सम्पादकीय
अहिले राजनीतिक पार्टीहरुको अधिवेशन, महाधिवेशनको कुम्भ मेला तीव्र छ । चाहे नेकपा एमाले होस् या नेपाली कांग्रेस या माओवादी केन्द्र या राप्रपा नेपाल । सबै दल महाधिवेशन मार्फत नयाँ नेतृत्व चयनमा होमिएका छन् । लामो समयदेखि मिति सार्दै बसिरहेका दलहरु पनि संगठन सुदृढिकरण सँगै अधिवेशन महाधिवेशनमा उत्रिनुले चुनाव नजिकिएको संकेत पनि गरिरहेको छ । नयाँ संघीय व्यवस्था पश्चात भएको तीन तहको चुनावको ५ वर्ष अवधि पुरा हुनै लाग्दा फेरि थप पाँच वर्षका लागि सत्ताको बागडोर सम्हाल्ने लालसा सबै दलमा देखिन्छ । त्यसकै तयारी स्वरुप दलहरु तल्लो तह सम्मै गाउँ, नगर, जिल्ला, प्रदेश अधिवेशन कतिपयले सम्पन्न गरिसकेका छन् भने कतिपय दल गर्ने चरणमा छन् ।
यसरी आयोजना भइरहेको अधिवेशन महाधिवेशनमा आन्तरिक प्रतिस्पर्धा र टकराव पनि तीब्र देखिन्छ । खासगरी पार्टीमा निर्माण भएको गुट, उपगुटका कारण प्यानल नै बनाएर चुनावी मैदानमा उत्रिरहेका छन् । यस्तो लाग्छ, राजनीतिक दलहरु बिच अन्तर पार्टी बिचको चुनाव भन्दा आन्तरिक चुनाव अझै बढी निर्मम देखिन्छ । एकले अर्को व्यक्ति र समूहलाई लगाएका आक्षेप हेर्दा निकै असहज लाग्छ । त्यो चाहे नेपाली कांग्रेस बागलुङको जिल्ला अधिवेशनको प्रतिस्पर्धा होस् या नेकपा एमालेको १० औं महाधिवेशनको परिदृश्य होस् या अरु राजनीतिक दलको चुनाव । करिब उस्तै उस्तै पात्र र प्रवृत्ति देखिएको छ । यही गलत प्रवृत्तिका बिरुद्ध एमालेमा हार्ने निश्चित हुँदा हुँदै पनि भीम रावल, घनाश्याम भुसालहरु प्रतिस्पर्धामा उत्रिए । बागलुङमा जगदिशचन्द्र उपाध्याय पाँच वर्ष अघि र अहिले पनि पहिलो चरणको निर्वाचनमा पहिलो भए पनि दोस्रो चरणमा पुग्दा पराजित भएर उही पुरानो नियति दोहोरियो ।
हार्छु भन्ने जान्दा जान्दै पराजय भएका रावल, भुसालहरुको प्रयास या सन्देश पार्टी भित्र महाधिवेशनमा नेतृत्व चयन तजबिजमा होइन, स्वतन्त्र प्रतिनिधिहरुलाई छोड्नुपर्छ, लोकतान्त्रिक प्रतिस्पर्धालाई खुल्ला राख्नुपर्छ भन्ने हो । यो बिधि, पद्धति स्थापितका लागि जायज आवाज हो । जायज आवाज उठाउँदा उठाउँदै पनि बहुमत ल्याउनेले जितेका छन्, यो सर्वस्वीकार्य विषय हो । तर, बहुमत प्राप्त व्यक्ति या समूहले जायज सवाल र त्यसलाई मुखरित गर्ने व्यक्तिलाई किनारामै पु¥याउने नियत सदैव राखिरहने हो भने त्यसले क्षति निश्चित छ ।