रेडक्रसः पवित्र संस्था,प्रदुषित खेल

सम्पादकीय
‘जहाँ दुःख र विपद, त्यहाँ रेडक्रस’ भन्ने विश्वव्यापी सुन्दर नारा थियो । यो नारा त अहिले पनि लगाइएकै छ तर रेडक्रसकर्मीले सुन्दर नारा लगाइरहे पनि पवित्र संस्था भित्रको प्रदुषित राजनीतिक खेलले रेडक्रस र यसमा क्रियाशीलहरुको चरित्र सर्वत्र उदांगो बनाइदिएको छ । कुनै बेला रेडक्रसको यस्तो विश्वास,भरोसा र क्रेज थियो यसमा आवद्ध हुन मानिसहरु लालायित हुन्थे । यसको सदस्यता पाउँदा सम्म पनि गर्व गर्थे । मौसमी, बेमौसमी विपद्हरुमा रेडक्रसले गर्ने उद्धार, तत्कालको राहत, व्यवस्थापनका कार्य निकै प्रशंसनीय हुन्थे । बिडम्बना, लामो राजनीतिक संघर्ष, बलिदान, त्याग र समर्पण पश्चात व्यवस्था परिवर्तन भए पनि पवित्र संस्था रेडक्रस भने झन् ठूलो फोहोरी राजनीति र स्वार्थ समूहको चक्रब्यूहमा फस्यो । अन्ततः रेडक्रस विघटन र पुर्नगठन, रेडक्रसकर्मी बिच बत्तव्यबाजी चलिरहेको छ ।

रेडक्रस भित्रको समस्या, संकट, सकसको पछिल्लो उदाहरण रेडक्रस बागलुङ शाखा हो । नेपाल रेडक्रस सोसाइटी केन्द्रीय कार्यसमितिले वैधानिक दायित्व पालना नगरेको भन्दै जिल्ला कार्यसमिति बागलुङको कार्यसमिति विघटन गरिदिएको छ । केन्द्रीय कार्यसमितिको कात्तिक २३ गते सम्पन्न वैठकले नेपाल रेडक्रस सोसाइटीको प्रचलित विधानको दफा १७ (क) ले व्यवस्था गरेको केन्द्रीय कार्यसमितिमा निहित अधिकार प्रयोग गरी दफा ५३ (४) घ बमोजिम जिल्ला शाखाको वर्तमान कार्यसमिति विघटन गरेको बताएको छ । र केन्द्रीय समितिले वर्तमान कार्यसमिति विघटन गरी विधानको दफा ३५ (१) बमोजित जिल्ला तदर्थ समिति गठन गरेको छ । विघटन बागलुङमा मात्र होइन, बागलुङकै जस्तै समस्या रहेको जिकिर सहित मोरङ, सुनसरी, सिरहा, पर्सा, रौतहट, चितवन, मकवानपुर, काठमाडौं, गोरखा, रोल्पा, जाजरकोट, रुकुम पश्चिम, हुम्ला, कैलाली जिल्ला शाखामा नयाँ तदर्थ समिति गठन गरेको छ । यसमा पनि केन्द्रीय सभापति र महामन्त्री बिचमा दोहोरी चलिरहेको छ ।

रेडक्रस आफैमा पवित्र संस्था हो । पछिल्लो समय केन्द्रीय समितिमा पनि गम्भीर संकट आए पछि सरकारले नै हस्तक्षेप गर्ने अवस्था र परिवेश बन्यो । जिल्ला शाखा, उपशाखाहरु पनि संस्थाको उद्धेश्य, भावना, मर्म अनुसार सञ्चालित छैनन् । रेडक्रसमा आवद्ध भएकाहरु पनि सकिर्ण राजनीतिको सिकार बनेर दाउपेचमा उत्रिदा रेडक्रस जस्ता संस्थाहरु कामयावी विहिन र बदनाम बनेका छन् । यस्ता सामाजिक संस्थामा नांगो राजनीति शोभनीय विषय होइन । राजनीति गर्नेहरु यस्ता संस्थामा जानै हुँदैन, गए पनि राजनीतिलाई बाहिरै राखेर संस्थाकै उद्धेश्य उन्मुख गतिविधिमा टेवा पु¥याउने उद्घोष सहित लाग्नुपर्छ । अन्यथा, खराब सोच, नियत बोकेका पात्र र प्रवृत्तिले पवित्र संस्थाहरु बदनाम मात्र होइन, विघटन गर्ने र खराब खेलमै रमाउने अवस्था बन्दछ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *