सम्पादकीय
देशको संघीय राजधानी काठमाण्डौंको तापक्रम यसवर्षकै सबै भन्दा कम पुगेको छ । काठमाण्डौंको न्यूनतम तापक्रम वर्षकै कम ५ दशमलव ४ डिग्री सेल्सियस मापन गरिए पनि नेपाली कांग्रेसको १४ औँ महाधिवेशनले काठमाण्डाैँ तातेको छ । दुई वर्षदेखिको कोरोनाले थला परेको व्यापार व्यवसाय पनि जगमगाउन थालेको छ । चुनावी प्रचारका कामले बागबजारका डिजाइन हाउसहरुमा उस्तै भिड छ भने खानपान,आवासले सुन्धारा क्षेत्रमा निकै चहल पहल छ । उसो त रंग रमाइलो गर्नेहरुका लागि रातभर जागा रहने ठमेलको रौनकतामा पनि उस्तै बाक्लो मानिसहरुको उपस्थिति छ । समग्रमा भन्दा कांग्रेस महाधिवेशनले केही दिन यता राजधानीमा निकै चहल पहल छ । सिंगो देश र विदेशबाट समेत कांग्रेस महाधिवेशनमा के भइरहेको छ ? र के हुनेछ भन्ने सर्वाधिक चासोका साथ हेरिरहेका छन् ।
कांग्रेस महाधिवेशनले मुख्यतः अब कस्तो नेतृत्व छनोट गर्छ ? त्यो महत्वपूर्ण कुरा हुनेछ । अहिले संस्थापन इतर अरु तीन समूह नेतृत्व हस्तान्तरण हुनुपर्ने एजेण्डा सहित चुनावी मैदानमा छन् । यसमा युवा पुस्ताका प्रखर मानिएका नेताहरु गगन थापा, विश्वप्रकाश शर्मा, प्रदिप पौडेलहरु महामन्त्री जस्तो कार्यकारी पदमा प्रतिस्पर्धामा उत्रिएका छन् । यो कांग्रेसको सुखद भविष्यका निम्ति राम्रो संकेत हो । तर, महाधिवेशनको नेतृत्व चयनका क्रममा देखिएका भद्धा चुनावी प्रचार प्रसार, खानपान, अस्वश्थ प्रतिस्पर्धा लगायत विकृत गतिविधिले गम्भीर प्रश्न पनि खडा गरेका छन् । संसदीय राजनीति जति विकृत र चुनावी प्रतिस्पर्धा महंगो भयो । आन्तरिक पार्टी निर्वाचन पनि उतिकै खर्चिलो भइरहेको छ । गत निर्वाचनको गतिविधिले एक नेता सांसद बन्न १ करोड बढी खर्च गर्न बाध्य भए । जसले ती नेताहरु कति गर न मरको अवस्थामा छन् भने कति अझै चुनावी खर्चको हिसाब किताव र ऋणकै पिरलोमा बाँचिरहेका छन् । कांग्रेस महाधिवेशनमा पनि सभापति महामन्त्रीमा लड्नेहरुको खर्च त निकै देखिन्छ, केबल एक केन्द्रीय सदस्य लड्नेहरु पनि होटल, ब्यांकेटहरु रिजर्भ गरेर सम्पर्क कार्यालय बनाएर, कति दिनदेखि कार्यकर्तालाई मासु, भात र मदिरा खुवाएर राखिरहेका छन् ।
चुनावमा प्रचार र प्रतिस्पर्धा सामान्य प्रक्रिया हो । तर, आन्तरिक निर्वाचनमा देखिएको भद्धा प्रचार, प्रतिस्पर्धा र खर्चले हरेक निष्ठावान नेता, कार्यकर्ताहरु चिन्तित र सोचमग्न बनिरहेका छन् । जसले पार्टीमा नीति, विचार, सिद्धान्तलाई आधार बनाएर निष्ठा र आदर्शको राजनीति गरिरहेका छन्, उनीहरु यही प्रवृत्ति हाबी बन्दै जाने हो भने राजनीतिमा ढिलो चाँडो किनारा लाग्नेछन् । र राजनीतिमा अहिले दलाल, ठेकेदार, व्यापारीहरुको धमाधम आगमन भइरहेको छ, यो दोब्बर तेब्बर रुपमा बढ्नेछ । अन्ततः राजनीति कुरुप खेल र कर्मका रुपमा रुपान्तरित हुनेछ । अतः संसदीय राजनीतिसँगै पार्टीहरुको आन्तरिक चुनावको भद्धा प्रचार र खर्चिलोपना नियन्त्रण गर्ने नीतिमा मुख्य नेताहरुले समयमै सकारात्मक कदम अख्तियार गर्न आवश्यक छ ।