माओवादी महाधिवेशन सार्थक बनोस्

सम्पादकीय
अहिले नेपालका मुख्य दलहरुको राष्ट्रिय महाधिवेशनको लहर छ । यही लहरका बिच मुलुकको सबै भन्दा ठूलो दल नेकपा एमाले, नेपाली कांग्रेस, राप्रपा नेपालले महाधिवेशन मार्फत नयाँ केन्द्रीय नेतृत्व समेत चयन गरिसकेको छ भने तेस्रो ठूलो दल नेकपा माओवादी केन्द्रको आठौ राष्ट्रिय महाधिवेशन राजधानीमा जारी छ । यस महाधिवेशनले नयाँ नेतृत्व सहित नयाँ विचार र दिशा निर्देश समेत गर्ने माओवादी नेताहरु बताइरहेका छन् । उसो त पछिल्लो पाँच वर्ष यता माओवादीको पार्टीगत जीवनमा धेरै उचार चढाव आएको छ । पार्टीका अनेक बिभाजनदेखि पार्टी एकीकरण गरेर दक्षिण एशियाकै सबै भन्दा शक्तिशाली कम्युनिष्ट पार्टी बनेको इतिहास र दुखद पार्टी विघटनको पुरानै नियति पनि भोग्यो ।

माओवादी जनयुद्धको जग र बलबाट स्थापित पार्टी हो । यस पार्टीले उठाएका अनेकन मुद्धा आज देशमा स्थापित भएका छन् । भलै त्यो माओवादीको एकल पहल र प्रयासबाट सम्भव र सहज थिएन । यसमा नेपालका मुख्य राजनीतिक दलहरुको साझा बुझाई, एकता र सहकार्यबाट सम्भव भयो र आजको दिन सम्म देश आइपुगेको छ । देशमा उन्नत व्यवस्था संघीय लोकतान्त्रिक गणतन्त्र स्थापित भए पनि राजनीतिक दलहरु टुटफुट र प्रणालीगत रुपमा पनि पुरानै नियतिबाट गुज्रिरहेका छन् । यसमा माओवादी पनि समयमै महाधिवेशन आयोजना गर्ने र नेतृत्व चयन र हस्तान्तरण गर्ने विषयमा चुकिरहेको छ । जबकि माओवादीले आफूलाई सबै भन्दा अब्बल र क्रान्तिकारी पार्टीको रुपमा आफूलाई दाबी गर्ने गरेको छ । तर, पछिल्ला वर्षहरुमा पार्टी र देश निर्माणका सन्दर्भमा हेर्ने हो भने माओवादीको भूमिका फिक्का देखिन्छ । विचार, सिद्धान्त, संगठन शिथिल जस्ता छन् । माओवादीको अन्यौलता र द्धिविधि कति सम्म देखियो भने अहिले जारी महाधिवेशनलाई प्रथम राष्ट्रिय सम्मेलनका रुपमा आयोजना गर्ने थियो । अन्तिम समयमा महाधिवेशनको रुप्मा रुपान्तरण गर्ने निर्णय गरियो ।

अहिलेको यो निर्णय र विगतका पार्टीगत निर्णय, गतिविधि हेर्ने हो भने माओवादीले तत्कालीन जनयुद्धको सुरुवातको अवस्थालाई स्मरण गर्दै अघि बढ्नु पर्दछ । विगतमा पार्टी पद्धति के कस्तो थियो ? आज के छ ? पार्टी कति व्यवस्थित रुपमा चलेको छ ? या पार्टीको नेतृत्व कति मनोगत भएको छ ? राजनीतिक दलहरुमा विचार, नीति, कार्यक्रम र नेतृत्व चयन गर्ने सर्वोच्च थलो महाधिवेशनलाई मानिन्छ । संविधानतः हरेक ५÷५ वर्षमा दलहरुले महाधिवेशन गर्नुपर्छ । त्यही बाध्यतामा अहिले धमाधम भइरहेका महाधिवेशन केबल कर्मकाण्ड र निरन्तरता मात्र होइन, यसले पार्टी र देश निर्माण गर्ने सन्दर्भमा पनि मिहिन ढंगले छलफल, बहस गरेर भोलिको दिशा तय गर्न सक्नुपर्छ । यसका लागि माओवादी महाधिवेशन सफल र सार्थक बन्न सकोस्, सफलताको शुभकमना ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *