सम्पादकीय
कोरोना भाइरस (कोभिड १९)को नयाँ भेरियन्ट ओमिक्रोनले विश्व समुदाय फेरि एकपटक भयभित अवस्थामा छ । विश्वव्यापी रुपमा फैलिएको कोरोनाले विश्व अर्थतन्त्र अझै लयमा आउन सकिरहेको छैन भने आम मानव समुदायको दैनिकी र भविष्य पनि अनिश्चयको भूमरीमा पु¥याइदिएको छ । कोरोना यस्तो रोगको रुपमा आयो, जसले सिमान्तकृत, गरिब, बिपन्न, हुँदा खानेलाई मात्र प्रभावित गरेन, यसले धनाढ्य, सत्तासिन शक्तिशाली राजनीतिज्ञ, मन्त्री, सांसदसम्मलाई पनि आक्रान्त बनाइरहेको छ । नेपालमा पनि कोरोनाको पहिलो, दोस्रो चरणको भेरियन्टबाट पूर्णतः आम नागरिक प्रभावित बने । सयौं जनाले ज्यान गुमाउन बिबश बने भने कैयनले अझै पनि कोरोनाका कारण भोगेको शारीरिक र मानसिक सकसको क्षति, दुखाई अझै भोगिरहनु परेको छ । दैनिक काम गरेर मुखमा मार लगाउन बिबश नेपालीहरुको अवस्था कोरोनाकालमा अझ बढी पीडादायक बन्ने गरेको छ । अहिले ओमिक्रोनको आगमन, भयावहको हल्ला, सरकारद्धारा विद्यालय बन्द गर्ने निर्णयले पुनः एकपटक देश तरंगित छ ।
कोभिड संकट नियन्त्रण, रोकथाम तथा उपचार व्यवस्थापन समिति (सिसिएमसी)को सिफारिसमा ओमिक्रोन भयावहको तीब्र जोखिम रहेको निष्कर्ष सहित सरकारले आगामी माघ १५ सम्म विद्यालय बन्द गर्ने निर्णय गरेको छ । धेरै स्थानमा मेला महोत्सवहरु अहिले पनि जारी छन् । केही स्थानमा भने पूर्व निर्धारित उत्सव महोत्सव स्थगित गरिएका छन् । भिडभाड कम गर्न, भिडभाड हुने क्षेत्रहरु बन्द गर्ने, आवश्यक स्वास्थ्य सुरक्षा मापदण्ड पालना गर्न गराउन सरकारको क्रियाशीलता बढ्दो छ । तर, कोरोना जोखिममा सरकारको पहिलो निशाना किन विद्यालय बनाइन्छ र बनाइयो ? भन्ने विषय विगत केही वर्ष यता बहसको विषय हुँदै आएको छ । नेपालमा भिडभाड हुने क्षेत्र त धेरै छ, त्यसमा बिद्यालय मात्र बन्द गरिनुको पछाडिको कारण र रहस्यबारेमा पनि शिक्षा क्षेत्रमा सम्बद्ध व्यक्तिहरुले संशय पैदा गरिरहेका छन् । बितेका दुई वर्ष त शैक्षिक क्षेत्र, बिद्यार्थीहरुको पढाई केबल कर्मकाण्डमा सीमित प्रायः छ । विगतबाट पाठ सिकेर कोरोनाकालमा पनि उपर्युक्त पठन पाठनको प्रभावकारी विकल्प तर्फ पनि सोच्नु जरुरी भएको छ ।
विद्यार्थी, बालबालिकाको संवेदनशीलता बोध गरेर सरकारले लिएको कदमलाई स्वभाविक र अपरिहार्यक कदम मान्न सकिन्छ । तर, विना विकल्प सरकारले बिद्यालय बन्द गर्न भनिरहेको छ । यसमा अझ प्रश्न र सशंय पैदा हुने विषय त धेरै भिडभाड हुने चलचित्र हल, सिटी सेन्टर, व्यापारिक स्थलहरुबारे सरकार मौन छ । अर्थमन्त्रालय भनिरहेको छ कि अब लकडाउन गरिए नेपालको अर्थतन्त्र थेग्न नसकिने अवस्थामा पुग्छ । अर्थ अर्थात् राजश्वको मायाले नागरिकको ज्यान जोखिममा पार्ने विषय पनि सोचनीय छ भने अर्को तर्फ सरकारले ओमिक्रोनको विश्वव्यापी अवस्था, छिमेकी भारतमा कोरोनाको फैलिँदो संक्रमण दर, नेपालमा पनि बढ्दो क्रममा रहेको कोरोना यावत अवस्थालाई ध्यानमा राखेर सरकारले निर्णय र कदम चाल्नुपर्छ । तर, विद्यालय मात्र बन्द गर्ने, अरु भिडभाड हुने क्षेत्र खुल्लै राख्ने निर्णय र सोच अव्यवहारिक हुनेछ । यसमा सरकारले समयमै सम्भाव्य विकल्प सहितको निर्णय र स्वास्थ्य सुरक्षा, सचेतता र सहजताको बातावरण बनाओस् ।