घुम्दै हुनुहुन्छ ? ख्याल गर्नुस् है !

सम्पादकीय
यो समय र सिजन घुम्नका लागि उपर्युक्त मानिन्छ । बर्खायाम क्रमशः सकिने, मौसम खुल्ने, सुन्दर हराभरा दृश्यहरु देखिने भएकाले नेपालको हर बिबिधतायुक्त भूगोल धेरैका लागि आकर्षणको विषय बन्छ । यसमा नेपालीहरुको महान पर्व बडादसैं, यस समयमा मिल्ने सार्वजनिक विदा लगायतका कारण पर्यटकीय गाउँ ठाउँ र गन्तव्य घुम्नेहरुको निकै भिड लाग्छ । कोरोना भाइरस (कोभिड १९) का कारण करीब दुई वर्षदेखि घर र सीमित घेरामा कैद भएर बस्न बाध्य नेपालीहरु अहिले घुम्ने निस्केका छन् । तर, बडादसैंको मुख्य दिन टीका सकिए सँगै निरन्तरको डरलाग्दो झरीले यात्रा खल्लो त बनाएको छ नै, यात्रा थप जोखिमपूर्ण समेत बनेको छ । कति स्थानमा यात्राकै क्रममा अप्रिय घटना भइसकेको छ ।

तीन दिनदेखि परेको अविरल वर्षाले पहाडी र हिमाली क्षेत्रम बाढी पहिरो गएको छ भने तराई क्षेत्र डुबानमा छ । गुल्मीमा सोमबार बाढी आएकै बेला खोला तर्ने क्रममा यात्रुवाहक जीप नै बगाइदिएको दृश्य कहालीलाग्दो थियो । मंगलबार पनि देशभरका दर्जनौ बजार र बस्तीहरु डुबानमा परेका छन् । देशका मुख्य राजमार्ग सहित ग्रामीण सडकहरु अवरुद्ध बनेका छन् । बाढी, डुबानबाट अप्रिय घटना रोक्न बनाइएका बाँधहरु भत्किएका छन् । मौसम पूर्वानुमान शाखाले अझै तीन दिन झरी पर्ने बताइरहेको छ । हुन त मौसम विभागले दसैंको दिननै केही दिन वर्षा हुने अनुमान गरिसकेको थियो । यही कारण कतिले आफ्नो दसैंमा बिभिन्न स्थानमा घुम्ने जाने यात्रा स्थगित गरे, जुन राम्रो पनि भयो । जो झरी, बादल, वर्षाका बाबजुद पनि यात्रा आनन्दको हुटहुटीले भौगोलिक दुरीका हिसाबले टाढा र जटिलतालाई छिचोल्दै निस्किए । उनीहरुले आनन्द मात्रै होइन, अरु बेलाको तुलनामा वर्षाका कारण हिलाम्य र अवरुद्ध सडकले सास्ती समेत पाइरहेका छन् ।

घुम्नु केवल घुम्नु मात्र होइन । यसले जीवनमा दिने आनन्द, अनुभव, सिकाई र उर्जा अतुलनीय हुन्छन् । जो धेरै घुम्छ, उसले बढी नै जीवन, समाज र देश बुझ्दछ । उसको चेतना, सोचको दायरा नै धेरै फराकिलो उच्च कोटीको बन्दछ । यसकारण समय मिलाएर घुम्नु राम्रो कुरा हो । पछिल्लो समय नेपालमा घुम्ने संस्कारमा उल्लेख्य बदलाव आएको पनि छ । तर, अहिले दसैं मनाएर घुम्न निस्केकाहरुका लागि मौसम र प्रकृति निकै चूनौतिपूर्ण बनेर आएको छ । यसर्थ यात्रामा लिने आनन्दमा मात्र होइन, सडक र वर्षाका कारण आउने बाढी, पहिरो जस्ता प्राकृतिक विपत्तिबाट जोगिएर सचेततापूर्वक यात्रा गर्न जरुरी छ । घुम्न जानु भन्दा अगाडि, गएका बेला र गए पश्चातको पूर्ववत योजना सहित घुम्ने सोच र संस्कार हामीकहाँ अझै बनेको छैन । त्यसैले यात्रा बढी कष्टप्रद पनि बन्दछ । अहिले देशका बिभिन्न भाग पैदल, निजी र सार्वजनिक सवारी साधन मार्फत् घुमिरहेकाहरुले मौसम र प्राकृतिक विपत्तिलाई सामान्य ठानेर खेलाची गर्ने भूल गर्नुहुन्न । घुम्ने संस्कृतिलाई बढावा दिने अभियानमा सरिक सबैमा सुखद र सुरक्षित यात्राको कामना ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *