सम्पादकीय
भनिन्छ,–‘नेपालमा सियो समेत उत्पादन हुँदैन, बाहिरबाट आयात गर्नुपर्छ ।’ देश जति सुन्दर छ, अरु धेरै कुरा सुन्दर बनाउन नसकेकोमा अधिक नेपाली चिन्तित र निराश छन् । नेपाल परनिर्भरताको उत्कर्षमै छ । नेपालमा खपत हुने सबैजसो वस्तु विदेशबाट आउने गरेको छ । देशमा आयात अधिक मात्रामा छ, तर निर्यातको अवस्था दयनीय छ । यही निराशाजनक अवस्थाका बिच पाँच प्रकारका वस्तु उत्पादनमा भने नेपाल आत्मनिर्भर बन्नसक्ने देखिएको छ । उद्योग विभागले तयार पारेको अध्ययन प्रतिवेदन अनुसार चिया, पेन्ट्स, केबल तार, जुत्ताचप्पल र जस्तापाताको उत्पादनमा नेपाल आत्मनिर्भर बन्ने सम्भावना देखिएको उल्लेख छ । नेपालमा भइरहेको उत्पादन र बजार मागले यी वस्तुमा नेपाल आत्मनिर्भर बन्न सक्ने देखिएको हो । तर, यसका लागि अझै धेरै लगानीको जरुरी छ ।
चियामा आत्मनिर्भर बनिरहेको नेपालमा हाल १४६ वटा चिया स्टेट र १४ हजार १४ जना साना चिया किसान छन् । नेपालमा उत्पादित चिया भारत, चिन, हङकङ, अष्ट्रेलिया, जापान, यूरोप र अमेरिकामा समेत निर्यात हुने गरेको छ । यस्तै,नेपालमा कूल २५ वटा विद्युतीय केबल उत्पादन गर्ने उद्योग छन् । यी उद्योगले आफ्नो उत्पादन क्षमताको ४० प्रतिशत मात्रै उपयोग गरिरहेका छन् । नेपालमा कन्डक्टर भारत र चीनबाट आयात हुँदै आएको छ । केबल र कन्डक्टरमा कच्चा पदार्थ थाइल्याण्ड, दक्षिण कोरिया र जर्मनीबाट आयात हुन्छ । केबल र कन्डक्टर उद्योगमा प्रत्यक्ष रूपमा एक हजार र अप्रत्यक्षरूपमा पाँच हजार जनाले रोजगारी पाएका छन् । सरकारको स्वामित्वमा रहेको बाँसबारी छालाजुत्ता कारखाना निजीकरण भएपछि नेपालमा फुट्वेयर व्यवसाय विस्तार हुन थाल्यो । फुटवेयर व्यवसायमा ६ हजार जनाले प्रत्यक्ष रोजगारी पाएका छन् । रंग (पेन्ट्स) उद्योगमा पनि आत्मनिर्भरको बाटोमा नेपाल छ । रंग उद्योगको कूल क्षमता २ लाख मेट्रिक टन छ भने वार्षिक उत्पादन १ लाख १८ हजार मेट्रिकटन छ । रंग उद्योगले पाँच हजार ६०० जनालाई प्रत्यक्ष रोजगारी दिएको छ । जस्तापाता तर्फ पनि सकारात्मक संकेत छ । हाल नेपालमा पाँच जस्तापाता उद्योग सञ्चालनमा छन् । नेपालका जस्तापाता उद्योगको कूल क्षमता ६ लाख मेट्रिकटन भएपनि वार्षिक २ लाख ९८ हजार मेट्रिकटन मात्रै उत्पादन हुँदै आएको छ । जस्तापाता उद्योगमा प्रत्यक्ष रूपमा १५ सय जनाले रोजगारी पाएका छन् ।
देशलाई आत्मनिर्भर समृद्ध बनाउने भाषण, नारा सबैजसो राजनीतिक दल र नेताहरुले गर्दै आएका छन् । तर, व्यवहारको कसीमा हेर्ने हो भने आजको २१ औं शताब्दीमा पनि उदेक लाग्दो अवस्था देखिन्छ । भारतिय नाकाबन्दीका बेला स्वयम् व्यक्ति र देश आत्मनिर्भर बनाउने बहस तीब्र बने पनि यसको व्यवहारिक कार्यान्वयनमा चरम समस्या देखिन्छ । यसमा नेपाल सरकार, प्रदेश सरकार र स्थानीय तहले पनि योजनाबद्ध विकासको खाका तयार गर्न सकेको छैन । फुटकर विकासमा बजेट खर्चिए पनि गाउँ, जिल्ला र देश आत्मनिर्भर बन्ने बनाउने तर्फ अब पनि तत्कालीन र दीर्घकालीन योजना नबनाउने हो भने देश अझ कैयन वर्ष पछि पर्नेछ । जतिबेला हाम्रा भावी पुस्ताले अहिलेको पुस्तालाई धिक्कार्ने बाहेक अर्को विकल्प हुने छैन ।