कांग्रेस महाधिवेशन र चरणबद्ध निर्वाचन

सम्पादकीय
नेपाली कांग्रेस अहिले महाधिवेशनमा होमिएको छ । यसका लागि वडा, पालिका हुँदै क्षेत्र र जिल्लाको निर्वाचन सकिसकेको छ भने प्रादेशिक नेतृत्व चयनका लागि चुनावी रस्साकस्सी तीब्र छ । कांग्रेसका वडा, पालिका, क्षेत्र र जिल्लाबाट ठूलो संख्यामा नयाँ अनुहार आएका छन् । यद्यपि, महिला, अरु समावेशीका हकमा उल्लेख्य प्रगति हासिल हुन सकेको छैन । तल्लो तहदेखि चलेको अधिवेशनमा अधिक स्थानमा गुटगट प्रतिस्पर्धा चल्यो । नेपाली कांग्रेसका सभापति तथा नेपाल सरकारका प्रधानमन्त्री शेरबहादुर देउबाको संस्थापन पक्ष र त्यस इतरको बरिष्ठ नेता रामचन्द्र पौडेल समूह बिच चुनावी प्रतिस्पर्धा भइरहेको छ । यसमा कतिपय स्थानमा कृष्ण सिटौला पक्ष पनि निर्णायक भूमिकामा देखिन्छन् । जसले जित हार, अनेक तिक्तता र अस्वश्थ प्रतिस्पर्धा पनि देखिएको छ ।

कांग्रेसले अहिले जे जस्तो बिधि, पद्धति मार्फत नेतृत्व चयन गरिरहेको छ । त्यो लोकतन्त्रको सुन्दर अभ्यास हो । पालिकामा चुनिन वडाबाट, क्षेत्रमा चुनिन पालिकाबाट, जिल्लामा नेतृत्वमा पुग्न क्षेत्र हुँदै केन्द्रमा प्रतिस्पर्धा गर्न महाधिवेशन प्रतिनिधि हुने व्यवस्था कांग्रेसले धेरै अनुभव, छलफल, सुझबुझ पूर्ण हिसाबले अभ्यासमा ल्याएको हुनुपर्दछ । माथिल्लो निकायमा पुग्न तल्लो तहबाटै निर्वाचित भएर आउने व्यवस्थाले सक्षम नेतृत्व आउने सम्भावना प्रबल हुन्छ । यसकै लागि कांग्रेसले आफ्नो बिधि बनाएको हुनुपर्छ । यस व्यवस्थाले कांग्रेसमा प्रतिस्पर्धाबाट खारिएका मानिसहरुको आगमन उपस्थिति भएको पनि छ । तर, यसका अन्य पाटो पनि सोचनीय छ । महाधिवेशनका लागि चरणबद्ध चुनावबाट क्रमशः प्रतिस्पर्धा गर्दै छनोट हुन ठूलो मात्रामा चुनावी खर्च लाग्ने देखिन्छ । एक सामान्य आर्थिक स्थिति भएका सादगी नेताका लागि लाखौ खर्चिएर नेतृत्वमा आउन सक्ने सम्भावना कम छ ।

गण्डकी प्रदेशकै कांग्रेस निर्वाचनमा उम्मेदवारी दर्ताको शुल्कको विषय भाइरल बन्यो । सभापतिका लागि करिब १ लाख र अन्य पदाधिकारीमा पनि सोही हाराहारीमा तिर्नुपर्ने व्यवस्थाले राजनीति पुँजीबादले ग्रस्त बनाएको बुझ्न कठीन छैन । पछिल्लो समय राजनीतिमा पैसावालको बिगबिगी देखिन्छ । अहिलेकै कांग्रेस अधिवेशनहरुबाट निर्वाचित भएका पात्रहरु हेर्दा पनि वर्षौदेखि पार्टी निर्माणमा पूर्णकालीन राजनीति गरेकाहरु होइनन्, दलाल, ठेकेदार, व्यवसायीहरु बढी मात्रामा जित हासिल गरेका छन् । यसले अबको राजनीति सामान्य जीवनशैली, सादगीपन भएकाहरुले गर्न कठीन हुने देखिन्छ । जसका कारण देशमा निष्ठाको राजनीति क्रमशः स्खलित हुँदै गइरहेको छ । अतः कांग्रेसले अहिले गरिरहेको चरणवद्ध प्रतिस्पर्धाको अभ्यास सकारात्मक भए पनि पुँजी केन्द्रित कतिपय विषय, व्यवस्थामा पुर्नविचार गर्न जरुरी छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *