अलपत्र लोकमार्ग र आशाको खेती

सम्पादकीय

मध्यपहाडी लोकमार्ग बागलुङमा विकास, सम्भावना र अवसर लिएर आयो । यसबाट दुर भनिएका गाउँहरु कायापलट भए । भुगोलले दुर भएका गाउँले सडक सञ्जालको पहुँचबाट नजिक भए । तर, दुर्भाग्य नै भन्नुपर्छ कि बागलुङ घोडाबाँधे सडक खण्डको २३ किमी सडक लामो समयदेखि अलपत्र अवस्थामा छ । जिल्लाका ग्रामीण क्षेत्र तर्फका अधिकांश खण्डमा कालोपत्रे भएर केही वर्ष यता सहज सवारी आवागमन चलिरहेको छ । बागलुङ बजार आसपासकै खण्डको बेहाल । बर्खामा हिलाम्य भएर सवारी फस्ने र हिउँदमा धुलाम्य भएर यात्रु नचिनिने दुरावस्था बेहोेरेको तीन वर्ष बढी भइसक्यो । २०७३ सालमा दुई वर्षमा काम सक्ने गरि सम्झौता भए पनि पाँच वर्ष बित्दा समेत अलपत्र अवस्थामा छ । यो खण्ड जिल्लाबासीकै लागि ठुलो टाउँको दुखाइको बिषय बनेको छ ।

यो खण्ड मुख्य राजमार्ग हो । यस सडक हुँदै जिल्लाको पश्चिम क्षेत्रका ७ पालिकाका हजारौ सर्वसाधारण दैनिक रुपमा यात्रा गर्छन् । यात्राका क्रममा पाउने सास्ती र पीडाले नागरिक कति आक्रोशित छन् ? यसबारे यस क्षेत्रका जनप्रतिनिधि, सांसद, कर्मचारी पनि बेखबर छैनन् । तर, उनीहरुले ठोस परिणाम दिने गरि कदम चाल्न सकेका छैनन् । यसको अर्थ उनीहरुले कुनै पहल नगरेको पनि होइन, पहल भएकै देखिन्छ । तर, निर्माण व्यवसायी ठेकेदारका सामुन्ने ती पहल र भूमिका निकम्मा लाचार सावित भएका छन् । बागलुङ खण्डको ग्रामीण क्षेत्र तर्फको अधिक भाग कालोपत्रे भइसक्दा समेत जिल्ला सदरमुकामकै सम्मुखको लोकमार्गको बेहाल अवस्थामा हुनु लज्जाजनक हो । स्थानीय प्रशासनका तर्फबाट गत वर्ष दशैं आसपासमा लामो पहल, प्रयास र खबरदारी पछि बागलुङ घोडाबाँधे खण्डको दुवै ठेकेदार कम्पनीले तत्काल काम सम्पन्न गर्ने लिखित प्रतिवद्धता समेत गरे । तर, परिणाममा उही हात लाग्यो शुन्य अवस्था रह्यो । यसमा कोरोना बाहना बनाइयो, जब कि राष्ट्रिय गौरवका आयोजनालाई काम गर्न कुनै रोकावट थिएन ।

आयोजनाको निर्माण सम्झौता अवधी सकिए पनि पटक पटक म्याद थप गरेर पनि काम नभएको नमिठो अनुभूति र सत्य जिल्लाबासीका माझ छ । यही अनुक्रममा चौतर्फी निराशाका बिच बिहीबार बागलुङ क्षेत्र नम्बर १ का संघीय सांसद सुर्य पाठकको पहलमा मध्यपहाडी लोकमार्ग आयोजनाका निर्देशककै अध्यक्षतामा निर्माण व्यवसायी सहितको बैठक बसेको छ । बैठकले यस खण्डको निर्माण जिम्मा लिएका दुवै निर्माण व्यवसायीले मंसिर महिना भित्र आंशिक रुपमा कालोपत्रे गर्ने, पौष माघ महिनामा पनि कामलाई निरन्तरता दिँदै चैत्र मसान्तसम्म सडक कालोपत्रेको सम्पूर्ण काम सक्ने प्रतिवद्धता जनाएका छन् । हुन त विगतमा पनि प्रतिवद्धता जनाएर काम नगरिएको खराब तथ्यका बिच यो ठुलो र उत्साहप्रद कुरा होइन । तर, अब यसलाई अन्तिम सम्झौताको रुपमा रहने गरि काम गर्ने गराउने हो भने पनि त्यो लाभप्रद हुनेछ । अहिलेका लागि यो नै उपर्युक्त विकल्प र अवसर हो । यसमा सबैको पहल, दबाब, समन्वय र सहयोग जरुर आवश्यक छ ।
-आजको जागरण दैनिकबाट

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *