पहाडमा पहिरो र तराईमा डुबान कहिले सम्म ?

सम्पादकीय
नेपालबाट वर्षा बाहिरिएको चर्चा परिचर्चा र अनुमानका बिच दसैं लगत्तै निरन्तर भारी वर्षा भइरहेको छ । यसले पहाडी र हिमाली क्षेत्रमा बाढी, पहिरो र तराईका क्षेत्रमा डुबान निम्त्याइरहेको छ । आइतबार रातिदेखि परेको अविरल वर्षाका कारण कैयन बस्ती डुबानमा परेको छ । मुलुकका विभिन्न क्षेत्रमा परेको भारी वर्षापछि आएको बाढी पहिरो र डुबानमा परेर बुधबार सम्म ४८ जनाले ज्यान गुमाएका छन् भने ३१ जना वेपत्ता भएका छन् । गृह मन्त्रालयका अनुसार मृत्यु हुनेमा सबैभन्दा बढी इलाममा ११ र डोटीमा नौ जना छन् । पहिरामा परेर सबै भन्दा बढी बझाङमा २३ जना बेपत्ता भएका छन् । देशभरका मुख्य राजमार्गदेखि अरु शाखा सयौं सडकहरु अवरुद्ध बनेका छन् ।

हरेक बर्खायाममा नेपाली समाजको एउटा दुखद नियति नै बनेको छ कि पहाडी र हिमाली जिल्लामा बाढी, पहिरोको विपद्ले वर्षेनी सास्ती मात्र होइन, दर्जनौ मानिसको ज्यान लिइरहेको छ भने तराईमा सयौं घर डुबानमा परेर विस्थापित मात्र होइन, अकालमै मृत्यु बेहोर्नुपर्ने नमिठो विगत र वर्तमान छ । यसको पछिल्लो परिदृश्य विगत केही दिन यता अविरल भएको झरी, यसले निम्त्याएका विपद्का घटना र क्षतिलाई हेरे पुग्दछ । हरेक वर्ष एकै किसिमको कहाली लाग्दा विपदका घटना हुन्छ, र पनि किन यसको रोकथाम र नियन्त्रणमा सरकारले गम्भीरतापूर्वक कदम चाल्दैन ? मृत्यु भए पछि शोक वक्तव्य मात्र जारी गर्ने लहड तीन तहको सरकार, राजनीतिक दल र नेताहरुले चलाउँछन् । तर, विपद्को पूर्ववत योजनामा योजनावद्ध कदम चालेको देखिन्न ।

हुन त विपत्ति बाजा बजाएर आउँदैन । अधिकांश विपत्तिका घटना रोक्न सकिदैन पनि । भवितव्यका रुपमा आउने बाढी, पहिरो, भुक्षय जस्ता प्राकृतिक प्रकोपका घटना रोक्न कठिन पनि हुन्छ । तर, मानवजन्य क्रियाकलापले अहिले दर्जनौ विपत्तिका घटना निम्ताइरहेको छ । चाहे त्यो मनपरी सडक निर्माण गर्ने सवालमा होस् या अरु भौतिक संरचना निर्माण गर्ने अनुक्रममा होस् । वातावरणीय प्रभावको यथेष्ट मुल्यांकन विश्लेषण नगरी जथाभावी गर्दा दुर्घटना र विपदका घटनाले जनधनलको ठूलो क्षति भइरहेको छ । यसबाट समयमै पाठ सिकेर सही कदम नचाल्ने हो भने भोलीका दिनमा पनि वर्षौदेखि पहाड र हिमाली जिल्लामा बाढी पहिरो र तराईमा डुबानको समस्यता बेहोरिरहनु पर्नेछ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *