सम्पादकीय
नेपाल आज विकासको जुन चरण र बिन्दुमा पुग्नुपथ्र्यो, त्यसो हुन नसक्नुको मुख्य कारण नेपालको राजनीति र नेताहरु नै हुन् भन्नेमा सायदै दुबिधा होला । देश बनाउने मूल नीति राजनीति नै फोहोरी हुन थाले पछि त्यसले अस्थिरता, अशान्ति स्वभाविक निम्त्याउने नै भयो । नेपाल लामो समयदेखि यसकै शिकार भइरहेको छ । सत्ता बाहिर रहँदा देश र जनताको पक्षमा समर्पित भएको जस्तो देखिए पनि सारमा सत्ता र शक्तिमा हुँदा इमानको राजनीतिलाई तिलाञ्जली दिनुको दुर्भाग्य हर बखत दोहोरिरहेको छ । हिजोको पञ्चायत, राजतन्त्रात्मक व्यवस्थामा त यस्ता पात्र र प्रवृत्ति हाबी थियो नै, ६० को दशक पछि स्थापित गणतन्त्रात्मक शासन व्यवस्थामा पनि त्यही प्रवृत्ति पटक पटक दोहोरिरहेको छ । जे जस्ता पात्र र प्रवृत्तिबाट आजित बनेर नागरिकले परिवर्तनका अनेक आयाम र आन्दोलनलाई साथ दिए, हजारौको त्याग, समर्पण, बलिदानबाट स्थापित व्यवस्थामा पनि त्यही दुरावस्था भोग्नु पर्दाको दुःख बिडम्बनापूर्ण छ ।
नेपालको नेताहरु जो वर्षाैदेखि राजनीतिमा समर्पित छन्, उनीहरुको नियत खोतल्ने हो भने डरलाग्दा परिदृश्यहरु देखिन्छन् । यसको पछिल्लो घटना र उदाहरण बतास कम्पनीले देशभरका ऐतिहासिक सम्पदा र सम्पतिमा गरिरहेको चलखेल र ब्रह्मलुट हो । सत्ता र शक्तिका आडमा सार्वजनिक सम्पत्तिमा नेतादेखि ब्युरोक्रेसीमा हुने सेटिङ कति खतरानक हुँदोरहेछ भन्ने प्रष्ट भएको छ । पशुपतिनाथको धर्मशाला, गण्डकी संग्रहालय लगायतमा लिजमा लिएर व्यापारिक प्रयोजनमा लगाइरहेका व्यवसायी आनन्दराज बतासले प्रधानमन्त्री शेरबहादुर देउवाले आफू देउवाको मान्छे भएको र प्रमुख प्रतिपक्षी दलका नेता केपी ओलीले आफ्नो ससुराली झापा भएका कारण ज्वाइँ भनेर सम्मान र काम दिएको अभिव्यक्तिले धेरै कुरा बोल्छ । उनले राजनीतिक शक्ति नजिक भएपछि कर्मचारीतन्त्रमा खेलेर आफूले व्यवसाय हात पारेको जुन जिकिर गरेका छन्, यसले नेपाली राजनीतिक, सत्तामा रहँदाका नेताहरुको असली अनुहार उदांगो गरिदिएको छ । यस्ता पात्रको पहुँच कुनै एउटा अमुक दल र नेतामा मात्र सीमित छैन । जो सत्तामा पुगे पनि किन्न सक्ने हैसियत बनाएका छ्न ।
नेपालमा व्यवस्थाको बदलावसँगै आएको जागरण, नागरिकको चेतनाले खुलमखुल्ला हुने घुस लेनदेन र भ्रष्टाचार धेरैहद सम्म रोकिए पनि भ्रष्टाचारको स्वरुप बँदलिएछ । नजानिँदो हिसाबले गर्ने नीतिगत भ्रष्टाचार उल्लेख्य बढेको छ । देशको नियम र व्यवस्था अनुसार बतास या अरु जो कसैलाई पनि उद्योग, व्यापार, व्यवसाय सञ्चालन गर्न पाउँछन्, दिन सकिन्छ । यद्यपि, देशको ऐतिहासिक, पुरातात्विक सम्पदा र सम्पतिको अवमूल्यन हुने गरी कौडीको भाउँमा कमिसन र अनेक स्वार्थमा नीतिगत रुपमै सेटिङ गरेर जे कामहरु भइरहेका छन् । अहिलेको बतास या विगतमा विवादमा परेको यति, ओम्नी प्रकरण र प्रवृत्ति देशका लागि घातक हुन् । यी र यस्तै कारणले देश आज पनि विकासमा फड्को मार्ने बेलामा पनि राजनीतिको फोहोरी खेल, नीतिगत भ्रष्टाचार, बेथितिकै शिकार बनिरहेको छ । अब यस्ता पात्र र प्रवृत्तिको समयमै पहिचान गरेर यथोचित कदम नचाल्ने हो भने देशले दुरावस्था भोगिरहनु पर्ने निश्चित छ ।