनुपर्दछ । सरकारको एकल नेतृत्व र प्रयासले मात्र पनि कोरोना रोकथाम, नियन्त्रण सम्भव हुँदैन । त्यसैले हर नागरिक पनि उत्तिकै सचेत, सुरक्षित र जिम्मेवार बन्नुपर्दछ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *