विभूषणको विकृति

सम्पादकीय
कुनै पनि मान पदवी, विभूषण, उपमा, सम्मान पृथक सोच र कर्मका लागि प्रदान गरिन्छ, गर्नुपर्छ । समाज र देशमा भिन्न भिन्न क्षेत्रमा रहेर योगदान भूमिका खेल्नेहरुलाई राज्यका तर्फबाट सम्मान गर्नु राम्रो कुरा हो । सरकारले हरेक साल संविधान दिवसको अवसर पारेर विभिन्न किसिमका विभूषण घोषणा र प्रदान गर्ने गरेको छ । नेपाल सरकारले यस वर्ष ९०३ जनालाई विभुषणद्वारा सम्मानको घोषणा गरेको छ । यसपालि २५ किसिमका विभूषण घोषणा गरिएको छ । यसमा ११ किसिमका मानपदवी, ८ किसिमका अलंकार र ६ किसिमका पदक छन् ।

नेपालमा जे जसरी मान पदवी र विभूषण प्रदान गरिन्छ, त्यसको हर वर्ष तीब्र आलोचना हुने गरेको छ । सरकारमा जो जसको पहुँच छ, एकाध उपर्युक्त सम्मानयोग्य पात्रहरु बाहेक सरकारको नेतृत्व गरेको दल र तीनकै निकटहरुको विभूषणमा बिगबिगी हुन्छ । विभूषणमा सत्ता गठबन्धनका झलनाथ खनालदेखि प्रचण्ड पत्नी सीता दाहाल, माधव नेपालका दिवंगत पिता……लाई मरणोपरान्त सम्म छन् । अरु सम्मानित पुरस्कृत पात्र हेर्दा पनि सत्तारुढ दलको भागबण्डाको रंग छरपष्ट देखिन्छ । विभूषण घोषणा भएसँगै यसको छनोट बिधि मापदण्डबारे अधिकांशले आलोचनात्मक प्रतिक्रिया जनाइरहेका छन् । यही अनुक्रममा कतिपयले विभुषण अस्वीकार गरेका छन् भने कतिपयले आलोचना गरिरहेका छन् । केहीले भने सरकारले आफ्नो भूमिकाको कदर गरेको भन्दै धन्यवाद दिएका छन् । पत्रकार हरिबहादुर थापा, नारायण अमृत, कार्टुनिस्ट रवीन सायमीले त विभूषण अस्वीकारको घोषणा गरेका छन् ।

मानपदवी, अलंकार र पदकको विकृति, पदक पाउनेको सार्वजनिक सुयोग्यताबारे लामो समयदेखि प्रश्न उठिरहेको छ । कोही किन पदक पाउँछ वा दिइन्छ भन्नेबारे खुला बहस हुनुपर्छ । विधि लोकतान्त्रिक र पारदर्शी हुनुपर्छ । नत्र कुनै दल वा नेता वा मन्त्री वा उच्च पदस्थ कर्मचारीको निकट भएकै हिसाबले हचुवाको भरमा विभुषणमा नाम समाविष्ट गरिने प्रक्रियाले खास योगदान दिने व्यक्तिलाई अवमूल्यन गर्नेछ । कुनै मापदण्ड, आधार र छनोटकर्ता को हो भन्ने नखुलाई सम्मान÷पदक दिँदा पाउने मान्छे योग्य भए पनि उसको सम्मान भन्दा अपमान बढी हुने खतरा देखिएको छ । पञ्चायतमा जे जसरी आसेपासेलाई पुरस्कार बाँडिन्थ्यो, अहिलेको गणतान्त्रिक व्यवस्थामा पनि उस्तै पात्र र प्रवृत्तिको बोलवाला देखिन्छ । पार्टीसँग नजिक भएका व्यक्ति, कार्यकर्ता र चाकडी गर्नेहरूले बढी पाउन थालेपछि विभुषणको मर्यादा र सर्वस्वीकार्यता घट्दै गएको छ । यो राम्रो संकेत होइन । कसको योगदान कति भन्ने विषयमा के आधारमा विभूषण दिने भन्ने सर्वस्वीकार्य मापदण्ड कठिन विषय हो तर धेरै असम्भव विषय होइन । दुई वर्ष यता कोरोना महामारीमा छौ । चिकित्सक स्वास्थ्यकर्मीले यसबिचमा अभुतपूर्व भूमिका निर्वाह गरेका छन् । यसबेलामा देशभरका स्वास्थ्यकर्मीलाई विभुषित गरेको भए स्वास्थ्यकर्मीको यथोचित कदर मात्र होइन, आम रुपमा पृथक सन्देश समेत जाने थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *