नेपाली महिला क्रिकेट टोलीलाई बधाई

सम्पादकीय
क्रिकेट खेलका बारेमा केही वर्ष अघिसम्म नेपालमा एक उक्ति अर्थात् किस्सा निकै चर्चित थियो–‘क्रिकेट खेल भनेको मुर्खले खेल्ने र महामुर्खले हेर्ने खेल हो ।’ क्रिकेट खेल प्रति हेर्ने दृष्टिकोण निकै संकुचित र निकृष्ट खालको थियो । माथिको उक्तिले पनि यसलाई पुष्टि गर्दछ । तर, केही वर्षमा नेपाली क्रिकेट खेलले यस्ता ऐतिहासिक सफलता हासिल ग¥यो कि जसले छोटो समयमै नेपाली समाजमा क्रिकेट खेलको क्रेज उल्लेख्य बढायो । छिमेकी देश भारतमा निकै लोकप्रिय खेलको रुपमा हेरिने क्रिकेट खेलको आकर्षण र लोकप्रियता यसरी बढ्यो कि यो खेल सुगम राजधानी र सहरहरुमा मात्र सीमित भएन । दुर दराजका गाउँहरुमा पनि खेल्न थालिएको छ ।

क्रिकेट खेलको आकर्षण बढ्नुमा नेपाली क्रिकेट खेलमा नेपाली पुरुष क्रिकेट र महिला क्रिकेट टिमले प्राप्त गरेको सफलता नै मुख्य कारक हो । नेपाली पुरुष क्रिकेट टिमले त एकपछि अर्को सफलता हासिल गर्दै विश्व क्रिकेटमा सानो देश नेपालको पहिचान दिलायो । अमेरिका जस्ता शक्तिशाली देशलाई क्रिकेटमा पराजित गरेर इतिहास रच्यो । टी–२० अन्तर्राष्ट्रिय सिरिजमा नेपाली महिला टोलीले पनि इतिहास रचेको छ । कतारविरूद्धको तीन खेलको सिरिज ३–० ले क्लिनस्विप गर्दै नेपालले इतिहास रचेको हो । बिहीबार भएको तेस्रो खेलमा नेपालले कतारलाई एक सय नौ रनको पराजित गरेको छ । नेपालले दिएको एक सय ६५ रनको लक्ष्य पछ्याएको कतार निर्धारित २० ओभरमा ७ विकेट गुमाउन ५५ रनमा समेटियो । आइसिसी महिला टी–२० विश्वकपको एसियाली छनोटको तयारीस्वरूप नेपालले कतारसँग तीन खेलको सिरिज खेलेको थियो ।

पहिले क्रिकेट खेललाई हेर्ने संकुचित दृष्टिकोण जस्तै नेपाली समाजमा महिलालाई हेर्ने सोच र दृष्टिकोणमा पनि उस्तै संकुचन देखिन्छ । महिला प्रतिको साँघुरा सोचाई, व्यवहार आजको दिनमा पनि व्याप्त छ । त्यही समाजमा अनेकन बाधा, व्यवधान र चूनौति छिचोल्दै उदाएका महिला क्रिकेटरहरुले टी–२० अन्तर्राष्ट्रिय सिरिज समेत जितेर इतिहास कायम गर्नु केबल खेल जित्नु मात्र होइन । पितृ सतात्मक सोचले ग्रस्त समाज प्रतिको एक विद्रोह, संघर्ष र सफलता पनि हो । नेपाली महिला क्रिकेटमा राज्यका तर्फबाट यथेष्ट लगानी नहुँदा नहुँदै पनि आज जुन सफलता हासिल गरिरहेका छन्, त्यो नेपालका लागि गौरवको विषय हो । अब सरकारले यस्ता सफलतालाई क्षणिक आत्मरतिको विषय नबनाई यसलाई भोलिको सफलताको आधार र भविष्य निर्धारित गर्ने गरि खेलमैत्री बातावरण सिर्जना गर्नुपर्छ । क्रिकेट मात्र होइन, स्वस्थ नागरिक उत्पादन र देशको पहिचान सँग जोडिएको खेल क्षेत्रलाई सदैव उपेक्षित दृष्टिकोणले हेर्ने प्रवृत्ति अन्त्य गर्न आवश्यक छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *