सिके राउतको अराजक आन्दोलन

सम्पादकीय
तराई क्षेत्र फेरि एक पटक आन्दोलित छ । आन्दोलन हिंसा र अराजकता उन्मुख छ । सिके राउन नेतृत्वको जनमत पार्टीले केही दिन अघि देखि सिरहा जिल्लामा आमहडताल र चक्काजाम ग¥यो । यही क्रममा सार्वजनिक सवारी साधन माथि आगजनी, तोडफोड गरियो । आन्दोलनका क्रममा दर्जनौ घाइते भए, प्रहरी समेत घाइते भए । आन्दोलनका कारण दैनिक मजदुरी गरेर खानेहरु बढी मारमा छन् । सिके राउत नेपालको राजनीतिमा फरक पात्रका रुपमा परिचित छन् । पहिले देश बिखण्डनको आराजक नारा अलाप्दै आन्दोलनमा उत्रिएका राउत केही वर्ष अघि केपी ओली नेतृत्वको सरकारसँगको वार्ता पछि शान्तिपूर्ण राजनीतिको मार्गमा आएका थिए । तर, राउत नेतृत्वको पार्टीले कहिले इञ्जिनियरलाई कालो मोसो दलेर बजार परिक्रमा गराएर त कहिले किसानको जायज आवाज पनि हिंसात्मक बाटो अपनाएर देश तरंगित गरिरहेका छन् ।

सिराहाको औरही गाउँपालिकाले गहुँको बीउ लुटेको आरोपमा किसानमाथि लगाएको मुद्दा फिर्ता लिनुपर्ने, पक्राउ परेका किसानलाई रिहा गर्नुपर्ने, किसानलाई समयमा सहज रुपमा मलखाद उपलब्ध गराउनुपर्ने, औरही गाउँपालिका अध्यक्ष सिदार्थ यादवले गरेको भ्रष्टाचारको छानविन हुनुपर्ने सहितका माग राखेर जनमत पार्टी आन्दोलित बनेको छ । कतै गलत, बेथितिजन्य काम भएको छ भने आवाज बुलन्दित गर्नु, बिरोध प्रदर्शन गर्नु, आन्दोलनमा उत्रिनु स्वभाविक र नागरिक अधिकारको विषय हो । तर, सिके राउतले नेतृत्व गरेको जनमत पार्टीका कार्यकर्ता आन्दोलन गर्ने नाममा अराजक शैली अपनाएका छन् । जनमत पार्टीका कार्यकर्ताले नेपाल खानेपानी संस्थान जनकपुरका निमित्त प्रमुखलाई कार्यालयबाट निकालेर कुटपिट गर्दै अर्धनग्न पारेर कालोमोसो दली नगर परिक्रमा गराएको घटना सेलाउन नपाउँदै सार्वजनिक रुपमा हिँडिरहेको गाडी माथि आगो लगाइदिएका छन्, तोडफोड गरेका छन् । अराजकता तर्फ उन्मुख आन्दोलन नियन्त्रण गर्दा दमन गरेको भन्दै उल्टै जिल्ला प्रहरी प्रमुखलाई सडकमा ल्याएर जनकारबाही गर्ने चेतावनी दिएका छन् ।

सिके राउत र उनको जनमत पार्टी या अरु दल र नागरिकलाई स्वतन्त्र रुपमा राजनीति, बिरोध, आन्दोलन गर्न पाउने संविधान र वर्तमान व्यवस्थाले अधिकार सुरक्षित गरेको छ । तर, आन्दोलनको नाममा अराजकता, हिंसा, आतंक मच्चाउन पाइदैन । समाज भड्काउन पाइदैन । राउत नेतृत्वले उठाएका माग नाजायज छैनन्, माग पुरा गर्ने गराउने तरिका राम्रो भएन । यस्ता अराजक, हिंस्रक गतिविधिले किसानका सवाल संवेदनशील हुँदा हुँदै पनि एजेण्डाको विषयान्तर हुने खतरा हुन्छ । अहिले भइरहेको आन्दोलन, गतिविधि पनि त्यस तर्फ उन्मुख छ । कुनै दिन यस्ता आन्दोलनको आवश्यक, औचित्य पनि थियो होला । अब यही शैलीको आन्दोलनले सरकारबाट माग पुरा हुने मात्र होइन, नागरिकको मन जित्न पनि कठीन हुनेछ । अतः आन्दोलन, बिरोधका कार्यक्रम पनि रचनात्मक, असल राजनीतिक संस्कारलाई बढावा दिने खालको बनाउन आवश्यक छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *