तिहारको शुभकामना

सम्पादकीय
नेपालीहरुको दोस्रो ठूलो पर्व, उज्यालो चाडका रुपमा लिइने तिहार अर्थात् दीपावली पर्व । नेपाली समाजका अनगिन्ती पर्वहरुमा पृथक बहाव लिएर घर आँगनमा भित्रिएको छ तिहार । बडादसैंको लामो रौनक सकिएको केही समयमै तिहार फरक रौनकता बोकेर आउँदछ । पाँच दिन सम्म मनाइने तिहारको प्रत्येक दिनको फरक फरक महत्व र विशेषता छ । दसैं तिहार यसकारण पनि फरक महुशुस हुन्छ कि यसबेलाको मौसममा खुल्लापन, सुन्दर मनोरम दृश्यहरु । घुम्नका लागि उपर्युक्त समय समेत भएकाले गाउँघर र पर्यटकीय सम्भावना बोकेका ठाउँहरुमा भिड समेत देखिन्छ । तिहारको यमपञ्चक सुरु हुँदै गर्दा बागलुङ र अन्य शहर बजारका पसल र चोकहरुमा टीका, रुमाल, अरु सामग्रीको किनबेचको लहर छ । जसले पनि तिहार आइसकेको सहजै प्रतित हुन्छ ।

तिहारमा यमपञ्चकका बारेमा भिन्न भिन्न ऐतिहासिक कथन, जनविश्वास छ । विशेषतः दिदीबहिनी र दाजुभाईहरुको सम्बन्धका लागि प्रख्यात छ । बडादसैंमा टीका जमारा लगाएर मान्यजनबाट आर्शिवाद लिने कुरालाई प्रमुखताका साथ लिइन्छ भने तिहारमा दिदीबहिनीको हातबाट तीन धर्के टीका लगाउन देश विदेशबाट दाजुभाईहरु आफ्ना पुख्र्यौली घर गाउँ आउँछन् । यसका अतिरिक्त तिहारको अवसरमा खेलिने देउसी भैलोले नेपालको सांस्कृतिक विविधतालाई कति हो कति उचाईमा पु¥याएको आभाष हुन्छ । भलै पछिल्लो समय देउसी भैलोमा पनि आधुनिकताको प्रभाव हाबी देखिन थालेको छ । परम्परागत मौलिक स्वादहरु क्रमशः ह्रास हुन थालेका छन् । तिहारका क्रममा मनाइने काग पुजा, कुकुर पुजा, गाई गोरु पुजाले एकातिर मानव र पशुपंक्षी बीचको प्रगाढ सम्बन्धको चित्र प्रस्तुत गर्छ भने अर्काे तिर दाजुभाइ तथा दिदीबहिनी बीचको आत्मीय र पवित्र स्नेह एवम् सम्बन्धलाई पनि यसले छर्लङ्ग पार्दछ । यसर्थ तिहारको आफ्नै मौलिकता र महत्व समाजमा आजको दिनमा पनि बढ्दो क्रममा छ ।

पछिल्लो समय मानिसहरु डिजिटल जिन्दगी बिताउनमा व्यस्त छन् । यसले दाजुभाई दिदीबहिनीको मात्र होइन, सिंगो परिवार र समाजसँगको सम्बन्धलाई पनि सतही बनाउन थालेको छ । एकछिन कल्पना गरौं त, के नेपालीहरुको महान पर्व बडादसैं, तिहार जस्ता सांस्कृतिक पर्व नभएको भए बिभिन्न शहर र परदेशिएका नेपालीहरु कति समयमा आउथे ? र पारिवारिक जमघट हुन्थ्यो होला ? यस्ता पर्व आफ्नो घर र परिवार सम्झेर जमघट हुने मिठो बाहना बनेका छन् । यसर्थ यस्ता चाडपर्वहरुको महत्वलाई समाजमा अझ बढावा दिनुपर्नेछ । नत्र दसैं, तिहार जस्ता महान पर्वहरु नभएको भए सायदै मानिसहरु आफ्नो घर, परिवार, दिदीबहिनी, दाजुभाई बीचको सम्बन्ध र भेटघाट पनि प्रविधि (फेसबुक,भाइबर,इमो लगायत)मा सीमित हुँदो हो । किनकी अहिले बालकदेखि बृद्ध सम्मका मानिसलाई पैसा र प्रविधिको मोहले यसरी नियन्त्रित गरेको छ की जहाँबाट उनीहरु निस्किन निकै कठिन अवस्था देखिन्छ । अतः यस्ता पर्वहरुको ऐतिहासिकता, महत्वलाई अझै बढावा दिन सकारात्मक पहल गरौ । तपाई सबैमा तिहारको धेरै धेरै शुभकामना ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *