विवेकशीलको विवाद र विभाजन

सम्पादकीय
सुसंस्कृत नारा, पृथक एजेण्डा सहित बैकल्पिक शक्ति बन्ने अठोटका साथ उदय भएको विवेकशील साझा पार्टी अन्ततः फेरि फुटको अवस्थामा पुगेको छ । नयाँ राजनीतिक संस्कार र शैली सहित आएका विवेकशील पार्टी र साझा पार्टी सुरुवातमा पृथक नै देखिन्थे । तर, पार्टी स्थापनाको केही वर्षमै पुरानै राजनीतिक दलहरुमा देखिने बेथिति, विकृति र बिभाजनको श्रृंखलाको नियति वैकल्पिक शक्तिको रुपमा दाबी गर्दै आएका विवेकशील र साझा पार्टीमा पनि देखियो । जसले नेपालको विकृत राजनीति बदल्न आयो, तीनै राजनीतिक दल र नेताहरु समेत आफै बदलिएर उही फोहोरी राजनीतिको सिकार बनिरहेका छन् । यो नेपाली राजनीति र आम नागरिकका लागि दुर्भाग्यको विषय हो ।

वैकल्पिक शक्तिकै रुपमा स्थापित हुने उद्धेश्यले फरक फरक समय र सोचमा स्थापित विवेकशील र साझा पार्टी बिच एकताको बोध गरेर पुर्नमिलन समेत भयो । र केही समय अभियान र आन्दोलन राम्रै सँग चल्यो पनि । तर, पछिल्लो केही महिना यति विवकेशील साझा पार्टीमा नयाँ विषयको प्रवेशसँगै हलचल आयो, केन्द्रीय अध्यक्ष रवीन्द्र मिश्रले संघीयता खारेजी र धर्मका विषयमा जनमत संग्रहको विचार अगाडि सारेपछि विवेकशील साझा मात्रै होइन, पुरै देश तरंगित यो । विवेकशील साझा पार्टी यही सवालले अहिले विभाजित अवस्थामा छ । पार्टीका संयोजक मिलन पाण्डेले मिश्रको प्रस्तावको कडा रुपमा खण्डन गरे । त्यसको प्रतिवादमा मिश्रले पाण्डेलाई स्पष्टिकरण मात्रै सोधेनन्, कारबाही समेत गरेका छन् । यही विवादको चौघेरामा वैकल्पिक पार्टी स्थापनासँगै चर्चामा रहेकी रञ्जु दर्शनाले विवेकशील साझा पार्टी परित्यागको घोषणा गरेकी छिन् । उनले पार्टीको साधारण सदस्य समेत नरहने गरि पार्टी परित्याग गरिन् ।

विवेकशील साझा पार्टीमा देखिएको विवाद, विचलनले तत्कालका लागि पार्टीलाई त स्वभाविक क्षति निश्चय नै पुग्दछ । वैकल्पिक शक्तिको रुपमा आएको पार्टी पनि उही पुराना पात्र र प्रवृत्तिजन्य समस्याबाट ग्रसित हुनुले सिंगो देशको राजनीतिलाई बदनाम गराउँछ । राजनीति देशको मूल नीति हो, यो सबै सचेत नेपालीले बुझ्न र गर्न जरुरी छ । मूल नीति राजनीति नै खराब भए पछि समाज र देश सुन्दर हुने कुरा कठीन हो । अतः नेपाललाई सुन्दर र समृद्ध बनाउने राजनीतिमा सही संस्कार र अभ्यासको जरुरत छ । यसका लागि लोकतान्त्रिक प्रतिस्पर्धा अभिमत जाहेर गर्दा सचेत नागरिकले ध्यान त दिनै पर्दछ । यसका अलावा अन्य समयमा पनि आलोचनात्मक चेत सहित निरन्तर खबरदारी गर्नुपर्दछ । विवेकशील साझा पार्टीेले पनि आफ्नो बैकल्पिक शक्तिको सोच, सपना, गन्तव्य र हिँडिरहेको बाटोबारे गम्भीर समिक्षा गर्न जरुरी छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *