राष्ट्रिय महिला टोलीको सफलता र सन्देश

सम्पादकीय
नेपालमा जे जस्तो जाति,धर्म,क्षेत्र, कला, संस्कृति, चालचलनको बिबिधता छ । उस्तै स्वरुपमा अनेकन बिभेदहरु पनि समाजमा बिद्यमान छन् । कतै दैलित गैरदलित, कतै पहाडी, मधेसी, कतै जनजाति, ब्राह्मण क्षेत्री, कतै गोरा काला, कतै गाउँले शहरिया बिचका बिभेदहरु छरपष्ट देखिन्छन् । जसमध्ये महिला पुरुष बिचको बिभेदका अनेकन प्रभाव आज पनि व्याप्त छ । नेपालमा महिलाहरुलाई हेर्ने दृष्टिकोण, गरिने व्यवहार आज पनि कमजोर, दयालाग्दो खालको देखिन्छ । त्यसैले, पुरुषको सहभागिता, प्रतिस्पर्धाको तुलनामा महिलाहरुको उपस्थिति, सहभागिता र प्रतिस्पर्धामा अहिले पनि कमजोर रहेको आँकलन गरिन्छ । तर, नेपाली समाजमा जन्मि हुर्किएका राष्ट्रिय महिलाद टोलीले भलिबल खेलको अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा प्राप्त गरेको सफलताले अब महिलाहरु अब्बल बनिरहेको तथ्य उजागर गरिदिएको छ ।

बंगलादेशको ढाकामा भएको एसियन सेन्ट्रल जोन महिला भलिबल च्यालेन्ज कपमा महिला टोली अपराजित रहँदै दोस्रो पटक उपाधि चुम्यो । पुरुष टोली चौथो भयो । महिला टोली बिहीबार स्वदेश फर्किदाँ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बाजा बजाएरै भव्य स्वागत भयो । मंगलबार सम्पन्न सेन्ट्रल जोनमा महिला टोलीले उपाधि जित्दा देशभर खुशियाली छाएको थियो । ६ राष्ट्र सहभागि सेन्ट्रल जोनमा महिला टिमले उज्वेकिस्तानलाई फाइनलमा ३–२ ले पारजित गर्दै उपाधि चुम्नु नेपालका लागि महत्वपूर्ण उपलब्धि हो । यसले खेल क्षेत्रमा नयाँ उत्साहको उभार ल्याएको छ । उसो त पछिल्लो खेल क्षेत्रमा अन्तर्राष्ट्रिय प्रतिस्पर्धाहरुमा नेपालले आफ्नो उपस्थिति अब्बल बनाउदै लगेको छ । जुन नेपाल र नेपालीका लागि सुखद र सकारात्मक पक्ष हो ।

महिलाहरुका लागि जुनसुकै क्षेत्रमा अझै पनि खुलेर लाग्ने परिवेश तयार भइसकेको छैन । भलिबल खेलमा समर्पित राष्ट्रिय टिममा आवद्ध खेलाडीहरु पनि समाजका थुप्रै बिघ्न बाधाहरु छिचोल्दै आजको दिन सम्म आइपुगेका हुन् । आज जुन अन्तर्राष्ट्रिय उपलब्धि हासिल भएको छ, यसका लागि खेल क्षेत्रमा प्यासनका साथ आकर्षित र समर्पित भएकाहरुकै कारण सम्भव भएको हो । सीमित स्रोत साधनका बिच पनि खेल क्षेत्रमा जे जस्तो प्रगति भएको छ । र अहिले जुन उपाधि लगातारजसो हासिल भएको छ । यसले हर क्षेत्रमा लाग्ने महिलाहरुलाई त विशेष रुपमा उत्साहित र उत्प्रेरित गरेको छ नै, सिंगो देशलाई गौरव गर्ने बातावरण बनेको छ । यसमा आगामी दिनमा राज्यका तर्फबाट थप खेलमैत्री बातावरण र पूर्वाधारका लागि यथोचित पहलकदमी लिन जरुरी छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *