‘प्यान्डोरा पेपर्स’: व्यक्ति धनी, सरकार गरिब !

सम्पादकीय
बेथितिको एउटा ठूलो प्रकरण विकलिक्सले सार्वजनिक ग¥यो । त्यसले सिंगो विश्वलाई तरंगित ग¥यो । त्यसपछि नेपालमा नेपालिक्स नामबाट अर्को भ्रष्टाचार प्रकरण खुलासा भयो । अहिले ‘प्यान्डोरा पेपर्स’ नाम दिएर गैरकानूनी रूपमा धन आर्जनको नयाँ खुलासा गरिएको छ । अवैध धन लुकाउन सजिलो मानिने मुलुकमा नाम मात्रका कम्पनी खडा गरेर गोप्य लगानी, कारोबार र शेयर खरीद–बिक्री गर्ने काममा नेपाली पनि संलग्न रहेको तथ्य सार्वजनिक छ । आईसीआईजे सहित विश्वभरका १४० भन्दा बढी सञ्चार माध्यमको सहकार्यमा ‘प्यान्डोरा पेपर्स’ नाम दिएको खुलासामा नेपालका दुई ठूला व्यापारिक घराना– चौधरी ग्रुप र गोल्छा अर्गनाइजेसन सम्बद्ध व्यक्ति त्यस्तो कार्यमा संलग्न भएको पाइएको छ ।

प्रचलित नियम अनुसार गैरआवासीय नेपालीले कुनै पनि नाममा नेपालबाट पैसा लगेर विदेशमा लगानी गर्न पाइन्न । आयकर ऐन–२०५८ ले ‘अविच्छिन्न ३६५ दिनको अवधिमा १८३ दिन वा सोभन्दा बढी नेपालमा रहेको व्यक्ति’ लाई ‘बासिन्दा व्यक्ति’ सम्झनुपर्छ भनी व्यवस्था गरेको छ । यो व्यवस्था अनुसार कुनै नेपाली नागरिक १८३ दिन विदेशमा बस्छ, त्यसपछि उसले विदेशमै आम्दानी गर्छ भने त्यहाँ लगानी गर्न पाउँछ । यसबाहेक नेपाली नागरिकको विदेशमा लगानी गैरकानूनी हो । अर्थात् ‘विदेशमा लगानी गर्न प्रतिबन्ध लगाउने ऐन–२०२१’ अनुसार कुनै पनि नेपाली नागरिकले विदेशका बैंकमा खाता खोल्नेदेखि कुनै पनि कम्पनीमा लगानी गर्न पाउँदैनन् । ऐन विपरीत काम गरेमा ‘बिगो बमोजिम जरिवाना, ६ महीना कैद वा दुवै सजाय’ हुने व्यवस्था छ । तर, अमेरिकाको वासिङ्टन डीसीस्थित अन्तर्राष्ट्रिय खोज पत्रकारको संयन्त्र ‘इन्टरनेशनल कन्सोर्टियम अफ इन्भेष्टिगेटिभ जर्नालिष्ट’ (आईसीआईजे)ले ‘खोज पत्रकारिता केन्द्र (खोपके) नेपाल’लाई उपलब्ध गराएको कागजात अनुसार नेपालका एकमात्र अर्बपति विनोद चौधरीको समूहको नाममा ट्याक्स हेभन (कर प्रणाली पारदर्शी नहुने र जवाफदेही पनि नखोजिने) मुलुक ब्रिटिश भर्जिन आइल्याण्डमा कम्पनी खोली विभिन्न देशमा कारोबार गरेको पाइएको छ । अफसोर कम्पनी खोलेर कारोबार गर्नेमा नेपालको अर्को ठूलो व्यापारिक घराना गोल्छा अर्गनाइजेसन पनि छ । यसका साथै खोज पत्रकारिता केन्द्रकै यसअघिको खुलासा नेपालिक्समा उल्लेख भएका अजयराज सुमार्गी, अर्जुनप्रसाद शर्मा र किशोर रानाको लगानीमा थप विदेशी कम्पनी पनि सञ्चालनमा रहेको तथ्य फेला परेको छ ।

देश दुनियाँ ठग्ने तर धनी बन्ने आशक्तिले यस्ता कैयन दुश्कर्म भएका छन् । जहाँ राज्यको ध्यान दृष्टि त पुगेको छैन नै, पुगेको भए पनि अनेक दबाब, प्रभाव, बार्गेनिङमा राज्यका निकाय, नेता र कर्मचारी सरिक छन् । गैरआवासीय नेपालीले पनि कर छली गर्न सजिलो मानिने, सम्पत्तिको स्रोत खुलाउन नपर्ने र अवैध आर्जनबाट प्राप्त सम्पत्ति समेत लुकाउन सजिलो ठानिने ट्याक्स हेभन मुलुकमा लगानी गरेको देखिनु अपारदर्शी कारोबार र वैधताका दृष्टिले गम्भीर प्रश्न हो । यो किन भने अफशोर कारोबारले सम्बन्धित देशमा असमानता र गरीबी बढाउनेदेखि कर बापत आउनुपर्ने रकम मुलुकले गुमाउँछ । यस्तो कारोबारबाट व्यापारी, नेता, सरकारी अधिकारी र अपराधीहरू यसबाट फाइदा उठाउँछन् । जब धनी र शक्तिशालीले देश लुट्न थाल्छन्, तब देश र समाज अनेक संकटले ग्रसित हुन्छ । मूलभूत रूपमा संसारका सबै खराबीलाई व्यवस्थामा भित्राइन्छ र, त्यो व्यवस्थाको उद्देश्य केही व्यक्तिलाई समृद्ध बनाउनु भन्दा अर्को हुँदैन । यसबाट नेपाल मुक्त हुन ‘प्यान्डोरा पेपर्स’ले सार्वजनिक गरेको तथ्यलाई गम्भीरताका साथ लिनुपर्छ र यस्ता अवैध धन्दा तत्काल रोक्नुपर्दछ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *