सम्पादकीय
नेपाली कांग्रेस लामो अध्याय पछि नेतृत्व चयनको होडमा छ । संघीय राजधानी काठमाण्डौंमा जारी १४ औं महाधिवेशनमा देशको सबै भन्दा पुरानो पार्टीको नयाँ नेतृत्वका लागि रस्साकस्सी चलिरहेको छ । महाधिवेशनमा नेतृत्वको चर्चा र बहसमा पुरानै नेतृत्वको निरन्तरता कि नयाँ नेतृत्वको जर्बजस्त आगमन भन्ने छ । यसमा वर्तमान सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउबा पार्टी सत्ता र राज्य सत्ताको निरन्तरताको लालसामा चुनावी मैदानमा उत्रिएका छन् भने नेतृत्व परिवर्तनको एजेण्डा सहित बिमलेन्द्र निधि, प्रकाशमान सिहं, शेखर कोइराला लगायत सभापतिमा प्रतिस्पर्धामा छन् । तर, अहिलेको राजनीतिक परिदृश्यले पुरानो पार्टी नेतृत्व परिवर्तन कठिन हुन सक्ने देखिइरहेको छ ।
अहिले सबैजसो पार्टीमा बहसको विषय भइरहेको छ कि पार्टीको नेतृत्व हस्तान्तरण सहज र स्वभाविक रुपमा हुनुपर्छ । तर, सरकार र पार्टी सत्ता र शक्तिको भोकले नेताहरुलाई यसरी आक्रान्त बनाएको छ कि त्यसबाट उनीहरु मुक्त भएर एक आदर्शवान नेताका रुपमा स्थापित हुने अवसर गुमाइरहेका छन् । त्यसैले सेताम्य कपाल फुलेर उभिन कठिन हुँदा समेत राजनीतिमा सक्रिय हुने र सत्ता स्वादमा रमाइरहने आशक्ति देखिन्छ । यसका बाबजुद पनि कांग्रेस महाधिवेशनमा तल्लो तह सम्मको चुनावी नतिजा हेर्दा युवाहरुको बाक्लो उपस्थितिले उत्साहित बनायो । केन्द्रीय नेतृत्वमा पनि चर्चित युवा नेताहरु गगन थापा, विश्वप्रकाश शर्मा, प्रदिप पौडेलहरुको दोस्रो कार्यकारी भूमिकाका लागि चुुनावी मैदानमा छन् । यो सुखद र सकारात्मक भए पनि तीनै जना नेताहरु तीन वटा गुटबाट प्रतिस्पर्धामा छन् ।
कुनै बेला गुटको प्रखर रुपमा बिरोध गर्नेहरु नै गुटबाटै चुनाव लड्ने कार्य अशोभनीय हो । भलै असल कर्मका लागि बनाइने गुट आफैमा नराम्रो कुरा होइन । तर, गुट अस्वश्थ प्रतिस्पर्धा गरेर कसैलाई सिध्याउने नै नियतले बनाउने कार्य गलत हो । मतदान लोकतान्त्रिक अभ्यास भए पनि अहिले गुटगत प्रतिस्पर्धा र त्यसमा युवाहरु समेत प्रत्यक्ष सामेल हुनुले विगतका पुराना नेताहरुको संस्थागत गुट युवामा पुस्तान्तरण भएको छ । अब कांग्रेसमा पुराना शेरबहादुर देउबा, रामचन्द्र पौडेल, कृष्ण सिटौला गुट मात्र रहने छैन । अहिलेको राजनीतिक विकासक्रमले गगन थापा, विश्वप्रकाश शर्मा, प्रदिप पौडेलहरुको पनि नयाँ गुट बन्नेछ । यसले नेपाली राजनीतिलाई उही पुरानै विकृत, गतिहीन अवस्थामा पु¥याउनेछ । जुन केबल एक पार्टीका लागि मात्र नभएर देशकै लागि घातक सावित हुनेछ ।