विद्यालय सञ्चालन, जोखिम र सतर्कता

सम्पादकीय
अहिले कोरोना संक्रमण दर घट्दो छ । कोरोना संक्रमण घटे पछि लामो समयदेखि संकटग्रस्त भएका बजार, व्यापार व्यवसाय, कार्यालय संघ संस्था पनि सञ्चालन हुन थालेका छन् । जनजीवन सामान्य उन्मुख छ । सार्वजनिक सवारी साधन, ठुला ठुला भिडभाड हुने क्षेत्रहरु पनि खुल्न थालेका छन् । यही क्रममा देशका बिभिन्न जिल्लामा विद्यालयहरु पनि कतै खुलाइसकिएको छ भने अधिकांश स्थानमा खुलाउने तयारीमा छन् । गण्डकी प्रदेशको राजधानी पोखरामा असोज १ गतेदेखि विद्यालय खुल्ने भएका छन् । बागलुङमा पनि अधिकांश स्थानीय तहमा विद्यालय खुलिसकेका छन् । कोरोना भाइरसको दोस्रो भेरियन्ट र भयावहसँगै लामो समय लकडाउन झेलेको यस जिल्लामा यसै साता मात्र जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र (डिसिएमसी) को बैठकले स्थानीय तहले समन्वय गरेर विद्यालय खुलाउन सक्ने निर्णय गरेको थियो ।

जिल्ला तहमा विद्यालय खुलाएर पठन पाठन थालिएको छ । तर, संघीय सरकार अन्तर्गतको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भने अझै पनि हतारमा विद्यालय सञ्चालन नगर्न निर्देशन गरेको छ । विद्यालय खोल्न वा नखोल्ने स्थानीय तहले निर्धारण गर्न सक्ने तर विद्यालय खोल्नुभन्दा अगाडि नजिकैको स्वास्थ्य संस्था र स्थानीय प्रशासन सँग समन्वय गर्न समेत निर्देशन दिएको छ । स्थानीय तहमा कोभिड–१९ को जोखिम आँकलन गरेर मात्र विद्यालय सञ्चालनमा लाग्नुपर्दछ । यसका लागि शिक्षक, कर्मचारी र विद्यार्थीलाई कोभिड–१९ सँग आवश्यक अभिमुखीकरण आवश्यक छ । विद्यालयमा बालबालिकाको समय समयमा स्वास्थ्य चेकजाँच र उपचार गर्नुपर्दछ । किन भने कोरोना संक्रमण दर पछिल्लो साता केही घटे पनि कोभिड–१९ को संक्रमण जोखिम घटेको छैन । सबै पालिकामा एउटै अवस्था छैन । सबै विद्यालयमा पनि एउटै अवस्था छैन । यसमा स्थानीय तह शिक्षा र स्वास्थ्य शाखाले कोरोनाको जोखिम र संवेदनशिलता राम्ररी बुझेर निर्णय लिनु पर्ने अवस्था छ ।

कोरोना भाइरसको आगमन भए यताका दुई वर्ष विद्यार्थी, बालबालिकालाई अभिसाप सावित भएका छन् । यस अवधीमा बेला बेला विद्यालय, कलेजबाट अनलाइन कक्षाको पहल र अभ्यास भए पनि प्रभावकारी नभएको व्यापक गुनासो आयो । विद्यालय नखुले पछि अधिकांश बालबालिकाको दैनिकी मोवाइलमा गेम खेलेर व्यतित गरिरहेका छन् । यसले बालबालिकामा एक किसिमको मोवाइल दुव्र्यसनको समस्या देखिएको छ । यसले तत्काल र दीर्घकालीन असर गर्नेछ, त्यो भोलिका दिनमा देखिएला । कोरोना संक्रमण जोखिम र भयावहले विद्यालय लामो समयदेखि बन्द छन्, सदैव बन्द मात्रै अवश्य समाधान होइन र हुन सक्दैन । त्यसैले, सञ्चालन गर्ने निर्णय र तयारी स्वभाविक छ । तर, स्वास्थ्य सुरक्षा सतर्कता अपनाउने कुरामा कुनै पनि विद्यालय र बालबालिकाले खेलवाड र बेवास्ता गर्नुहुँदैन ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *