सम्पादकीय
देशमा अनेक विपद्को सामना गर्नुपर्ने एक पछि अर्को परिघटनाको लहड छ । विश्वव्यापी कोरोना महामारीको मार त दुई वर्ष देखि झेलिरहनु परेको छ नै, त्यसबाहेक बर्खायाम सुरु भए लगत्तै बाढीको बितण्डादेखि विपदका अनेकन घटना नेपाली नागरिकले बेहोर्नुप¥यो । यही अनुक्रममा झाडापखालाको प्रकोप समेत देशमा देखियो,केहीले ज्यान समेत गुमाए । बर्खायामको मनसुन बाहिरिएको अनुमानका बिच नेपालीहरुको बडादसैं पर्व मनाइयो । घुम्ने जानेहरु यात्रामा निस्किए । तर, यही बेला भारी वर्षा भयो । जसले पहाड र हिमाली भेगमा बाढी पहिरोको विपद् निम्तियो भने तराई क्षेत्र डुबानमा प¥यो । १ सय बढीले ज्यान गुमाए । एक हजार भन्दा बढी परिवार विस्थापित बने । हजारौ किसानहरुले घर भित्राउन थालेको धानबालीमा ठूलो क्षति पुग्यो ।
नेपाल कृषि प्रधान देश हो । कृषि कर्म गरेरै जीविकोपार्जन गर्ने न्युन र मध्यमवर्गिय परिवारलाई अहिलेको बेमौसमी वर्षाले ठूलो बज्रपात परेको छ । मानो रोपेर मुरी उब्जाउने बेला लहलह भएको बाली काटेर भित्राउने बेला झरीले बित्यास पारे पछिको पीडा किसानहरुलाई कति होला ? निश्चय पनि अत्यन्त दुखद छ । छिटो पाक्ने गरी लगाइएका धानहरु खेतमै पानीको तालमा भिजेका छन् भने केही ढिलो पाक्ने लहलह भएर झुलिरहेका धानबाली हावाले ढलाइदिएको छ । अहिले काटेर भिजेका धान पसाउने र उम्रिने सन्त्रासमा किसान चिन्तित छन् । यसले उत्पादनमा के कति असर गर्नेछ ? त्यसले पनि धान उत्पादक कृषकहरुको भोक निद्रा हराएको छ ।
बैमौसमी वर्षाले देशमा भोकमरी निम्त्याउने चिन्ता एकातिर छ भने अर्को तर्फ धानको बीउ नजोगिने हो कि भन्ने पिरलो पनि छ । अहिलेको झरीले धेरै ठूलो बित्यास निम्त्याएको छ । खासगरी वर्षभर दुःखजिलो गरेर उब्जाएको धान भित्राउन नपाउँदाको तत्कालको पीडा र भोलिको गर्जोले किसानहरु तनाबग्रस्त छन् । यसमा अझ बढी त अडिया कमाएर धान लगाउने श्रमजीविहरु दुखित र समस्यमा छन् । यस्तो बेलामा तीन तहको सरकारले विशेष राहत प्याकेज ल्याउनु पर्नेमा चौतर्फी आवाज उठिरहेको छ । तर, सरकारले अहिलेको विपद्लाई गम्भीरतापूर्वक लिएको देखिएको छैन । किसानका पीडामा समयमै प्रत्याभूत हुने गरी राज्यले विशेष राहत कार्यक्रम ल्याउनु पर्दछ । यसका लागि सबैले पहल र दबाब दिन जरुरी छ ।