पत्रकारितामा पेशागत शुद्धिकरणको सवाल


सम्पादकीय : नेपालमा एक विषय, वाणी, बहस निकै चर्चित र मननीय छ–‘नेपालीहरु आफू र आफ्नो क्षेत्रको जिम्मेवारी निर्वाह गर्ने बाहेक अरु सबै जान्दछन् ।’ देशमा यस्ता पात्र र प्रवृत्ति हावी छ कि हरेक क्षेत्रमा सम्बद्ध व्यक्तिहरु आफ्नो कर्तव्य र दायित्व जे हो त्यो निर्वाह गर्दैनन्, जान्दैनन्, गर्न नसकेकोमा जिम्मेवारीबोध महुशुस गर्दैनन्, तर, अरुका बारेमा आलोचना, टिप्पणी र गुनासो गर्न भने कसैले रोक्न सक्दैनन् । जसले गर्दा हर क्षेत्र बेथिति ग्रस्त छ । प्रदुषित राजनीतिले आक्रान्त नबनाएको कुनै क्षेत्र, भूगोल छैन । सर्वत्र बिसंगत बनेको छ । यसले सभ्य, समुन्नत, समृद्ध समाज र देश निर्माणमा बाधा बनाएको छ । यो देशकै लागि दुर्भाग्य हो ।


राजनीतिले चाहे पत्रकारिता होस् या कानुन व्यवसायह होस् या परोपकार होस् या कलाकारिता होस्् । हरजसोमा राजनीति मिश्रित छ । अहिले नेपालमा राजनीतिक दलहरुको महाधिवेशनको चहल पहल छ । नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र महाधिवेशनमा होमिएका छन् । त्यसको सुरुवाति चरणमा वडा, गाउँ, नगर तह हुँदै क्षेत्र र जिल्ला तहको चुनावका क्रममा छन् । यसमा पत्रकारहरु पनि बिभिन्न पदमा उम्मेदवारको रुपमा देखिएका छन् भने कतिपय स्थानमा जिम्मेवार पदमै निर्वाचित समेत भइसकेका छन् । यसले सिंगो पत्रकारितामा प्रश्न उठिरहेको छ । यसमा नेपाल पत्रकार महासंघले राजनीतिक दलको कार्यकारी भूमिकामा निर्वाचित भएका आफ्ना विभिन्न समितिका पदाधिकारी र सदस्यलाई राजीनामा दिन आग्रह गरेको छ । गत भदौ ९ गते मकवानपुरको दामन बैठकबाट पारित महासंघको तीन वर्षे कार्ययोजना को बुँदा ३.५. मा ‘राजनीतिक दलको प्रचार विभाग वा प्रेस हेर्ने गरी बनेका समितिहरूमा रहेका महासंघका सदस्यको हकमा बाहेक राजनीतिक दलको कार्यकारी भूमिकामा काम गरिरहेकाहरूको सदस्यता महासंघको विधानअनुसार मान्य नहुने भएकाले खारेज गरिनेछ’ भन्ने व्यवस्था गरेको छ ।


पत्रकारलाई सम्बोधन गर्ने क्रममा बिभिन्न पेशा व्यवसायमा आवद्ध पत्रकार भनेर तीब्र कटाक्ष गरिन्छ । यो सिंगो पत्रकारिताको बदनाम हो । पत्रकारितामा साँच्चिकै शुद्धिकरण नगर्ने हो भने अहिले जे परिदृश्य देखिन्छ, त्यसले भोलिका दिनमा पत्रकारिता थप बदनाम हुने निश्चित प्रायः छ । यो कुनै एक दुई दलमा सीमित छैन । हरेकजसो दलमा पत्रकार आवद्ध छन् । राजनीतिमा आस्था राख्ने हर नागरिक पत्रकारको अधिकार हो तर, पत्रकारिता पेशा लगायतका पवित्र उद्धेश्य बोकेका सामाजिक संघ संस्थामा समेत राजनीति भित्राएर सिंगो संस्था बदनाम गर्ने प्रवृत्ति कुनै हिसाबले राम्रो होइन । यसमा अहिले राजनीतिमा पदिय जिम्मेवार लिएका या खुल्ला राजनीतिमा लाग्न इच्छुक जो कोहीले उच्च नैतिकता प्रदर्शन गर्न सक्नुपर्छ । पत्रकारितामा शुद्धिकरणको जरुर खाँचो छ । यसमा पत्रकार महासंघले पनि बिज्ञप्ती प्रकाशन मात्र होइन, गम्भीरतापूर्वक यथोचित कदम उठाउन आवश्यक छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *