सम्पादकीय
नेकपा माओवादी केन्द्रको महाधिवेशन राजधानीमा जारी छ । महाधिवेशनले नेतृत्व समेत चयन गर्नेछ । अन्तिम समय सम्म राष्ट्रिय सम्मेलनको रुपमा आयोजित कार्यक्रम अघिल्लो दिन एकाएक महाधिवेशनमा रुपान्तरित गरियो । कम्युनिष्ट पार्टीहरु बिच को सक्कली कम्युनिष्ट बन्ने भन्ने होड चलिरहेका बेला मुलुककै पहिलो शक्ति नेकपा एमालेले आफ्नो महाधिवेशन सकिसकेको छ । र केपी शर्मा ओलीको नेतृत्वमा केन्द्रीय कमिटी चयन गरेको छ । केही पदमा बाहेक सबैमा सर्वसम्मत नेतृत्व चयन गर्दा टिके प्रथाको आरोप खेपेको एमाले महाधिवेशन सकिए लगत्तै माओवादी महाधिवेशनमा होमिएको छ । र एमालेको महाधिवेशनमा पार्टी भन्दा पनि व्यक्तिलाई प्रधान बनाउने अनेकन प्रयास भयो । जसको सर्वत्र आलोचना पनि भयो । अहिले माओवादी पनि त्यही पथमा छ । महाधिवेशनबाट अध्यक्षमा प्रचण्ड सर्वसम्मत चयन हुने निश्चित छ । यद्यपि, नेतासँगै नीतिमा भने माओवादीमा छलफल र बहस जारी छ ।
माओवादीले विगतका गतिविधि भूमिकाबारे निर्मम समिक्षा गर्नुपर्ने आवाज चर्को छ । केही वर्षदेखि पार्टीमा देखा परेका वैचारिक र राजनीतिक अस्पष्टता, विभाजन, गुटबन्दी अराजकताका साथै शान्ति सम्झौतापछिका कतिपय राजनीतिक र संगठनात्मक कमजोरीसमेतका कारण परिवर्तनको रक्षा, विकास र परिमार्जनमा प्रभावकारी भूमिका खेल्न नसकेको प्रचण्डको प्रतिवेदनमा उल्लेछ । जसको परिणामस्वरुप दक्षिणपन्थी, प्रतिक्रियावादीशक्तिहरूले टाउको उठाउने मौका पाइरहेका छन् । यो विषयमा पार्टीले गम्भीरताका साथ समीक्षा गर्ने र तद्नुसार संगठन र कार्यशैलीको विकास गर्नुपर्ने आवश्यकता औल्याइएको छ । पार्टीलाई उत्पादनसँग जोड्ने र पार्टीका नेता कार्यकर्ताले अनिवार्य रुपमा वर्षमा कम्तीमा १५ दिन शारीरिक श्रम गर्नुपर्ने प्रचण्डको प्रस्ताव छ । यसको रेकर्ड पार्टी समितिले राख्ने र माथिल्लो समितिमा पठाउने उनले प्रस्ताव गरेका छन् । माओवादीले नेतृत्व जितेको स्थानीय तहमा ५० युवालाई कृषि काममा लगाउने र माओवादीले नेतृत्व नजितेको तर संगठन मजबुत भएको स्थानीय तहमा पनि ५० युवालाई कृषि काममा लगाउने प्रस्ताव छ । प्रतिनिधिहरुले पार्टी केन्द्रीय सदस्यका छोराछोरीलाई सरकारी विद्यालयमा पढाउन अनिवार्य गर्नुपर्ने माग समेत उठेको छ ।
माओवादीमा मात्र होइन, जुुनसुकै पार्टीमा विचारको बहस हुनु राम्रो कुरा हो । बैचारिक स्पष्टता, निष्ठा, त्याग र समर्पणको राजनीतिले मात्र देश गतिशील अवस्थामा पुग्दछ । माओवादीले आफ्नो आन्दोलनको सुरुवातदेखिको एजेण्डा, भूमिका, कार्यशैली यावत विषयमा निर्मम समिक्षा गर्न जरुरी छ । पछिल्लो समय पार्टीहरुमा नेता प्रधान हुने र नीति गौण हुन थालेको छ । यस अवस्थामा पार्टी भित्रको विचारको बहस, मन्थनलाई स्वस्थ रुपमा अघि बढाउने र पार्टीका नेता,कार्यकर्तालाई पनि असल राजनीतिक संस्कारका साथ उत्पादनसँग जोड्ने जोडिने कुराले माओवादी प्रतिको आस्था र विश्वासलाई बढावा दिने नै छ, देशलाई आत्मनिर्भरता र स्वाभिमानको बाटोमा पनि अग्रसर बनाउने छ । अहिले माओवादी पार्टी भित्र जे बहस भइरहेको छ, त्यो सकारात्मक छ । तर, अहिलेका प्रस्ताव र बहस केबल कर्मकाण्डका रुपमा मात्र सीमित हुने भने माओवादी थप कमजोर अवस्थामा पुग्ने निश्चित छ ।