सम्पादकीय
विदेश पछिल्लो पुस्ताको आकर्षण बनेको छ । पहिले विद्यालय, क्याम्पस, विश्वविद्यालयमा देखिने विद्यार्थीको लहर अहिले कन्सल्टेन्सीहरुमा देखिन्छ । त्रिभुवन विश्वविद्यालयका बिभिन्न संकायमा विद्यार्थी शुन्यता उन्मुख हुँदा काठमाण्डौंका सबैजसो विदेश पठाउने र भाषा पढाउने कम्पनीहरु भरिभराउ छन् । यसमा पहिले पहिले जस्तो जीविकोपार्जनको बाध्यता, विवशता, परिबन्दले भन्दा अहिले लहड, धन कमाउने लालसा बढी देखिन्छ । चाहे त्यो युरोप जस्ता देशहरुमा होस् या अमेरिका, अष्टे«लिया, जापानहरुमा होस् । भर्खर उच्च शिक्षा आर्जन गर्दै गरिरहेका कलकलाउदो उमेरका किशोर किशोरीहरु परदेश जाने लहडले नेपाल कुन अवस्थामा छ, र पुग्दैछ ? भन्ने गम्भीर सवाल देखिएको छ । जसको बारेमा नेपाल सरकार, सरोकारवाला निकायबाट कार्यक्रम, भाषण, बहस, नाराहरुमा चिन्ता त अभिव्यक्त गरेको देखिन्छ तर व्यवहारिक रुपमा युवाहरुको दैनिक बढ्दो विदेश पलायन रोक्न ठोस कदम चाल्न सकिरहेको छैन ।
विदेश गएकाहरुको भोगाई भिन्न छ । तर, विदेश जान खोज्नेहरुको विदेश कल्पना भने स्वर्णिम खालको देखिन्छ । जसले विदेश गएकाहरु कति देश फर्केरै आउँदैनन् भने कति विदेशमै अनाहकमै जेल जीवन मात्र होइन, चौतर्फी निराशा डिप्रेसनको जीवन बाँचिरहेका छन् । वैदेशिक रोजगार बोर्डको तथ्यांक अनुसार हाल पाँच सय ४६ नेपाली श्रमिक खाडीका ६ देश र मलेसियाका जेलमा छन् । मलेसिया, संयुक्त अरब इमिरेट्स (युएई), कुवेत, साउदी अरब, कतार, बहराइन र ओमनका जेलमा पाँच सय २६ पुरुष र २० महिला रहेको तथ्यांक छ । मलेसियामा दुई सय ६, कुवेतमा ५८, युएईमा एक सय ८५, साउदी अरबमा ५४, कतारमा ३५, बहराइनमा पाँच र ओमनमा तीन नेपाली श्रमिक जेलमा छन् । यसमा अझ दुखद विषय त यो छ कि खाडी र मलेसियाका जेलमा रहेका मध्ये २५ जनाले मृत्युदण्ड सजाय पाएका छन् । १६ जनालाई आजीवन काराबास, दुई जनालाई २५ वर्ष र तीन जनालाई १५ वर्ष जेल सजाय तोकिएको छ । मलेसियाको जेलमा २०६, युएईको जेलमा १८५, कुवेतको जेलमा ५८, साउदी अरबको जेलमा ५४, कतारको जेलमा ३५, बहराइनको जेलमा ५, ओमनको जेलमा ३ जना छन् । यो बाहेक रोजगारीका क्रममा बिरामी तथा घाइते भएर कोमामा पुगेका २५ नेपाली विदेशी अस्पतालमै कोमामा छन् । जसमध्ये तीन महिला र २२ पुरुष छन् ।
घटना र तथ्यांकले वैदेशिक रोजगारमा आकर्षण र पैसा मात्र छैन, अथाह पीडा र दुःख पनि छ भन्ने प्रष्ट देखिन्छ । आफ्नो र परिवारको समस्याले परदेश जानेहरु होउन् या रहरले परदेशिनेहरु होउन् । विदेश जाँदा पूर्व त्यहाँको सिस्टम, दुःख, सकस बुझ्नु अपरिहार्य छ । देशमै प्रयाप्त सम्भावना हुँदा हुँदै पनि नेपालको अस्थिर र विकृत राजनीति, सरकारको फितलो भूमिकाका कारण बैदेशिक रोजगार धेरै हद सम्म नेपालीको बाध्यता र विकल्प बनेको छ । पुरानो व्यवस्था बदलिँदा पनि अवस्था यथावत हुनु बिडम्बना हो । दैनिक अनेक बाध्यता, विवशता, परिवन्द, रहरहरुले देश छाडेर विदेशमा विकल्प खोज्नुपर्ने विवशता आखिर कहिले सम्म ? सरकारले दैनिक हजारौको संख्यामा अन्तर्राष्ट्रिय विमानस्थलबाट राहदानीमा छाप लगाएर विदेश पठाउँदै रेमिट्यान्समा रमाइरहने ? अब सरकारले ठोस कदम चालोस् ।