दल र देश गुटको सिकार नबनोस्

सम्पादकीय
नेपाली राजनीति जति अस्थिर बन्दो छ, त्यति देश अस्थिरताको भूमरीमा फस्दछ । अहिले नेपालका मुख्य राजनीतिक दलहरुको महाधिवेशनको देशभर रौनकता छ । मुुलुकको मुख्य दल नेकपा एमालेले त चितवनको सौराहामा दशौं महाधिवेशन नयाँ नेतृत्व चयन सहित सम्पन्न गर्ने चरणमा छ भने नेपाली कांग्रेस वडा, गाउँ, नगर अधिवेशन सकेर धमाधम जिल्ला अधिवेशन मार्फत नेतृत्व चयन गर्ने अनुक्रममा छ । उता, नेकपा माओवादी केन्द्र पनि वडा अधिवेशन हुँदै पालिकाहरुको अधिवेशन मार्फत नेतृत्व चयनमा छ । राप्रपा नेपाल पनि महाधिवेशनमा होमिएको छ । अरु केही साना दलले पनि नेतृत्व चयनका लागि अधिवेशनहरु अघि बढाइरहेका छन् । तर, यस्तो अधिवेशनमा पार्टी भित्रैको आन्तरिक प्रतिस्पर्धा पनि चरम गुटगत भइरहेको देखिएको छ । यसले भोलिका दिनमा पार्टीहरुलाई कति संगठित र गतिशील बनाउँछ भन्ने प्रश्न अहम् बनेको छ ।

नेकपा एमालेसँग त गुटहरु बिचकै विवाद, आग्रह व्यवस्थापन गर्न नसक्दा हालसालै पार्टी बिभाजन भएको ताजा अनुभव छ । केपी ओली नेतृत्वमा रहँदा माधव नेपाल, झलनाथ खनालहरुको पार्टी भित्रै अर्को सशक्त गुट बिद्यमान थियो । उक्त पार्टी सँग नेकपा माओवादी केन्द्र मिलेर नेकपा बने पछि तीन वटा समूह बने । यसबिचमा आन्तरिक विवाद उत्कर्षमा पुग्यो र विवाद हुँदै एमाले र माओवादी पहिलेकै अवस्थामा फर्किए । यसमा एमालेको माधव नेपाल समूहले नेकपा एकीकृत समाजवादी पार्टी गठन गरेको छ । नेपाली कांग्रेसमा पनि गुटहरु उस्तै शक्तिशाली बनेर बसेका छन् । वरिष्ठ नेता रामचन्द्र पौडेल, कृष्ण सिटौलाका आ आफ्ना गुट स्थापित छन् । महाधिवेशनको मिति नजिकिदै गर्दा महामन्त्री सशांक कोइराला, उपसभापति बिमलेन्द्र निधि, प्रकाशनमान सिहं लगायतका नेताहरुका पनि आ आफ्नै समूहहरु सक्रिय छन् । नेकपा माओवादी केन्द्रमा प्रचण्ड एक्लो बृहस्पति जस्ता देखिएता पनि यस भित्र नारायणकाजी श्रेष्ठ लगायतले बेला बेलामा नेतृत्वलाई टक्कर दिने गरेका छन् । राप्रपा लगायतका अरु दलहरुमा पनि बिभिन्न ढंगले गुट उपगुटहरु सक्रिय छन् ।

पार्टी, समाज र देश निर्माणमा असल नियतले गर्ने गुट अर्थात् बनाउने समूह स्वभाविक र अपरिहार्य कार्य हो । तर, हाम्रा राजनीतिक पार्टीका गुट केबल आफ्ना क्षणिक स्वार्थ अनुकुलका छन् । यस्ता गुटले पार्टी, समाज र देशको हितका खातिर बहस, छलफल, नेतृत्व भन्दा पनि आफू र आफ्ना मान्छेहरुलाई केन्द्रमा राखेर कार्य गर्छन् । यसले पार्टीलाई त गतिहिन बनाउँछ नै, समाज र देशको समृद्धि,सुशासन,जवाफदेहिता, गतिशिलतालाई पनि ब्रेक गर्छ । गुट आफैमा खराब होइन, कुनै अधिवेशन, महाधिवेशनमा नेतृत्व र राम्रो टीम चयन गर्न बन्ने समूहले राम्रै गर्छ । यद्यपि, कुनै राम्रो सोच, दुष्टिकोण र सम्भावना भएका नेतालाई सक्नकै लागि गरिने गुट दुर्भाग्यपूर्ण हो । अतः कुनै चुनावमा गुटहरु निर्माण हुनु र नेतृत्व चयन गर्नु अन्यथा विषय होइन । तर, चुनावमा भएका हार जितलाई आधार बनाएर सधैभरका लागि गुटलाई संस्थागत गर्ने, आग्रह पूर्वाग्रह साध्ने हो भने त्यो सम्बन्धित राजनीतिक दल, नेता, समाज र देशका लागि घातक हुनेछ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *