स्वास्थ्य सुरक्षासँगै परीक्षणमा जोड

सम्पादकीय
पछिल्लो केही साता यता कोरोना भाइरस (कोभिड १९) ले देश फेरि आक्रान्त बन्न थालेको छ । कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनबाट सुरुवातमा अफ्रिकन देशहरुमा भयावहको रुप लियो । अहिले अफ्रिकन देशहरुमा घट्दो छ, अन्य देशहरुमा भने कोरोना क्रमशः बढ्दो देखिएको छ । छिमेकी भारत त ओमिक्रनले आक्रान्त बनिरहेको छ । भारत सहित अरु धेरै देशमा कोरोना संक्रमणले नयाँ नयाँ रेकर्ड बनाइरहेको छ । नेपालमा पनि एकैदिन हजार बढीको संख्यामा कोरोना संक्रमित देखिन थालेका छन् । भलै नेपालमा कोरोना संक्रमणको लक्षण देखिएर पनि परीक्षण नगर्ने संख्या अधिक भएको आँकलन छ ।

राजधानी काठमाडौं सहित देशका बिभिन्न स्थानमा एक हप्ता अघि सम्म कोरोना संक्रमणको दर ५,१० प्रतिशतमा सीमित थियो । अहिले परीक्षण गरिएका अस्पताल र परीक्षण केन्द्रहरुको दैनिक परीक्षणको तथ्यांक विश्लेषण गर्दा संक्रमण दर ५८ दशमलव ७० प्रतिशत सम्म पुगेको स्वास्थ्यकर्मी बताइरहेका छन् । समग्रमा देशभरको संक्रमण दर २३.१ भएपनि सरकारी प्रयोगशालाहरुको तथ्यांक हेर्दा परीक्षण गरिएको ७० प्रतिशतसम्म संक्रमण पुष्टि भएको देखाउँछ । अहिले कोरोना परीक्षण गर्न गराउन जानेमा गम्भीर बिरामी परेकाहरु धेरै छन् । पहिले जस्तो लक्षण देखिन साथ परीक्षण गर्ने गराउने प्रचलनमा कमी आएको छ । कोरोना चेकजाँच गराएमा पुष्टि भइहाल्यो भने स्वयम् व्यक्तिदेखि परिवार, समाज सर्वत्र तनाब हुने, उपेक्षित हुनुपर्ने भयले धेरैले रोग लुकाइरहेका छन् । यसले कतिपय अवस्थामा अप्रिय घटना समेत निम्तिरहेको छ ।

अहिले गरिएको परीक्षण र त्यसको रिपोर्ट हेर्दा कोरोना संक्रमण राजधानी सहित अधिक जिल्लामा व्यापक फैलिरहेको छ । लक्षण भएका मानिस मात्रै परीक्षणको दायरामा आउनुले अब समुदाय स्तरसम्म फैलिने जोखिम अझ बढी देखिएको छ । ओमिक्रोन भेरियन्ट एक संक्रमितले ११ जनाभन्दा बढीलाई सार्न सक्ने अनुसन्धानहरुले देखाएका बेला नेपालमा स्वास्थ्य सुरक्षा सचेतता, पूर्ववत तयारीमा अझै सरकार र सरोकारवाला र नागरिक गम्भीर संवेदनशील देखिएका छैनन् । सरकारले भिडभाड कम गर्न बिद्यालय बन्द गरेर २५ जना भन्दा बढी जम्मा नहुन निर्देशन गरे पनि सरकारी निकायकै उच्च पदस्थ व्यक्तिहरु ठूलो संख्याको जमघट कार्यक्रममा सरिक भएर उदासिनता प्रकट गरिरहेकाछन् । अब सजिलो र सुलभ हिसाबले परीक्षण गराउने, सिमा नाकादेखि भिडभाड र लापरवाहीमा कडाई गर्न जरुरी छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *