प्रतिस्पर्धामा निषेध नगरियोस्

सम्पादकीय
नेकपा एमाले विभाजनको ताजा पीडाकै सन्निकट महाधिवेशनमा होमिएको छ । चितवनको सौराहामा भव्यताका साथ लाखौं नेता,कार्यकर्ता र शुभेच्छुकका माझमा उद्घाटन कार्यक्रम गरिसकेको एमालेले महाधिवेशनमा आफ्नो शक्ति त प्रदर्शन गरेको छ नै, तर नेतृत्व चयनका सवालमा भने अनेक प्रश्न,आलोचनाले घेरिएको छ । भलै नेतृत्व चयन हुन बाँकी छ । अहिले एमाले नेतृत्वले बिशिष्ट परिस्थिति भन्दै पदाधिकारी सहित केन्द्रीय कमिटीमा सर्वसम्मत नेतृत्व चयनको पहल थालेको छ । यस प्रति एमाले नेता भीम रावल, घनाश्याम भुसाल लगायतले बिरोध र असन्तुष्टि जनाएका छन् । महाधिवेशनमा देशभरबाट आएका प्रतिनिधिले आफ्ना विवेक प्रयोग गरेर नेतृत्व चयन गर्नुपर्नेमा उनीहरुको जोड छ । यो लोकतान्त्रिक प्रणालीमा जायज र स्वभाविक आवाज हो ।

एमालेले हालसालै बिभाजन भएको क्षतिका बिचमा जे जस्तो जनप्रदर्शन र उपस्थिति गरायो । त्यसले एमाले एक शक्तिशाली पार्टी नै कायम छ भन्नेमा अब सन्देह हुने छैन । तर, एमाले नेतृत्वमा रहेका अध्यक्ष केपी शर्मा ओलीको सत्ता सरकार सञ्चालनमा होस् या पार्टी सञ्चालनमा होस्, दुवैमा स्वेच्छाचारी शैली जुन देखिन्छ । जसले पार्टी मात्र होइन, देश पनि गम्भीर संकटमा परेको आरोप उनी माथि छ । करिब दुई तिहाइ जनमत सहितको संघीय सरकार, प्रदेश सरकार त्यही प्रवृत्तिका कारण गुमाउनु परेको छ । दुई दुई पटक संसद विघटनको खराब इतिहासको पुनरावृत्ति होस् या पार्टी बिभाजन उनै कारक रहेको अभियोग छ । तर, यो पनि बिर्सिनु हुँदैन कि कुनै दिन तेस्रो बनेको पार्टीलाई पहिलो बनाउनुमा पनि अध्यक्ष ओलीको नेतृत्वदायिक भूमिका स्मरणीय छ । ओलीको देश प्रति देखिएका दृढता र समर्पणले उनी प्रतिको क्रेज पनि कम छैन । अहिले परिस्थितिबस ओली पुनः नेतृत्वमा आउने सम्भावना बलियो बनेको छ । तर, अरु नेताहरुको यथोचित व्यवस्थापनका लागि महाधिवेशनमा जे जस्तो प्रयास ओली र उनी निकटस्थ नेताहरुबाट भइरहेको छ । त्यो एक लोकतान्त्रिक पार्टीका लागि शोभनीय देखिदैन ।

पार्टी बिभाजन भएको बेला, पूर्व माओवादीहरु पनि पार्टीमा एकीकृत भएका बेला सर्वसम्मत नेतृत्व चयनको प्रयास गर्नु सकारात्मक त मान्न सकिएला । तर, महाधिवेशनमा कार्यकर्ता प्रतिनिधिले विवेक सम्मत ढंगले आफ्ना नेता चुन्न पाउने अधिकारबाट बञ्चित गरिनु लोकतन्त्रको उपहास हो । प्रतिस्पर्धामा उत्रिएर कार्यकर्ताबाट अनुमोदित भएर नेतृत्व पुग्ने नेताहरुलाई अनेक तबरले निषेधाज्ञा जारी गरिनु स्वयम् एमालेकै लागि दुर्भाग्य हो । एमाले महाधिवेशन चितवनको सौराहामा सीमित क्षेत्रमा चलिरहेको छ, यद्यपि यसले कस्तो कार्यदिशा र नेतृत्व के कसरी चयन गर्छ भन्ने सिंगो देश र विश्वले चासोका साथ हेरिरहेको छ । यस बेलामा लोकलज्जा हुने गतिविधि सहित कार्यकर्ताको विवेक र नेताहरुको आंकाक्षालाई बन्धक बनाएर एमालेले कदापि तजबीजमा नेतृत्व चयन गर्ने छैन । दृढता, इच्छा भएका सबैले नेतृत्वमा प्रतिस्पर्धा र प्रतिनिधिले विवेक प्रयोग गर्न पाउन् ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *