ध्वस्त प्रणाली, महंगो न्याय

सम्पादकीय
समाजमा भइरहेका अनेकन हिंसा र अपराधका बिच बाँकेमा नकुन्नी धोबी मारिएको र निर्मला कुर्मी बेपत्ता पारिएको विषयले राजधानीको माइतीघरमा धर्ना जारी छ । यो श्रृंखला आजको व्यवस्थामा पनि रोकिएन । दिन प्रतिदिन भिन्न भिन्न स्वरुप र शैलीमा लैंगिक, जातिय हिंसा र अपराधका घटनाका समाचारहरु आइरहेका छन् । आखिर यस्तो किन भइरहेको छ त ? नेपालको संविधानले न्याय, स्वतन्त्रता, समानता लगायतका अधिकार मौलिक अधिकारको रुपमा स्थापित गरेको छ । वर्तमान व्यवस्थाले पनि यसको आवश्यकता, भावना र मर्मलाई सम्बोधन गरेको छ । समाज शिक्षित र सचेत बनिरहेको छ । र पनि समाजमा कहाली लाग्दा घटना किन रोकिएका छैनन् ? यो गम्भीर विषय बनेको छ ।

बाँकेकी नकुन्नी धोबी मृत्यु र निर्मला कुर्मी बेपत्ता प्रकरणमा अधिकारकर्मी आन्दोलित छन् । सहेदा दर्जीले बाँकेका दुई महिला नकुन्नी धोबी (मारिएकी) र निर्मला कुर्मी (बेपत्ता पारिएकी)को न्यायका लागि नेपालगन्जबाट आएर काठमाडौंमा धर्ना दिएको २६ दिन भइसक्यो । हरेक दिन माइतीघरको चिसोमा बसेर सिंहदरबारलाई ब्युँझाउने कोसिस मात्रै गरेकी छैनन्, धर्नास्थलबाटै आफूलाई साक्षर नागरिकमा बदल्ने सचेत र सिर्जनात्मक आन्दोलन गरिरहेका छन् । दुर्भाग्य भन्नुपर्छ, दैनिक त्यही बाटो भएर ओहोर दोहोर गर्ने सरकारका प्रधानमन्त्री, मन्त्री, सांसद, उच्च पदस्थ कर्मचारी र नेताहरु यसबारे बेखबर जस्ता देखिन्छन् । यी र यस्ता गम्भीर संवेदनशील विषयमा पनि मौनता साँधिदिन्छन् । हिंसा र अपराधजन्य गतिविधिलाई पनि भोटको राजनीति सँग हिसाब किताब र सौदाबाज गरिदिन्छन् ।

नकुन्नी धोबी र निर्मला कुर्मी त अहिलेको प्रतिनिधि पात्र हुन् । यस्ता समाजमा कैयन घटनाहरु छन्,जसबारे सरकार र यसका संयन्त्रले न त न्याय दिन सकेको छ, न त पीडित परिवारलाई चित्त बुझ्दो जवाफ नै । बरु सरकार र यसका निकाय सत्ता र शक्तिको आडमा पीडकहरुको संरक्षणमा सम्लग्न हुने गरेको कैयन तथ्य सार्वजनिक छ । त्यसले निश्चित व्यक्ति या समूहलाई त क्षणिक फाइदा पुगेको होला । तर, सिंगो देश, व्यवस्था र प्रणालीमा गम्भीर खलल पुगेको छ । नेपालको संविधानले परिकल्पना गरेको न्याय, समानता, स्वतन्त्रताको असली कार्यान्वयवन हुने बातावरण सिर्जना गर्ने हो भने देश कैयन कदम अघि बढ्न सक्थ्यो । अहिले भइरहेका हिंसा र अपराधजन्य गतिविधि र त्यसमा राज्य, राज्यका निकायले खेलिरहेको भूमिकाले यथास्थितिमै राख्ने दुर्नियत देखिन्छ । यस्तै पात्र र प्रवृत्तिका कारण अहिलेको उन्नत व्यवस्था समेत बदनाम छ । अतः सबै मिलेर देशमा सही प्रणालीको विकास गर्न लागौ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *