सम्पादकीय
पछिल्लो एक सातादेखि बतास ले देश तरंगित छ । खासगरी बतास समूहले राजधानीको नारायणहिटी दरबार संग्रहालय भित्र क्याफे सञ्चालनको विषय सार्वजनिक भएसँगै बतासको चर्चा, परिचर्चा र आलोचना चौतर्फी छ । बतासले नारायणहिटी मात्रै होइन, पशुपतिनाथदेखि गण्डकीका संग्रहालय लगायतका दर्जनौ स्थानमा न्युन भाडा तिरेर लिजमा लिएको रहस्य खुलिसकेको छ । यसमा राज्य सञ्चालक र कर्मचारीसँग सेटिङ मिलाएको कुरा स्वयम् आनन्द बतासको स्वीकारोक्तिबाट प्रष्ट भइसकेको छ । र मिलोमतो, कमिसनको खेल बिना त्यो सम्भव हुँदैन भन्ने कुरा पनि सबैका माझ छर्लङ्ग छ ।
बतास अर्गनाइजेसनले नारायणहिटी दरबार संग्रहालय लगायतमा जे जसरी ठेक्का लिएको छ । बतासको व्यापार योजनामा नियत त लुकेको छ नै, यसमा बतास दोषी छ । अहिले सार्वजनिक आम सञ्चार माध्यमदेखि सामाजिक सञ्जालमा पनि बतासलाई गाली गर्नेहरुको संख्या व्यापक छ । तर, यस प्रकरणमा बतास मात्र दोषी छैन । कुनै व्यापारिक समूहले ब्यापार गर्ने योजना बनाउनु, टेण्डर पार्नु सामान्य र स्वभाविक कुरा हो । यद्यपि, यस्तो व्यापारिक समूहको छिटो नाफा आर्जन गर्ने योजनामा बिभिन्न पहुँच र प्रलोभनमा परेर मुलुकको राष्ट्रिय सम्पदाहरु नै किन निजी समूहलाई दिइएको छ ? यसमा मुख्य गरी कोको सम्लग्न छन् ? यसको पर्दा पछाडि र पर्दा अघि प्रत्यक्ष ककसको भूमिका र नियत देखिन्छ ? अब खोजी यसमा केन्द्रित हुन जरुरी छ । विगतमा यति, ओम्नी प्रकरण जस्तै बतास प्रकरणले नेपाली समाजमा अनेकन प्रश्न र संशय पैदा गरेको छ । अहिलेको बतास प्रकरणमा प्रधानमन्त्री पत्नी आरजु देउबा स्वंयम् मुछिएकी छिन् । उसो त विगतमा पनि प्रधानमन्त्री केपी ओली, उनी निकटका मन्त्रीहरु पनि अनेक प्रकरणमा मुछिएका छन् ।
यसमा नेपाल सरकारका मुख्य निर्णायक भूमिकामा रहेकाहरु सबै दोषी छन् । चाहे त्यो सरकार, सम्बन्धित मन्त्रालय सम्हालेका मन्त्रीदेखि कर्मचारीहरु समेत जिम्मेवार छन् । अहिले सम्म यस्ता प्रकरणहरु माथिल्लो तहका मन्त्री, नेता र शक्तिशाली कर्मचारीहरु नै मुछिए पछि राजनीतिक दल, नेताहरुले नै संरक्षण गर्दा यस्ता बेथिति मौलाउँदो क्रममा छ । सरकार र बिभागिय मन्त्री प्रेम आलेले यसका विषयमा जुन अग्रसरता देखाएका छन्, त्यो सकारात्मक छ । राज्यको सम्पति माथि सीमित स्वार्थ समूहको नाफा र हितका खातिर काम गर्नेहरुलाई जनताको बिचमा कठघरामा उभ्याइनु पर्दछ । जसका कारण भोलिका दिनमा अर्को कुनै व्यक्ति या समूहले राज्यको सम्पदा र सम्पति माथि गिद्धे दृष्टि लगाउने कुचेष्टा कदापि गर्न नसकोस् ।