सम्पादकीय
नयाँ संघीय अभ्यास पछि पहिलो शक्तिको रुपमा उदाएको नेकपा एमाले सत्ता सञ्चालनकै बिच आन्तरिक विवादले सत्ताबाट बहिगर्मित मात्र भएको छैन, दुई चिरामा विभाजन समेत भएको छ । पाँच वर्षका लागि सत्ता बागडोर सम्हाल्ने अवसरबाट पार्टी अध्यक्ष तथा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली अर्का वरिष्ठ नेता माधव कुमार नेपाल समूह सँगको टकरावले पहिलो शक्ति छिन्न भिन्न अवस्थामा पुग्यो । संघीय सरकार ढल्यो । विभाजनको बाछिटा केन्द्र सरकारलाई मात्र होइन, प्रदेश सरकारहरुमा पनि प्रत्यक्ष प¥यो । फलस्वरुप ७ वटा प्रदेशमै सबै भन्दा गतिशील मानिएको मुख्यमन्त्री पृथ्बीसुब्बा गुरुङ नेतृत्वको गण्डकी प्रदेश सरकार एमाले आन्तरिक विवादको पहिलो सिकार बन्यो । त्यसपछि अर्का सबल नेतृत्वको पहिचान बनाएका शंकर पोखरेल नेतृत्वको सरकार ढल्यो । अहिले एमालेबाट विभाजित भएर वरिष्ठ नेता नेपालले नेकपा एकीकृत समाजवादी पार्टी बनाएका छन् । पार्टी विभाजनसँगै बागमति प्रदेश सरकार र प्रदेश १ को सरकार अल्पमतमा परेको अवस्था छ ।
आन्तरिक विवादको यथोचित समाधान अभावमा विभाजनको दोस्रो पटक नमिठो भोगाई भोग्न एमालेजन विवश बने । यसक्रममा शीर्ष नेतृत्व बिचको हठ, अंहमता, कुण्ठा लगायतका कारण मुख्य बने । जसले दोस्रो तहका नेताहरुले निरन्तर वार्ता र सहमतिको प्रयास गर्दा पनि सार्थक परिणाम निस्कन सकेन र पार्टी विभाजन भयो । विभाजन पछि अहिले एमाले र नयाँ पार्टी बनेको नेकपा एकीकृत समाजवादीका नेता कार्यकर्ता बिच तुच्छ स्तरमा उत्रिएर एक अर्कालाई गालीगलौज गर्ने, हिलो छ्यापाछ्याप गर्ने क्रम चलिरहेको छ । यसमा एमाले अध्यक्ष केपी शर्मा ओली, नेकपा एसका अध्यक्ष माधव नेपाल हुँदै तल्लो तहका नेता कार्यकर्ता सम्म सरिक छन् । दुवै पार्टीले अहिले पुनः शक्ति सञ्चय गर्ने या विभाजनको औचित्य पुष्टि गर्ने र गर्न नदिन शक्ति प्रदर्शन र अरु अभियान चलाइरहेका छन् । यही अनुक्रममा नेकपा एमालेले विधान सम्मेलन आयोजना गरेको छ । कम्युनिष्ट पार्टी सञ्चालन गर्ने वैज्ञानिक र विधि सम्मत सङ्गठनात्मक प्रणाली हुन्छ, त्यसलाई निश्चित दर्शन, सिद्धान्त र नीतिले मार्गदर्शन गर्दछ । विधिसम्मत प्रणालीको अभावमा बनेका सङ्गठन व्यक्ति केन्द्रित समूहजस्तो बन्न पुग्छन् । अहिले एमालेको नियति त्यही हो ।
नेपालका कम्युनिष्ट पार्टी र कांग्रेसमा व्यवहारतः कुनै तात्विक भिन्नता देखिन्न । यसकारण पनि एमालेले विधान सम्मेलन मार्फत आफूलाई कम्युनिष्ट पार्टीका नीति, सिद्धान्त,आचरण र व्यवहार तर्फ उन्मुख गर्छ कि गर्दैन ? कि यो केबल नेतृत्वको देवत्वकरण र भ्रष्टिकरणमा सीमित हुन्छ ? एमालेमा देखिएका मूलभूत रुपमा सङ्गठनात्मक अराजकता, वैचारिक विचलन, गुटबन्दीपूर्ण क्रियाकलाप र अवसरवाद जस्ता प्रवृत्तिजन्य समस्या हल गर्ने दिशामा एमालेले ठोस नीतिगत कदम लिन्छ ? बिधान बनाउने तर नमान्नेलाई के गर्ने ? यी र यस्ता अनेकन गम्भीर सवाल र प्रश्न एमालेका नेता कार्यकर्ता समक्ष छ । यसको चित्त बुझ्दो र चुस्त जवाफ, कार्ययोजना र नीति तयार नगर्ने हो भने अहिलेको विभाजनले एमालेमा ठुलै पराकम्पन गएको छ । यदि यस पाटोमा बेवास्ता गर्दै अहिलेकै बाटोमा हिँड्ने हो भने निकट समयमै ठूलै पराकम्पनको भूकम्प जाने निश्चित हुनेछ ।