कांग्रेस महाधिवेशन सफल र सार्थक रहोस्

सम्पादकीय
नेपाली काँग्रेस १४ औं महाधिवेशनमा होमिएको छ । विगतमा कैयन पटक बिभिन्न कारण देखाउँदै स्थगित महाधिवेशन यसपटक भने सम्भव हुने अन्तिम चरणमा छ । किनकि गाउँ, नगर, जिल्ला, प्रदेशका सबै अधिवेशन सकिएका छन् । र आजदेखि केन्द्रीय महाधिवेशन काठमाण्डांैमा हुँदैछ । सुरुवातमा शक्ति प्रदर्शन सहित भव्य समारोहका बिच उद्घाटन कार्यक्रम गर्ने तयारी गरिए पनि कोरोना भाइरसको नयाँ भेरियन्ट –ओमिक्रोन) कारण सामान्य समारोह बिच उद्घाटन र अरु नेतृत्व चयनका कार्यक्रम अघि बढाउने कांग्रेस तयारी छ । पार्टीको नयाँ नेतृत्व समेत चयन गर्ने भएकाले यसका लागि कांग्रेसले निर्वाचन कार्यक्रम सार्वजनिक गरेको छ ।

नेपाली कांग्रेस मुलुककै सबै भन्दा पुरानो पार्टी हो । जसको महाधिवेशन, नयाँ नेतृत्व समेत चयन हुने भएकाले सर्वाधिक चासोका साथ देश विदेशबाट हेरिएको छ । तर, यसलाई कांग्रेसले के कसरी अघि बढाउँछ ? कांग्रेस नेतृत्व लिनका लागि नेताहरुको होड छ । वर्तमान सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउबादेखि बिमलेन्द्र निधिले उम्मेदवारी घोषणा गरिसकेका छन् भने बरिष्ठ नेता रामचन्द्र पौडेल, प्रकाशमान सिहं, शशांक कोइराला, शेखर कोइराला पनि सभापतिको रेसमा छन् । यद्यपि, संस्थापन इतर समूहबाट एकै उम्मेदवार बनाउने कसरत कायमै छ । यसका लागि निर्वाचन समितिले निर्वाचन कार्य सूचि निकालेको छ । जसमा महाधिवेशन प्रतिनिधिको अन्तिम नामावली प्रकाशन मंसिर २४ गते बिहान १० बजे हुनेछ भने उम्मेदवारको मनोनयन दर्ता मंसिर २५ गते बिहान १० देखि ५ बजेसम्म हुनेछ । दावी विरोधको समय २५ गते बेलुका ७ देखि ९ बजेसम्म, उम्मेदवारको पहिलो नामावली प्रकाशन सोही राति ९ देखि १२ बजेसम्म हुनेछ । यस्तै मनोनयनपत्र फिर्ताका लागि मंसिर २६ गते बिहान ११ बजेसम्मको समय दिइएको छ । त्यसपछि उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरेर मंसिर २७ गते बिहान ८ बजेदेखि मतदानको कार्यक्रम तय गरिएको छ ।

कांग्रेस आफूलाई देशको सबै भन्दा लोकतान्त्रिक पार्टी दाबी गर्छ । यसका लागि उसले तल्लोतह देखि नै गर्दै आएको नेतृत्व चयनको चरणबद्ध अभ्यासले केही पुष्टि पनि गर्छ । तर, कांग्रेस पार्टी देश हाँक्ने अभूतपूर्व अवसरका बिचमा छ । बिडम्बना पार्टी पनि चलायमान हुन नसकेको कांग्रेस बृत्तमै तीब्र गुनासो र आलोचना बिद्यमान छ भने देश पनि आम अपेक्षा अनुसार चलिरहेको छैन । तसर्थ, कांग्रेस महाधिवेशनमा अहिले पार्टीलाई गतिशील बनाउने, त्यसले देशका यावत समस्या हल गरेर विकास समृद्धिमा गति दिने नेतृत्व चाहिएको छ । कांग्रेस महाधिवेशनमा उल्लेख्य नयाँ पुस्ताको आगमन भएको छ । केन्द्रीय नेतृत्वको कार्यकारी भूमिकामै गगन थापा, विश्वप्रकाश शर्मा, प्रदिप पौडेल जस्ता युवाहरुको उम्मेदवारी घोषणा भएको छ । कांग्रेस महाधिवेशनले सक्षम र सबल नेतृत्व,टिम निर्माण गर्न सकोस् । महाधिवेशनको पूर्ण सफलताको शुभकामना ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *