राप्रपामा देखिएको नेतृत्व उभार र आशा

सम्पादकीय
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) राजाबादी अर्थात् यस निकटको पार्टीको रुपमा नेपाली समाजमा परिचित छ । यसले हिन्दु राज्य र राजतन्त्रात्मक शासन व्यवस्थाको निरन्तर पक्षपोषण गर्दै आएको छ । भलै यसले राजतन्त्रात्मक शासन व्यवस्थाका कतिपय सवालमा आत्मआलोचित अर्थात् पूर्व राजा ज्ञानेन्द्र शाहका दिशा र कदममा पूर्ण समर्थन नगरेको अवस्था पनि छ । पछिल्लो समय देशमा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्य व्यवस्था छ । देशमा आएको ऐतिहासिक राजनीतिक व्यवस्था परिवर्तन सँगै देश धर्म निरपेक्ष भएको छ । यसले एकतन्त्रात्मक शासन व्यवस्था मात्र होइन, धर्म, जाति, लिंग, क्षेत्र लगायतको बिभेद पनि अन्त्य गर्ने तर्फ देश केन्द्रित छ । तर, राप्रपा नेपाल एकात्मक राज्य व्यवस्था र धर्मको पक्षमा आफूलाई आजको दिनमा पनि अघि बढाउन खोजिरहेको छ ।

राप्रपा अहिले अन्य ठूला राजनीतिक पार्टी सँगै महाधिवेशनमा होमियो । र पार्टीको नेतृत्व परिवर्तनमा पनि राप्रपामा फरक परिदृश्य देखिएको छ । पूर्व राजाको शासनकालमा महत्वपूर्ण भूमिकामा रहेर वर्षौदेखि राजतन्त्रकै पक्षमा वकालत र नेतृत्व गर्दै आएका कमल थापा यसपटक राप्रपा महाधिवेशनमा पराजित भएका छन् । र नयाँ पुस्ताको प्रतिनिधित्व गर्ने राजेन्द्र लिङ्देन विजयी भएका छन् । कमल थापालाई २ सय मत अन्तरले हराउँदै लिङ्देन राप्रपाको अध्यक्ष बन्दा देश केही बहस आरम्भ भएको छ । चाहे पार्टी सत्ता होस् या राज्य सत्ता त्यो सही समयमा सही ढंगले चलायमान गराउन नेतृत्व निस्प्रभावी रह्यो भने पार्टी भित्र पनि र बाहिर पनि स्वभाविक नयाँ पात्र र परिवर्तनको पक्षमा जनता,कार्यकर्ता हुन्छन् भन्ने राप्रपा महाधिवेशनले पनि देखाएको छ । राप्रपा नेपाल यसबिचमा जे जस्तो हिसाबले चल्यो, त्यसकै प्रतिफल लिङ्देनले पार्टी सत्तामा शक्तिशाली ठानिएका कमल थापालाई पराजित गरेर आफूलाई स्थापित गर्न अवसर पाए ।

राप्रपा महाधिवेशनमा कमल थापा मात्रै होइन, चर्चित अभिनेतृ रेखा थापा लगायत पनि पराजित भइन् । यसले मिडिया,सामाजिक सञ्जालमा राम्रै चर्चा पाइरहेको छ । यसको अर्थ कमल थापा, रेखा थापा हार्नुमा खुशी मनाउ होइन । तर, सत्य के हो भने सत्ता र शक्ति सधैं थिर हुँदैन । यो अस्थायी हुन्छ र कार्यकारी जिम्मेवारी भूमिकामा रहेकै बेला काम गर्नुपर्छ । जसले दुरगामी सोचका साथ काम गर्छ, त्यही मान्छे कालान्तर सम्म सम्मानित र सम्झनामा रहन्छ । राप्रपा नेपालको अध्यक्षमा निर्वाचित लिङ्देनले बिजयी भए पश्चातकै पहिलो कार्यक्रममा यो विषयलाई गहिरोबोध गरेको अभिव्यक्ति दिएका छन् । पार्टीको आन्तरिक प्रतिस्पर्धा भएकाले जितमा बिजयी जुलुस ननिकाल्न, माला नलगाइदिन गरेको आव्हान सकारात्मक सुरुवात हो । राप्रपाको फरक आस्था र विचार छ, यो अन्यथा विषय होइन । तर, राप्रपाले देशलाई फेरि पश्चगामी दिशामा होइन, शान्ति, राजनीतिक स्थिरता, गतिशीलता र समृद्धिको बाटोमा हिँडाउनेमा भूमिका खेल्नुपर्छ । राजेन्द्र लिङ्देन नेतृत्वको टिमलाई हार्दिक बधाई सहित सफल कार्यकालको शुभकामना ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *