सम्पादकीय
नेकपा एमाले बागलुङको नवौं जिल्ला अधिवेशन सकिएको छ । चितवनको सौराहामा एमाले महाधिवेशन अनेक आँकलनका बिच केही पद बाहेक सर्वसम्मत रुपमा नेतृत्व चयन भयो । जसको पार्टी कार्यकर्ताले पार्टी बिभाजनको बिशेष परिस्थिति भन्दै स्वभाविक रुपमा लिए भने पार्टी बाहिर महाधिवेशन होइन, ओलीबेशन भयो । अध्यक्ष ओलीले खल्तीबाट लिएको नाम सदर गरिएको भन्दै व्यंग्य र आलोचना भयो । केन्द्रीय महाधिवेशन सकिए लगत्तै अहिले देशभर धमाधम जिल्ला अधिवेशन भइरहेको छ । अधिकांश जिल्ला अधिवेशनमा सर्वसम्मत गरिएको छ । केहीमा निर्वाचन मार्फत नै नेतृत्व चयन गरिएको छ । यसमा बागलुङ जिल्लामा समेत मतदान मार्फत नै नेतृत्व चयन गरिएको छ । जसमा हिरा बहादुर केसीले नेतृत्वको बागडोर सम्हाल्ने अवसर प्राप्त गरेका छन् ।
अध्यक्षमा भारी मतले बिजयी केसी नेतृत्वको टिमले यस्तो बेला पार्टीको बागडोर सम्हाल्ने अवसर पाएको छ, जतिबेला मुलुकको शक्तिशाली पहिलो बनेको पार्टी बिभाजित बनेको छ । नयाँ संघीय अभ्यासमा पहिलो पटक भएको तीन तहको निर्वाचनमा ऐतिहासिक जित हासिल गरेर अधिक स्थानीय तहमा मात्र होइन, प्रदेश र करिब दुई तिहाईको संघीय सरकार समेत एमालेकै नेतृत्वमा बनाउने अभिमत पायो । तर, एमाले र माओवादी बिच एकता गरेर बनेको नेकपा, तत्पश्चात उत्पन्न पार्टी भित्रको आन्तरिक विवादको उपज केही वर्षमै पार्टी बिभाजन भएको छ । र एमाले बिभाजित भएर नेकपा समाजवादी गठित छ । जसले एमालेलाई चौतर्फी चूनौती खडा गरिरहेको छ । एमाले भित्र देखिएको बेथिति, अनेकन विषय आम एमाले कार्यकर्ता र जनता समक्ष लगेर तत्कालीन एमाले बरिष्ठ नेता माधवकुमार नेपाल नेतृत्वको समाजवादीमा गोलबद्ध हुन अभियान चलाइरहेको छ । यो अहिलेको नेतृत्वका लागि मुख्य चूनौती देखिन्छ भने अब तीन तहको चुनाव निकट समयमा हुँदैछ । एमाले नेतृत्वको सरकारले संसद विघटन लगायतका कदम चालेपछि देशभर कांग्रेस, माओवादी, समाजवादी, जसपा लगायतको सत्ता गठबन्धन बनेको छ । अब सम्भवतः अधिक स्थानमा मुख्य प्रतिस्पर्धी कांग्रेससँ मात्र होइन, एमाले यीनै गठबन्धनसँग चुनावी प्रतिस्पर्धामा उत्रिनु पर्नेछ । यसका लागि एमाले एकल प्रतिस्पर्धामा समेत उत्रत तयार हुनुपर्नेछ ।
बागलुङ गत निर्वाचनमा पनि एमालेले काठेखोला गाउँपालिका, बडिगाड गाउँपालिका, ढोरपाटन नगरपालिका साथै एक संघीय, एक प्रदेश सांसद जितेको जिल्ला हो । एमालेको राम्रै जनमत भएको जिल्लामा पुरानो जनमत जोगाउने र नयाँ समय र चुनौतीलाई छिचोलेर पनि आफ्नो उपस्थितिलाई बलियो देखाउने अभिभारा एमालेको नवनिर्वाचित टिमलाई छ । यसका लागि विगतको बाम गठबन्धनको निरन्तरता, पार्टी भित्रैको गुटगत संकिर्णता, नेता कार्यकर्ताको यथोचित व्यवस्थापन लगायतका विषय पनि परीक्षामा हुनेछ । अहिले निर्वाचित अध्यक्ष लगायतको टिम लामो समयदेखि राजनीतिमा अनवरत समर्पित भएकाले यी र यस्ता चुनौतीलाई अवसरमा बदल्ने सामथ्र्य राख्छन् भन्नेमा विश्वास गर्न सकिन्छ । यदि यसो हुन सकेन भने नेतृत्व क्षमतामा स्वभाविक प्रश्न र आंशका पैदा हुनेछ । अहिलेलाई अध्यक्ष हिरा केसी सहितको नवनिर्वाचित जिल्ला कमिटीलाई हार्दिक बधाई सहित सफल कार्यकालको शुभकामना ।